निजगढ नगर उद्योग वाणिज्य संघले ११ देखि २२ माघसम्म निजगढ नगरपालिकामा कृषि-पर्यटन तथा औद्योगिक व्यापार महोत्सव आयोजना गर्ने भएको छ । उद्योग, कृषि र पर्यटन प्रवर्द्धनका लागि संघले महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्वस निजगढ नगरपालिका–८ स्थित खयरघारी चौरमा आयोजना गरिने संघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । शनिबार संघको सभाहलमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरेको बताए ।
महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ । महोत्सवलाई निजगढ नगरपालिकाको समेत साथ सहयोग रहेको र नगरपालिका महोत्सवको संरक्षकको रुपमा रहेको जानकारी दिए ।
महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धनका साथै निजगढ नगरपालिकामा रहेका विभिन्न मठमन्दिर र पर्यटन क्षेत्रको प्रचारप्रसारलाई समेत जोड दिने आयोजकको भनाइ छ । यस्तै नगरभित्र रहेका सीमान्तकृत चेपाङ जातिको परम्परागत बसोबास क्षेत्र र आदिवासी जनजाति कछडिया समुदाय जस्ता ऐतिहासिक बस्तीको सहभागीताले समेत महोत्सवलाई आकर्षण बनाउनेछ ।
आयोजकले महोत्सवमा प्रत्येक दिन झाँकी लाखे नाच (नेवार), कौडा÷कौह्रा (मगर), लाठी नाच (थारू) तथा अन्य नगरभित्र रहेका विभिन्न जात जातिका संस्कृतिको प्रदर्शनी गरिने जानकारी दिएको छ ।
आयोजकका अनुसार महोत्सवमा एक सय ५० वटा स्टल रहनेछ ।