१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
२o८१ कार्तिक २ शुक्रबार ११:३३:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

हमास नेता सिनवार मारिएको इजरायलले गर्‍यो पुष्टि

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार ११:३३:oo

सिनवारलाई पक्रन इजरायलले ठुलो गुप्तचर स्रोत खर्च गरे पनि अन्तमा उनी गस्तीमा हिँड्ने नियमित सेनाबाट मारिएका छन् 

गत वर्ष अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका प्रमुख योजनाकार हमास नेता याह्या सिनवार इजरायली स्थल सेनासँगको अप्रत्याशित भिडन्तमा मारिएका इजरायली सेनाले पुष्टि गरेको छ । इजरायल डिफेन्स फोर्सेस (आइडिएफ)का अनुसार तिनको स्थल सैनिकको नियमित गस्ती टोलीले शंस्कापद अवस्थाका तीन प्यालेस्टिनी लडाकुविरुद्ध कारबाही गर्दा सिनवार मारिएको जानकारी दिएको छ । तीन लडाकुमध्ये एक सिनवार भएको शंका लागेपछि त्यसलाई पुष्टि गर्न शव परीक्षण गरिएको थियो । डिएनए परीक्षणका लागि शव इजरायल लगिएको थियो । आइडिएफका प्रवक्ताले घटनालगत्तै मृतकमध्ये एकजना सिनवार हुने सम्भावना ‘अत्यन्त उच्च’ भएको दाबी गरेका थिए ।

इजरायली अधिकारीले शवमध्ये एक सिनवार भएको पुष्टि गर्न शवहरूको डिएनए परीक्षणका अतिरिक्त शवको औँठाछाप र दाँतको रेकर्ड पनि हेरेको यस विषयमा परिचित व्यक्तिलाई उद्धृत गर्दै इजरायली मिडियाले बताएका छन् । सिएनएनको एक समाचारअनुसार इजरायली सरकारले सिनवारको सम्भावित मृत्यु पुष्टि गर्न शवहरूको डिएनए परीक्षण भइरहँदा त्यसको जानकारी अमेरिकी अधिकारीलाई पनि गराएका थिए । विगतमा हत्याको आरोपमा दुई दशकभन्दा लामो समय इजरायली जेलमा रहँदा इजरायलले सिनवारको बायोमेट्रिक संकलन गरेको राखेको थियो । तिनै तथ्यले शव उनैको भएको पुष्टि गरेको आइडिएफले जानकारी दियो । 

इजरायली सरकारको लगानी रहेको र सेनाले सञ्चालन गर्दै आएको ‘कान रेडियो’ले पनि हमास नेता कुनै विशेष गुप्तचर अभियानमा नभएर ‘संयोगले’ सामान्य भिडन्तमा मारिएको बतायो । रेडियोका अनुसार सिनवार मारिएका स्थान नजिक धेरै नगद र नक्कली आइडी पनि फेला परेका थिए । बिहीबार रातिदेखि नै घटना भएको भनिएको स्थानमा छरिएका शवका तस्बिर र भिडियो इजरायली मिडियामा प्रसारित हुन थालिसकेका थिए । भिडियोमा खाकी पहिरनमा रहेको सिनवारजस्तो देखिने शव भत्किएको भवनको भग्नावशेषमा लडिरहेको देखिन्छ । समाचार सस्थाले भिडियो फुटेज तथा तस्बिर कहिले र कहाँ लिइएको हो भन्ने स्पष्ट गरेका थिएनन् ।

इजरायली टेलिभिजन ‘च्यानल १२’ का अनुसार एउटा तोपसहित नियमति गस्तिमा हिँडेको पैदल सैनिकको बटालियनले एक भवनतर्फ दगुरिरहेको मान्छे देखेपछि कारबाही गरेको थियो । कारबाहीका क्रममा लडाकू भागेका भवनमा तोपको गोला हानिएको थियो । 

त्यसपछि तीनजनाकै शवहरू भग्नावशेषमुनि गाडिएको अवस्थामा भेटिएयो । सिनवार मृत्युलाई इजरायली सेना र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको ठुलो सफलताका रुपमा हेरिएकोछ, जसले एक वर्षदेखि सिनवारलाई इजरायलको मुख्य शत्रु घोषणा गर्दै आएका थिए । आखिर, नेतन्याहु सरकारले अक्टोबर ७ को हमास आक्रमणपछि सुरु गरेको जवाफी कारबाहीको सन्दर्भमा लिएका दुई प्रमुख लक्ष्यमध्ये हमास (सिनवार)को विनाशलाई बन्धकको रिहाइभन्दा उच्च प्राथमिकतामा राखेझैं देखिदैं आएको थियो । 

