संसदीय मामिला हेर्ने पत्रकारहरूसँग लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङसम्बन्धी तीन दिने अन्तरक्रियात्मक कार्यशाला सम्पन्न भएको छ।
महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) द्वारा काठमाडौंमा आयोजित कार्यशालामा वरिष्ठ पत्रकार शिव गाउँलेले प्रशिक्षण दिएका थिए । कार्यशालामा संसदीय मामिलाको इतिहासदेखि अहिलेसम्मको अवस्था, संसदीय जोडिएका समाचारको खोजी, हार्ड न्यूज, सफ्ट न्यूज, खोजी पत्रकारिता, लैङ्गिक संवेदनशीलता र संसदीय रिपोर्टिङका बारे विभिन्न सत्रमा छलफल भएको थियो ।
कार्यशालाको अन्तिम दिन संघीय संसदका सांसदहरूसँग पत्रकारहरुको अन्तरक्रिया भएको थियो । सो अवसरमा सांसदहरुले पत्रकारले संसदको समाचार बनाउँदा महिला सांसदभन्दा पुरुषलाई बढी प्राथमिकता दिने गरेको गुनासो गरेका थिए । संसदमा पत्रकारले प्रतिनिधि सभालाई बढी महत्व दिने गरेको तर राष्ट्रिय सभामा बोल्ने समयमा कोहि नहुने र समाचार पनि कम कभरेज हुने भएकोले ध्यान दिन महिला सांसदहरुले आग्रह गरेका थिए ।
सार्वजनिक महत्वका महत्वपूर्ण विषय आफूहरुले संसदका दुवै सदनमा उठाउँदा पनि मिडिया कभरेजमा विभेद हुने भएकोले यसमा सुधार ल्याउन सांसदहरुले आग्रह गरेका थिए । पत्रकारहरुले पनि समाचार बनाउँदा महिला सांसदहरू सहजै बोल्न उपलब्ध नहुने र भइहाले पनि विषयवस्तुमाथि गहन रुपमा नबोलिदिने हुँदा समाचारमा समेट्न समस्या हुने गरेको बताएका थिए ।
कार्यशालामा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले लैङ्गिक सवाल महिलाको मात्र नभई सबैको साझा मुद्दा हो भन्नेतर्फ सजग रहनुपर्ने बताइन् । उनले संसदीय रिपोर्टिङमा पहिले र अहिले धेरै परिवर्तन आएको र बढी सहज भएको बताइन् ।