बाराको जितपुरसिमरा उपमहानगरपालिका–११ अमाडरमा एक प्रहरी कर्मचारीको हत्या भएको छ। सिमरा विमानस्थलको विमान सुरक्षा दलमा कार्यरत जितपुरसिमरा उपमहानगरपालिका–१, सेन्डिगेटका राजकुमार रुम्बाको शनिबार बिहान जितपुरसिमरा उपमहानगरपालिका–११, अमाडरस्थित पुलछेउमा एक कारमा शव फेला परेको हो।
प्रहरीका अनुसार रुम्बा विमानस्थलको विमान सुरक्षा दलको कार्यालय सहयोगी हुन्। कारको ड्राइभिङ सिटमा रहेका रुम्बाको टाउकोको पछाडि भागमा गहिरो चोट देखिएको छ। घटनास्थलबाट कुनै हतियार भने भेटिएको छैन। ‘प्रहरी घटनास्थलमा पुग्दा प्रहरी कर्मचारीकै शव फेला परेको हो,’ बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले भने, ‘शव परीक्षण हुन बाँकी छ, हत्या भएको हुन सक्ने प्रारभिक अनुसन्धानबाट देखिन्छ। हामी अनुसन्धान गर्दै छौँ।’ अमाडारका स्थानीयले बिहान करिब ७ बजे उक्त गाडीभित्र शव रहेको भनेर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले सूचना प्राप्त गरेलगतै घटनास्थलमा पुगेको थियो।
बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कार सडकको छेउमा रोकिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त कार राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारीकाे हो।
मृतकको चोट हेर्दा गोली प्रहार वा धारिले हतियार प्रयोग गरिएको अनुमान प्रहरीको छ। बारा प्रहरीले घटनास्थलमा रगत केही मात्र भेटेका कारण घटना अन्य स्थलमा गराई मृत्युपश्चात् कारमा राखेर ल्याएको हुन सक्ने अनुमान छ।
हालसम्म हत्याको कारण खुल्न सकेको छैन भने मृतकको शवसमेत परीक्षण हुन सकेको छैन। शनिबार दिनभर स्थानीय तथा मृतकका परीवारको विरोधका कारण शव परीक्षणमा पठाउन नसकिएको प्रहरीको भनाइ छ।