कांग्रेसले पार्टी नीतिबारे तल्ला तहलाई बुझाउन प्रशिक्षण थालेको छ । कांग्रेसले पोखरामा प्रदेश र जिल्ला तहमा अभिमुखीकरणमार्फत संगठन र समसामयिक विषयमा नीतिगत स्पष्टताका लागि अभियान थालेको हो । मंगलबारबाट जिल्ला सभापति र प्रशिक्षण विभाग प्रमुखहरूलाई दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र कांग्रेस कास्कीको व्यवस्थापनमा भएको कार्यक्रमको सोमबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । उनले नीतिगत रूपमा पार्टीलाई एक गराएर जान सकेमा हाल ठुलो पार्टी रहेको कांग्रेसलाई बहुमतनजिक पुर्याउन सकिने बताए । देउवालाई आन्तरिक कलहकै चिन्ता थियो । उनले मतभेद बिर्सिएर हिँडे बहुमत ल्याउन सकिने भन्दै नेता कार्यकर्तालाई निर्देशन दिए ।
‘पार्टीमा एकता जरुरी छ, सबैलाई साथ लिएर हिँड्न जरुरी छ । चुनौतीको सामना गर्न पनि एक हुनुपर्छ,’ उनले भने, ‘हाम्रो देशमा सुन्दर राजनीति छ, समानुपातिक र समावेशी छ । यो उत्तम व्यवस्था हो ।’ कांग्रेसले सोमबार सातै प्रदेशका सभापति र प्रदेश प्रशिक्षण विभाग प्रशिक्षण विभागलाई प्रशिक्षण दिएको थियो ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीले गरेका कामलाई जनस्तरमा स्थापित गर्न अभिमुखीकरण र छलफल आवश्यक रहेको बताए । उनलाई पनि आन्तरिक द्वन्द्वकै चिन्ता थियो । उनले यस्ता विषयलाई बिर्सेर जानसके कांग्रेसले परिणाम ल्याउने धारणा राखे । ‘सार्वजनिक स्थानमा पार्टीका एक नेताले अर्को नेतालाई लल्कार्ने काम बन्द गर्नुपर्छ । केही असहमति भए बन्द कोठामा बसौँ, छलफल गरौँ, कुरा राखाँै, मन पखालौँ, विवाद गरौँ, तर बाहिर एकले अर्कोलाई सम्मान गर्ने गरी अगाडि बढ्न आवश्यक छ । जनताले कांग्रेसबाट धेरै आशा र अपेक्षा गरेकाले उनीहरूको भरोसा नटुट्ने गरी काम गर्नुपर्छ,’ उनले भने । खड्काले पार्टीको प्रशिक्षण पुस्तिका निर्माणका लागि तयार गरिएको ‘ड्राफ्ट’ छलफल एवं सुझाव संकलनका लागि सरोकारवाला निकायहरूमा पठाइसकेको बताए । आएका सुझाव संकलनपछि तयार गरिएको ‘ड्राफ्ट’लाई माघ मसान्तभित्र अन्तिम रूप दिने उनको भनाइ थियो ।
डिजिटल संरचनाको प्रस्ताव
प्रतिष्ठान सदस्य डा. कृष्णप्रसाद पौेडेलका अनुुसार अभिमुखीकरण कार्यक्रममा मंगलबार चारवटा कार्यपत्र प्रस्तुत भएका थिए । प्रतिष्ठानका तर्पmबाट मंगलबार पेस गरिएको कार्यपत्रमा ‘डिजिटल टिम’ प्रस्ताव गरिएको छ । प्रतिष्ठानका तर्फबाट सदस्य विश्वदीप लामिछानेले बन्दसत्रमा पेस गरेको ‘संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभाव’ विषयक कार्यपत्रमा केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा डिजिटल संरचनाको प्रस्ताव गरिएको हो । प्रस्तावमा पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगकर्ता उल्लेख्य रहेकाले सामाजिक सञ्जाल कार्यकर्ता र मतदातासँगको सहज पहुँचमा रहन र संगठन निर्माण, नीति प्रवद्र्धन र पार्टीको बचाउका लागि महत्ववपूर्ण रहेको उल्लेख गरिएको छ ।
प्रतिष्ठान सदस्य पौेडेलले प्रस्तुत गरेको ‘कांग्रेस नेतृत्वमा भएका आर्थिक सामाजिक विकास’ नामक कार्यपत्रमा राजनीतिमा त्याग र निष्ठा कम भएको भन्दै कांग्रेसले यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गरिएको छ । प्रतिष्ठान निर्देशक डा. जगदीशचन्द्र पोखरेलले ‘लोकतान्त्रिक समाजवाद–नेपाली कांग्रेसको आर्थिक नीति र अभ्यास’ र कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले ‘संघीयता कार्यान्वयनको अवस्था र कांग्रेसको दायित्व’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रपछि महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक विषयमा र महामन्त्री गगन थापाले सांगठनिक विषयमा प्रशिक्षण दिएका थिए । पौडेलका अनुसार बुधबार सात समूहमा विभाजन गरी तीन घण्टा छलफल गर्ने र कार्यक्रम समापन गरिनेछ । ‘मंगलबार कार्यपत्र र महामन्त्रीद्वयले प्रशिक्षण दिनुभयो । बुधबार समूहगत छलफलबाट निष्कर्षमा पुग्नेछौँ,’ उनले भने ।
