१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २४ शनिबार
  • Tuesday, 12 November, 2024
बंगलादेशमा भएको छैटौँ दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्दै राजेश मानन्धर (जर्सी नम्बर ५)
रमेश सुवेदी काठमाडाैं
२o८१ कार्तिक २४ शनिबार o८:४५:oo
Read Time : > 4 मिनेट
खेलकुद प्रिन्ट संस्करण

घरेलु फुटबलका चर्चित डिफेन्डर ‘दानव’

Read Time : > 4 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २४ शनिबार o८:४५:oo

सन् १९९३ मा बंगलादेशमा भएको छैटौँ दक्षिण एसियाली खेलकुद (साफ)मा नेपालले फुटबलबाट एक मात्र स्वर्ण जितेको थियो । बंगबन्धु रंगशालामा भारतलाई टाइब्रेकरमा स्तब्ध पार्दै नेपालले स्वर्ण जित्दाका प्रमुख डिफेन्डर थिए राजेश मानन्धर । त्यसवेला राष्ट्रिय खेलाडी वाइबी घलेले पहिलोपटक जिस्किँदै मानन्धरलाई ‘दानव’ भनेर बोलाएका थिए । अहिले पनि घरेलु फुटबलमा उनलाई ‘दानव’ भन्ने गर्छन् । ६.१ फिट अग्ला मानन्धरको जिउडाल र लामो कपाल देखेर विपक्षी खेलाडी बल खोस्न डराउँथे । उनले यसको फाइदा साफ खेलमा उठाए । दुई साताको प्रशिक्षण गरी बंगलादेश पुगेको नेपालले स्वर्ण जित्दासम्म उनले डिफेन्समा जबर्जस्त भूमिका निर्वाह गरे । आफू कसरी ‘दानव’ नामबाट परिचित भएँ र साफमा प्राप्त स्वर्ण जित्दाको अनुभव मानन्धरले नयाँ पत्रिकाका रमेश सुवेदीलाई यसरी सुनाए : 

वसन्तपुर दरबार स्क्वायरपरिसरभित्र मेरो पुख्र्याैली वासस्थान छ । हामी ६ दिदी र तीन दाजुभाइ छौँ । परिवारमा मैले मात्र खेलाडीका रूपमा करिअर बनाएँ । विश्वनिकेतनबाट एसएलसी पास गरेपछि मेरो ध्यान फुटबलतिर केन्द्रित भयो । फुटबलका कारण पढाइलाई निरन्तरता दिन सकिनँ । हामीले फुटबल खेल्ने समयमा नियमित नर ट्रफी हुन्थ्यो । त्यसै वर्ष बुबा रामबहादुर बित्नुभयो । एक वर्षसम्म केही पनि गरिनँ । नर ट्रफीमा बागमतीबाट खेल्ने योजना थियो । तर, बुबा स्वर्गवास हुनुभएकाले खेल्न पाइनँ । बागमतीले मेरो स्थानमा महेन्द्र शाक्यलाई खेलाएको थियो । प्याफलमा रहेको काठमाडौं क्लबबाट मैले एकैपटक ‘ए’ डिभिजन खेल्ने अवसर पाएँ ।

हाम्रो समयमा अञ्चलको प्रतिनिधित्व गरी प्रतियोगितामा सहभागी हुने प्रथा थियो । मैले बागमतीबाट दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएँ । मैदानभित्र मेरो खेल कौशलका कारण मैले पोखरा, काठमाडौंलगायत सहरमा आयोजना हुने चर्चित फुटबल प्रतियोगितामा नियमित भाग लिने अवसर पाएँ । त्यस समय घरेलु फुटबलमा नाम चलेका क्लबहरू रानीपोखरी कर्नर (आरसिटी), मनाङ मर्स्याङ्दी, थ्री स्टार र आरएनएसीबाट खेलेँ । आरएनएसीबाट एक दशक खेलेको जस्तो लाग्छ । आरएनएसीबाट मैले खेल्दा गणेश दाइ कप्तान थिए । रमाइलो पक्ष के छ भने आरएनएसीमा सधैँ कप्तान परिवर्तन गरिरहन्थे । आरएनएसीले सबैलाई पालो दिने हिसाबले कप्तान बनाइरहन्थ्यो । क्लबमा मेरो पोसेसन डिफेन्स थियो । राम्रो हाइट र हृष्टपुष्ट शरीर भएकाले मेरो अगाडि विपक्षीका स्ट्राइकर आउन डराउँथे । डिफेन्समा म जब्बर थिएँ । 

