मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
डा. चन्द्रमान श्रेष्ठ
२o८१ पौष ७ आइतबार २१:२१:oo
Read Time : > 5 मिनेट
साहित्य डिजिटल संस्करण

९६ गड्डी: भ्रष्ट प्रशासन संयन्त्रमाथि निर्मम प्रहार

Read Time : > 5 मिनेट
डा. चन्द्रमान श्रेष्ठ
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार २१:२१:oo

देशले विकासको उचाइ लिन नसक्नुमा अन्य विविध पक्षसँगै  कर्मचारीतन्त्रको अकर्मण्यता पनि मुख्य पक्ष रहेको छ । देशको स्थायी सरकारका रूपमा मानिने कर्मचारीसंयन्त्र निकम्मा र भ्रष्टचारको आहालमा चुर्लुम्म डुबेको छ भन्ने आम विश्वास रहेको छ । राष्ट्रको यस्तो समस्यालाई विभिन्न साहित्यकारहरूले आफ्ना रचनाहरूमा नउठाएका हैनन् । तर कर्मचारीतन्त्रभित्रको भ्रष्ट चरित्रलाई नै केन्द्रीय कथ्य बनाएर लेखिएका केही सीमित कृतिहरूमध्ये एक हो ‘९६ गड्डी’ । उपन्यासकार प्रकाश तिवारीको चौथो औपन्यासिक कृतिका रूपमा भर्खरै बजारमा आएको ‘९६ गड्डी’मा नेपाली कर्मचारीतन्त्रको भ्रष्टताको उच्चतम रूपलाई औपन्यासिक कलेवरमा प्रस्तुत गरिएको छ । 

२०३९ सालदेखि साहित्यसाधनामा सक्रिय प्रकाश तिवारीले कविता, कथा, निबन्ध, नाटक, समालोचना र उपन्यास विधामा कलम चलाएका छन् । यसअघि नै ‘परित्यक्त’, ‘निलोफर’ र ‘निहारिका’ गरी तीन उपन्यास प्रकाशित गरेर एक सफल आलोचनात्मक यथार्थवादी उपन्यासकारका रूपमा स्थापित भइसकेका तिवारी निजामती सेवामा लामो समय काम गरेर अवकाशको जीवन बिताइरहेका छन् । निजामती सेवामा लामो समय काम गरेकाले लेखक कर्मचारीतन्त्रभित्रका विकृति र विसङ्गतिहरूप्रति बढी नै परिचित रहेका छन् । आफ्नो यही अनुभव र अनुभूतिलाई उपन्यासकार तिवारीले ‘९६ गड्डी’भित्र सूक्ष्म रूपमा चित्रण गरेका छन् । सदाचार, नैतिकता र आदर्शबाट विमुख हुँदै गएको नेपाली कर्मचारीतन्त्र र राजनीतिभित्रको दुर्गन्धित यथार्थलाई उपन्यासमा देखाइएको छ । 

प्रजातन्त्रको पुनःस्थापनापछि विकसित नेपाली राज्यका प्रशासनिक तथा राजनीतिक क्षेत्रमा व्याप्त भ्रष्टाचारलाई मूल विषय बनाइएको ‘९६ गड्डी’ उपन्यासमा ‘देश सिस्टममा नभई सेटिङमा चलेको’ कटु यथार्थलाई प्रस्तुत गरिएको छ । उपन्यास २०४६ सालको ऐतिहासिक जनआन्दोलनको आसपासबाट सुरु हुन्छ । उपन्यासका पात्र विज्ञान, राजीव र कुमुदा त्यति खेरका जुझारु विद्यार्थी हुन्छन् । विज्ञान र कुमुदा वामपन्थी पृष्ठभूमिका हुन्छन् भने राजीव प्रजातान्त्रिक धारको प्रतिनिधित्व गर्दछ । जनआन्दोलनका क्रममा कुमुदाको मृत्यु हुन्छ भने उसका आदर्शलाई शिरोपर गरी राष्ट्रको सेवा गर्न निजामती सेवामा प्रवेश गरेका विज्ञान र राजीव समयक्रमसँगै भ्रष्टताको उचाइ नाप्दै जान्छन् । अन्त्यमा ९६ लाख घुससँगै पक्राउ परेपछि विज्ञानले आफ्नो भ्रष्ट कर्मप्रति प्रायश्चित्त गर्दै उपन्यासको अन्त्य भएको छ । 

