नेपाल पत्रकार महासंघ बाराले ‘वीरेन्द्र साह र विनोद प्याकुरेल पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।
महासंघ बारा शाखामा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रमपछि कार्यसमितिको शनिबार कलैयामा सम्पन्न पहिलो बैठकले बाराका पत्रकारहरूको स्मृतिमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको शाखाका सहसचिव इन्दीप कोइरालाले जानकारी दिए।
महासंघका संस्थापक अध्यक्ष प्याकुरेलको सडक दुर्घटनामा र साहको सशस्त्र द्वन्दको क्रममा हत्या भएको थियो।
यस्तै, बारा क्षेत्र नम्बर ४ का सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले घोषण गरेको उनका स्वर्गीय बुबा केवलबहादुर श्रेष्ठको स्मृतिमा नेपाल पत्रकार महासंघ बारा शाखालाई दिने भनिएको एक लाख रुपैयाँको अक्षय कोषलाई स्वीकार गर्ने तथा उक्त कोषबाट प्रत्येक वर्ष एकजना सञ्चारकर्मीलाई पत्रकारिता पुरस्कार प्रदान गरिने निर्णयसमेत गरेको सहसचिव कोइरालाले जानकारी दिए।
कार्यसमितिको बैठकले जनकपुरस्थित मधेश प्रदेश सरकारको आमसञ्चार प्राधिकरणकाले जारी गरेको सञ्चारकर्मीका लागि एक लाखको स्वास्थ्य विमा तथा सात लाखसम्मको दुर्घटना बिमा गर्न इच्छुक बाराका पत्रकारहरूलाई यही पुस १२ गतेभित्र आवश्यक कागजहरू लिएर महासंघ बारा शाखाको कार्यालयमा निवेदन दर्ता गराउन अनुरोध गरेको छ।
यसैबिच प्रमुख निर्वाचन अधिकृत निवेश तिमल्सिनाले बारा शाखामा नवनिर्वाचित अध्यक्ष रमेश सुवेदीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। त्यसपछि अध्यक्ष सुवेदीले कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरूलाई शपथ गराएका थिए।
निर्वाचन समितिले गत मंसिर २८ गते भएको मतदानबाट निर्वाचित कार्यसमितिका पदाधिकारी, केन्द्रीय परिषद् र प्रदेश परिषद् सदस्यहरूलाई शनिबार नै पदको प्रमाणपत्र पनि वितरण गरेको छ।