घले दाइले राख्नुभयो ‘दानव’ नाम 
नेपाली फुटबलमा पहिलो अन्तर्राष्ट्रिय गोल गर्नुभएका वाइबी घले ‘दाइ’ सँगसँगै खेल्ने अवसर पाएँ । उहाँले मेरो प्रशिक्षण र खेल्ने शैलीलाई नजिकबाट नियाल्नुभएको थियो । मज्जा के थियो भने उहाँ अक्सर मेरो शरीरको बनावट र बढ्दै गइरहेको कपालप्रति चासो राख्नुहुन्थ्यो । घले दाइले यस किसिमले नियालिरहेको मलाई भने पटक्कै थाहा थिएन । हाइटअनुसार मेरो शरीर पनि आकर्षक थियो । हेर्दै खाइलाग्दो ज्यान थियो । त्यसमाथि बिस्तारै बढिरहेको कपाल झ्याप्पै भइसकेको थियो । 

यस किसिमको जिउ केवल राक्षसको मात्र हुन्छ । ज्यानको बनावट देखेरै वाइबी घले दाइले मलाई ‘दानव’ भन्नुभयो । सुरुमा यो शब्द सुन्दा म र साथीहरू पनि अल्मलियौँ । धेरै पछि मात्र थाहा भयो, उहाँले ‘दानव’ भनेर मलाई भन्नुभएको रहेछ । बिस्तारै साथीहरूले पनि मलाई ‘ए दानव’ भनी बोलाउन थाले । उनीहरूले मेरो ‘निकनेम’ राख्दा कहिल्यै रिसाइनँ ।

सधैँ सकारात्मक रूपमै लिएँ । हुन सक्छ, घले दाइ र साथीहरूले मलाई माया गरी यो नाम राख्नुभएको होला ? त्यस समयमा म राजेश मानन्धर ‘दानव’ नाममा प्रख्यात भएँ । अहिले पनि मेरा समकक्षी साथीले ‘दानव’ नै भनी बोलाउने गर्छन् । ‘दानव’को पर्यायवाची शब्द हेरौँ भने यसले राक्षस अर्थ जनाउँछ । हामीले सुनेअनुसार राक्षस बलिया न बलिया हुन्छन् । उनीहरू कसैसँग डराउँदैनन् । शक्तिका साथ विपक्षीलाई हराउन सधैँ कोसिस गरिरहेका हुन्छन् । मैदानमा मेरो बानी पनि यस्तै थियो । रक्षापंक्तिमा मेरो उपस्थिति जबर्जस्त रहने गर्थ्यो । जति नाम चलेका विपक्षी खेलाडी भए पनि बल खोस्न म कहिल्यै डराइनँ । 

लडेरै उनीहरूबाट बल खोसी साथीलाई गोलका लागि पास दिन्थेँ । मैदानमा यस्तै किसिमको स्वभावले पनि मेरो नाम ‘दानव’ राखेको जस्तो लाग्छ । नेपाली फुटबलमा म आफूलाई ‘दानव’ नामबाट चिनाउन पाउँदा यसैमा खुसी छु । त्यस समयमा १४ अञ्चल ७५ जिल्लामै मलाई राजेश नभएर ‘दानव’ नामबाट चिने । अहिलेसम्म साथीले मलाई ‘दानव’ भनेरै बोलाउने गर्छन् । नेपालमा मात्र नभएर यो नाम विदेशमा पनि चर्चित थियो । भारत र बंगलादेशमा खेल्न जाँदा म देखेपछि विपक्षी स्ट्राइकर डराउँथे । मेरो खुट्टामा बल परेपछि उनीहरू बल लिन हिम्मत नै गर्दैनथे । मसँग जुध्न कमै खेलाडी आउँथे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्दा मेरो जिम्मेवारी ‘लेफ्ट ब्याक’ हो । यस क्षेत्रमा मेरो पकड बलियो थियो । 

प्रिसेन्स कपदेखि क्लोज क्याम्पमा परेँ
घरेलु फुटबलमा सहिद स्मारक ‘बी’देखि ‘ए’ डिभिजन लिग, एन्फा लिग, पञ्चायत रजत जयन्ती र वाइवाई कपजस्ता चर्चित फुटबल प्रतियोगिता धेरै खेलेँ । मलाई याद छ, त्यसवेलाको लिगमा मैले मध्य भागबाट गोल गरेको थिएँ । सन् १९८४ मा बैंककमा भएको प्रिसेन्स कपदेखि म राष्ट्रिय टोलीको क्याम्पमा परेँ । प्रारम्भिक छनोटमा सधैँ स्थान बनाए पनि अन्तिम छनोटबाट सधैँ बाहिरिएँ । क्याम्प राखिँदा सधैँजसो २२ खेलाडीभित्र परिरहन्थेँ, तर १८ जना खेलाडीको नाम घोषणा हुँदा म बाहिरिन्थेँ । अग्लो खेलाडीले टिममेटसँग सहकार्य गर्न नसकिने भनेर स्थान नदिएको जस्तो लाग्छ । त्यसवेला नेपाली टोलीका मुख्य प्रशिक्षक भीम थापा हुनुहुन्थ्यो । उहाँले सन् १९८६ मा पहिलोपटक टोलीमा स्थान दिनुभयो । सन् १९८६ पछि म एक दशकसम्म राष्ट्रिय टोलीकै प्रमुख रक्षापंक्ति खेलाडीका रूपमा रहेँ । मैदानको लेफ्ट ब्याकमा मलाई बिट गर्न हरेक स्ट्राइकरलाई चुनौती हुन्थ्यो ।  