एउटा सदाचार, नैतिक र आदर्शवान् व्यक्ति कसरी भ्रष्टचारको महागर्तमा होमिन पुग्छ भन्ने कुराको चित्रण उपन्यासमा सफल रूपमा गरिएको छ । व्यक्ति जन्मदै भ्रष्ट हुँदैन । परिवार र साथीसङ्गतको उत्प्रेरणा तथा भ्रष्ट परिवेशका कारण एउटा सदाचार र इमानदार मानिस पनि भ्रष्ट बन्न पुग्छ । प्रशासनसंयन्त्रभित्र निष्ठावान् व्यक्तिहरू पाउन मुस्किल पर्छ । नैतिक र आदर्शवान् कर्मचारीलाई प्रशासन संयन्त्रमा उपेक्षित र तिरष्कृत गरिन्छ । विज्ञान कार्यालयमा सहकर्मीहरूको उपेक्षा र तिरष्कारका कारण डिप्रेसनकै अवस्थामा पुग्दछ भने स्वाभिमानी र इमानदार पात्र एसएसपी आलोक दुर्गम क्षेत्रमा हुत्याइन्छ । जताततै भ्रष्टहरूको बगिबिगी रहेको समाजमा एक्लो महसुस गर्दै विज्ञान सामाजिक परिवेशमा अनुकूलन हुन पनि क्रमशः भ्रष्ट बन्दै जान्छ । नेपाली कर्मचारीतन्त्रभित्रको यही यथार्थलाई ‘९६ गड्डी’ उपन्यासमा चित्रण गरिएको छ ।

प्रारम्भमा विज्ञान कुमुदाको आदर्शलाई हृदयङ्गम गर्दै इमानदार र निष्ठावान् कर्मचारी बन्ने प्रयास गर्छ । तर इमानदार कर्मचारी बनेकै कारण भोग्नुपरेका अनेक समस्या र आफ्नै श्रीमती सामना, साथी राजीव तथा कार्यालयका तल्लादेखि माथिल्ला तहसम्मका कर्मचारीहरूबाट भ्रष्टताको दलदलमा धकेलिँदै गएपछि विज्ञान महाभ्रष्ट कर्मचारीमा परिणत हुन्छ र ९६ लाख रुपैयाँ घुससहित पक्राउ पर्छ ।

कर्मचारीतन्त्रभित्रको भ्रष्ट चरित्रका साथै ठमेलका रात्रिक्लबभित्र मौलाएको आपराधिक क्रियाकलापलाई समेत उपन्यासमा रोमाञ्चक र विश्वसनीय रूपमा प्रस्तुत गरिएको छ । त्यहाँ चमनलालजस्ता आपराधिक गिरोहका नाइकेहरू पनि आउँछन् भने मन्त्रीलगायतका उच्चपदस्थ राजनीतिज्ञ तथा कर्मचारीहरू पनि आएर आफ्नो विकृत चेहरालाई उदाङ्गो पार्छन् । आपराधिक गिरोहका नाइकेहरू राजनीतिक नेतृत्वबाटै संरक्षणप्राप्त रहेको नेपाली समाजको वास्तविकतालाई उपन्यासमा उदाङ्गो बनाइएको छ । सरकारको नेतृत्व गर्ने मारफेल नामक पात्र भ्रष्ट र अपराधीहरूको संरक्षकका रूपमा रहेको छ । ठूलाठूला आपराधिक घटना तथा भ्रष्टाचारका काण्डहरू मिलेमतोका आधारमा सामसुम पाएिका छन् । भ्रष्ट र आपराधिक मनोवृत्तिका पात्रहरू नै समाजमा वर्चस्वशाली रहेको र सदाचारी नायकहरू निरीह बनेका छन् । परिस्थिति नै यस्तो छ कि तिनलाई जित्न मुस्किल छ । उपन्यासको नायक विज्ञान कुमुदाको आदर्शलाई हृदयङ्गम गरेर राष्ट्रसेवामा समर्पित हुन खोज्दाखोज्दै पनि परिस्थितिका अगाडि लाचार बन्न पुग्छ र क्रमशः स्खलित बन्दै जान्छ । असल प्रवृत्ति कमजोर बन्दै गएको तत्कालीन समयलाई प्रतिबिम्बित गराइएको हो यो । उपन्यास तत्कालीन नेपाली समाजको त्रासदी हो ।