देउवाले भने– ओलीलाई अविश्वास गर्नुपर्ने कारण छैन
कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुरा नरहेको बताएका छन् । अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी भए पनि ओलीप्रति अविश्वास गर्नुपर्ने कारण नरहेको बताएका हुन् ।
विद्यार्थीकालदेखि लडेको र जेल बस्दाको समय स्मरण गर्दै देउवाले ओलीलाई अविश्वास गर्नुपर्ने कारण नरहेको जिकिर गरे । ‘ओलीजी र हामी सँगै जेलमा बसेको साथी हौँ । त्यो समय धेरै दुःख र कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो,’ उनले भने, ‘उहाँलाई त झापाकाण्डको कारण देखाएर जेलभित्रको पनि जेल गोलघरमा राखियो ।’
देउवाले एमाले र कांग्रेसबिच लामो सहकार्य हुन सके देशमा राजनीतिक स्थिरता स्थापित हुन सक्ने दाबीसमेत गरे । ‘एमाले र कांग्रेसबिच धेरै वर्षसम्म सहकार्य हुन सके राजनीतिक स्थिरता स्थापित हुन सक्छ, राजनीतिक स्थिरता नभएमा देश अगाडि बढ्ने नभई कति दिन चल्ने हो सरकार, कति दिन टिक्ने हो सरकार, कहिले ढल्ने हो सरकार भन्ने अवस्था रहने भएकाले कुनै पनि सरकारले काम गर्न सक्दैन, सरकारको आयु नै निश्चित हुँदैन,’ उनले थपे, ‘अहिले दुईवटा पार्टी मिलेर सरकार बनेको छ, यसको स्थायित्व स्पष्ट छ ।’
कांग्रेस र एमाले लोकतन्त्र र स्थिरताका लागि सँगै लडेका पार्टी भएकाले विश्वासका साथ चल्नुपर्नेमा देउवाको जोड थियो ।
सहभागी भएनन् शेखर
केन्द्रदेखि जिल्लासम्मका पदाधिकारीदेखि केन्द्रीय नेताहरू पोखराकेन्द्रित हुँदा इतरसमूहका नेता डा. शेखर कोइराला भने सहभागी भएनन् । पार्टीले जानकारी नगराएकाले कोइराला सहभागी हुन नसकेको उनको सचिवालयले दाबी गरेको छ । कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले कार्यक्रममा सहभागिताका लागि समयमा कुनै जानकारी नआएकाले कोइराला पोखराको कार्यक्रममा सहभागी नभएको बताए । ‘सोमबार बिहान १० बजेआसपास मात्रै मुख्यसचिवबाट खबर आयो,’ उनले भने, ‘जबकि त्यतिवेला पोखरामा प्रदेश सभापतिहरूका लागि अभिमुखीकरण कार्यक्रम थियो । त्यो त कार्यक्रममा सहभागिताका लागि जानकारी नआएकोसरह हो । त्यसैले जान सम्भव भएन ।’
तल्लो तहसम्म पुर्याइयो क्रियाशील सदस्यता फाराम
कांग्रेस महाधिवेशनको पहिलो सर्त मानिएको क्रियाशील सदस्यता नवीकरणका लागि पहिलो चरणमा सदस्यता फाराम तल्लो तहसम्म पुगेका छन् । महामन्त्री गगन थापा संयोजकत्वको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले कार्यतालिकाअनुसारको समयावधि १५ माघभित्र नवीकरण फाराम र क्रियाशील सदस्यको विवरण तल्लो पुर्याइएको जनाएको छ ।
समिति सदस्य योगेन्द्र चौधरीका अनुसार १५ माघभित्र नवीकरण फाराम र क्रियाशील सदस्यको विवरण तल्लो तहसम्म पुर्याउने र २९ चैतभित्र नवीकरणको टुंगो लगाउने समयसीमाअनुसार काम अगाडि बढेको हो । उनले फाराम नपुगेको विषयमा कुनै गुनासो केन्द्रमा नआएको बताए ।
कार्यतालिकामा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्लालाई १२ माघभित्र, एक मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लाले १३ माघभित्र, पालिकालाई क्रियाशील सदस्यहरूको नामावली १४ माघसम्म अनिवार्य बुझाइसक्नुपर्ने र पालिकाले १५ माघसम्ममा क्रियाशील सदस्यता नवीकरण फाराम र क्रियाशील सदस्यको नामावलीको विवरण पठाइसक्नुपर्ने समयावधि निर्धारण गरिएको थियो । यसपछि नवीकरणको अन्तिम टुंगोको प्रक्रिया सुरु हुनेछ । जसअनुसार १ फागुनभित्र वडाले क्रियाशील सदस्यता नवीकरण सकेर पालिका कार्यसमितिमा विवरण र नवीकरण शुल्क बुझाइसक्नुपर्नेछ ।