बंगलादेश हारेपछि हुलदंगा
सन् १९८६ मा पहिलोपटक टिममा स्थान बनाएपछि फर्केर हेर्नुपरेन । सन् १९९९ सम्म लगातार नेपालको जर्सीबाट खेलेँ । नयाँ खेलाडी आएपछि बेन्चमा बस्नुपर्‍यो । राष्ट्रिय टोलीमा स्थान बनाउन मुस्किल भइरह्यो र सधैँ बेन्चमा रहेपछि मैले सन्न्यास लिएँ । नेपालबाट खेल्दा एउटा घटना अहिले पनि सम्झिने गर्छु । सन् १९९३ मा बंगलादेशमा भएको छैटौँ साफमा हामीले दुई साताको प्रशिक्षण गरेका थियौँ । त्यो समयमा आधुनिक प्रशिक्षण र अहिलेको जस्तो अभ्यास खेल थिएन । चना र अन्डाको डाइटका भरमै साफ खेल्न बंगलादेश पुगेका थियौँ । 

फुटबलमा सहभागीमध्ये नेपाल सबैभन्दा कमजोर भनिएको थियो । सन् १९९० को दशकतिर बंगलादेश र भारतको फुटबलस्तर धेरै माथि थियो । अझ बंगलादेशका खेलाडी पूर्ण प्रोफेसनल भइसकेका थिए । नेपालीको फुटबल पूर्ण व्यावसायिक नभए पनि हामी कम थिएनौँ । दुई साताको प्रशिक्षणका भरमा हामीले बंगलादेशमा साफ खेल्यौँ । नेपालले कसैले कल्पना नगरेको नतिजा निकाल्यो । नेपालले सेमिफाइनलमा घरेलु टोली बंगलादेशलाई स्तब्ध गर्‍यो ।

त्यो समयमा बंगलादेशले साफमा शतप्रतिशत स्वर्ण जित्ने लक्ष्यका साथ ठुलो लगानी गरेको थियो । उनीहरूले मलेसियामा तीन महिनाभन्दा बढीको तयारी गरेको सुनिएको थियो । व्यावसायिक खेलाडीले भरिएको बंगलादेशविरुद्ध नेपालले १–० को जित निकाल्यो । यो नतिजाले सिंगो बंगलादेश स्तब्ध भयो । उनीहरूको वर्षौँदेखिको सपना सामान्य टोली भनेको नेपालले भताभुंग पारेको थियो । मैदानमा दर्शक उग्र भए । पुलिसले समर्थकलाई लाठीचार्ज गर्न थाल्यो । नेपाली खेलाडीलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा राखेका थिए । धेरै सुरक्षाकर्मीबिच हामीलाई होटेल पुर्‍याइएको थियो । 

भारतलाई हराउँदै स्वर्ण पदक 
त्यसवेला राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव राजबहादुर सिंह हुनुहुन्थ्यो । फाइनलको अघिल्लो रात खेलाडीलाई सबै अफिसियलले भेट्न आएका थिए । साफमा स्वर्ण जित्दा पदाधिकारीहरूले पुरस्कारको घोषणा गरेका थिए । हामीले स्वर्णपदक पनि जित्यौँ । तर, हामीले नेपाल फर्कँदा केही पनि पाएनौँ । त्यसवेला केवल आश्वासन मात्र पाएँ । त्यसवेलाको राष्ट्रिय टोलीमा काठमाडौंको १९ वडाबाट म र मृगेन्द्र मिश्रले प्रतिनिधित्व गरेका थियौँ । वडाबाट पनि केही पाएनौँ ।

मिरपुरको रंगशालामा उपाधिका लागि नेपाल र भारत भिड्दै थिए । कप्तान राजुकाजी शाक्य, दीपक अमात्य, मणि शाह, देवनारायण चौधरी, वसन्त गुरुङ, गोलरक्षक उपेन्द्रमान सिंह र मलगायत खेलाडीले राम्रो खेल्यौँ । भारत र हाम्रो प्रतिस्पर्धा रोमाञ्चक भयो । रंगशालामा ‘नेपाल, नेपाल, नेपाल’को स्वर गुन्जायमान भइरह्यो । भारतले हामीविरुद्ध अग्रता बनायो । उमेश प्रधानको गोलसँगै नेपालले १–१ गोलको बराबरी फर्काएको थियो । फेरि भारतले २–१ को अग्रता लियो । मणि शाहले गोल गरेपछि हामी २–२ को बराबरीमा पुग्यौँ । अतिरिक्त समय पनि २–२ को बराबरीपछि स्वर्ण पदकको छिनोफानो टाइब्रेकरबाट हुने पक्का भयो । गोलरक्षक उपेन्द्रमानले दुई पेनाल्टी रोकेपछि हामीले स्वर्ण पदक जितेका थियौँ ।