व्यक्ति, समाज र सिंगो राज्यको नेतृत्व गर्ने राजनीति नै स्खलित हुँदै गएको चिन्तालाई उपन्यासमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ । नेपाली राजनीति र कर्मचारीतन्त्रको यथार्थलाई आलोचनात्मक रूपमा प्रस्तुत गरेको यस उपन्यासको अन्त्य भने आदर्शमा पुगेर भएको छ । भ्रष्ट र असत् चरित्रको पतन तथा ९६ लाख रुपैयाँ घुससहित पक्राउ परेको उपन्यासको नायक विज्ञानले आत्मालोचनासहित प्रायश्चित्त गरेको देखाएर उपन्यासले आदर्शको धुरी चढेको छ ।

उपन्यासले नेपाली समाजको गम्भीर विषयलाई उठान गरेको छ । समाजका हरेक क्षेत्रमा व्याप्त भ्रष्टाचार, राजनीतिक बेथिति, आपराधिक क्रियाकलापलाई गहनतलमा पुगेर चित्रण गरिएको छ । उपन्यास पढिसक्दा पाठकको मनमा हाम्रो प्रशासन संयन्त्रप्रति चरम अविश्वास मात्र होइन घृणा र आक्रोश नै पैदा हुन्छ । कर्मचारीतन्त्रमा भएको विकृतिप्रति पाठकको हृदयमा यस्तो भाव उत्पन्न गर्न सक्नु उपन्यासकारको सफलता मान्नुपर्छ । तर एउटा प्रश्न भने अवश्य उठ्छ, के यो नै नेपाली कर्मचारीतन्त्रको पूर्ण सत्य हो त ? के त्यसभित्र सदाचार, नैतिकता र इमानदारीको पक्ष नै छैन ? उपन्यासमा देखाइएको तथ्य नेपाली कर्मचारीतन्त्रको पूर्ण सत्य होइन, त्यसभित्र अर्को पक्ष पनि छ जो सदाचार, नैतिकता र इमानदारीलाई आदर्श बनाएर राष्ट्रसेवामा समर्पित छ । त्यो पक्षलाई पूर्णतः बेवास्ता गर्नु उपन्यासको कमजोरी हो । समाज र समयको पूर्ण र वास्तविक चित्र प्रस्तुत गर्न लेखकले आफ्नो इमानदारी देखाउन सक्नुपर्छ । यस दृष्टिले हेर्दा ‘९६ गड्डी’ उपन्यास नेपाली कर्मचारीतन्त्रको सग्लो चित्र प्रस्तुत गर्न असफल रहेको छ । उपन्यास केवल कर्मचारीतन्त्रभित्रको विकृत पक्षको उद्घाटन गर्नमै केन्द्रित रहेको छ, त्यसभित्रको सुसंस्कृतिप्रति पूर्णतः मौन रहेको छ । 

उपन्यासकी नायिका सामनाको चरित्र पनि सम्झन लायक छ । सामना दृढ, साहसी र लडाकु चरित्रकी मात्र नभएर चतुर पात्रका रूपमा देखिएकी छे । तीन–तीन पटक चितुवास“ग कुस्ती खेलेर पराजित गरेकी सामना आफ्नो लोग्ने विज्ञानलाई फसाउन खोज्नेहरूका विरुद्ध पनि दृढताका साथ उभिएकी छे । सुशीलाको हत्याराको खोजी गरी न्याय दिलाउनका लागि वर्षौंसम्म ठमेलका रात्रिक्लबहरूमा काम गर्ने सामनाको चरित्र दृढ, साहसी र लडाकु स्वभावको देखिन्छ । चरित्र निर्माणका दृष्टिले सामना पारिजातको ‘अनिदो पहाडसँगै’ उपन्यासकी पात्र सुवानीको झल्को दिलाउने खालको रहेको छ । यति हुँदाहुँदै पनि उपन्यासमा सामनाको चरित्र विवादास्पद देखिन्छ । आफ्नो लोग्नेविरुद्ध भएका षड्यन्त्रहरूको पर्दाफास गर्न तथा सुशीलाको हत्यारा पत्ता लगाएर उसलाई न्याय दिलाउन दृढताका साथ लडेकी सामना आफ्नो लोग्ने विज्ञानलाई भ्रष्टाचारी बनाउने कार्यमा भने हरक्षण उद्यत रहेकी छे । सामनाकै कारण विज्ञानमा भ्रष्ट चरित्रको विकास हुँदै जान्छ । सामनामा यी दुवै चरित्र आरूढ गर्नु त्यति औचित्यपूर्ण देखिँदैन । भ्रष्टाचारका विरुद्ध पनि उत्तिकै दृढताका साथ उभिएकी भए सामना नेपाली उपन्यास साहित्यकै सम्झनयोग्य पात्र बन्न सक्ने थिई । यस कार्यमा पनि लेखक चुकेको देखिन्छ । 

उपन्यासले २०४५–४६ आसपासदेखि वर्तमानसम्मको समयलाई समेटेको छ । यही अवधि हो नेपाली राजनीतिमा विकृतिका अनेकौँ परिदृश्यहरू देखिएको, नाङ्गो राजनीतिक हस्तक्षेप र संरक्षणका कारण कर्मचारीतन्त्र भ्रष्ट र निकम्मा बन्दै गएको । यसै बीचमा २०५२ सालबाट सामाजिक तथा राजनीतिक विभेद र विकृतिका विरुद्ध विद्रोहको उद्घोष गर्दै नेकपा माओवादीले जनयुद्धको सुरुवात गरेको थियो । यसले समाजका हरेक क्षेत्रमा नयाँ तरङ्ग ल्याएको थियो । जनयुद्धको उत्तरार्द्धसम्म आइपुग्दा समाजका भ्रष्ट र आपराधिक मनोवृत्तिका मान्छेहरूको मनमा भय र सन्त्रास उत्पन्न भएको थियो । भ्रष्ट र अपराधमा संलग्न मानिसहरूमाथि जनकारबाहीको अभियान नै चलाइएको थियो । नेपाली समाजको यस ऐतिहासिक सत्यप्रति पनि उपन्यास मौन रहेको छ । 

पैरवी बुक हाउस प्रा.लि. द्वारा २०८१ साल असोज महिनामा प्रकाशित ‘९६ गड्डी’ उपन्यास ५५ खण्डमा संरचित छ । उपन्यासको प्रस्तुति ढाँचा सरल र रैखिक रहेको छ । कथावस्तुलाई सिलसिलाबद्ध रूपमा प्रस्तुत गरिएको छ । कतिपय ठाउँमा कथानकको विकास स्वाभाविक रूपमा नभएर नाटकीय ढङ्गमा भएको छ । उपन्यासको आरम्भ र मध्य खण्डको तुलनामा उपसंहार खण्ड निकै नाटकीय बनेको छ । घटनाक्रमलाई अघि बढाउन उपन्यासकार निकै हतारिएको प्रतीत हुन्छ । यसले कथानकको विश्वसनीयतामा कमी ल्याएको छ । उपन्यासले जति गम्भीर विषयलाई उठाएको छ त्यति कलात्मक उचाइ भने प्राप्त गर्न सकेको छैन । कतिपय ठाउँमा भाषिक त्रुटिहरू पनि भेटिन्छन् । उपन्यासमा समाख्याताले प्रयोग गरेको भाषा र पात्रहरूले प्रयोग गरेको भाषामा खासै अन्तर पाइन्न । उपन्यास विधामा स्थापित बनिसकेका प्रकाश तिवारीले यस्ता कमजोरीमा ध्यान पुर्याउन सकेको भए ‘९६ गड्डी’ उपन्यास अझ उत्कृष्ट बन्ने थियो । यस्ता केही कमजोरीहरू भए पनि ‘९६ गड्डी’ उपन्यासले नेपाली उपन्यास जगत्मा नवीन कथ्यलाई स्थापित गरेको छ, जुन आँट र साहसका लागि उपन्यासकार प्रकाश तिवारीलाई धन्यवाद भन्नैपर्छ ।