सिनवारको योजनामा भएको अक्टोबर ७ को आक्रमणको जवाफमा इजरायलले गाजा क्षेत्रमा गरेको व्यापक आक्रमणमा ठुलो धनजन क्षति भईसकेको छ । गाजाको स्वास्थ्य अधिकारीका अनुसार इजरायली कारबाहीमा ४१ हजारभन्दा बढि प्यालेस्टिनी मारिइसकेका छन् भने ९० हजार गाजावासीले तिनको घर गुमाए छन् । निरन्तरको आक्रमणको कारण झन्डै २३ लाख गाजाबासी भोकमरीको संघारमा छन् । 

इजरायलले एक वर्षदेखि सिनवारको पक्राउ वा हत्याका लागि कुनै पनि स्रोत प्रयोग गर्न बाँकी छाडेको थिएन । सिनवारको खोजीमा इजरायली सेनाको विशेष कमान्डोले उन्नत प्रविधि प्रयोग गरिरहेको थियो । उक्त खोज अभियानलाई सघाउन इजरायली गुप्तचर अधिकारीको एउटा कार्यदल, इजरायल डिफेन्स फोर्सेस(आइडिएफ)को विशेषतः अप्रेसन एकाइ, सैन्य इन्जिनियर र गुप्चतर सम्मिलित थिए । तिनको कारबाहीलाई ‘सबाक’ भनिने इजरायली सुरक्षा एजेन्सीले समन्वय गरिरहेको थियो । तथापि, त्यस अभियानले आफ्नो निसानाको भेउसमेत पाउन सकेन ।

उसो त इजरायलले स्थापनाकालदेखि नै नेतालक्षित हत्या अभियानलाई आफ्नो मुख्य रणनीति बनाउँदै आएको छ । यसैले दोस्रो विश्वयुद्धपछि इजरायलले अन्य कुनै पश्चिमी देशले भन्दा धेरै नेतालक्षित हत्या गरिसकेको छ । ‘कम्ब्याट इन्जिनियरिङ कोर्प’को विशेष शाखा ‘यायालोम’सँग पश्चिमी सेनाका उसका समकक्षीभन्दा धेरै सुरुङ युद्धको अनुभव छ । सुरुङको खोजीका लागि इजरायलले अमेरिका निर्मित जमिनमुनिको सुरुङ पत्ता लगाउने अति उन्नत उपकरण प्रयोग गरिरहेको छ । इजरायलको सञ्चार गुप्तचर एकाइ आठ हजार २०० विद्युतीय युद्धमा विश्वकै अग्रणी संस्था हो । यसले दशकौँदेखि हमासको सञ्चार कुराकानीमा पहुँच पाउँदै आएको छ । इजरायलले सिनवारलाई पक्रन ठुलो गुप्चतर स्रोत खर्च गरे पनि अन्तमा उनी गस्तीमा हिँड्ने नियमित सेनाले मारिएका छन् । 

सिनवारको खोजमा संलग्न कार्यदलको अनुमानमा उनले लामो समयदेखि विद्युतीय सञ्चार माध्यमको प्रयोग गर्न छाडिदिएका थिए । आखिर, सिनवारले इजरायली जेलमा हुँदा इजरायली भाषा(हिब्रु) मात्र होइन, तिनको क्षमता र संस्कृति पनि अध्ययन गरेका थिए । तथापि, सिनवार अहिले पनि बाह्य विश्वसँग सम्पर्कमा नरहेका भने होइनन् । कायरो र दोहामा भएका युद्धविरामसम्बन्धी लामा–लामा वार्ता सिनवारका अडानसम्बन्धी सन्देश हासिल गर्नकै लागि रोकिने गरेका थिए । सिनवार गत जुलाईमा इरानको राजधानी तेहरानमा इजरायली आक्रमणमा इस्माइल हानिय मारिएपछि हमासका सर्वोच्च नेता पनि हुन् ।

सन् १९८९ मा उनलाई दुई इजरायली सैनिक र चार प्यालेस्टिनीको अपहरण गरी हत्या गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको थियो । उनले २२ वर्ष जेल जीवन बिताए र त्यस क्रममा सम्मानित जेल नेताका रूपमा उदाए । उनी सन् २०११ मा इजरायली सिपाही गिलाड सालितलाई कैदी आदानप्रदानका क्रममा रिहा भएका एक हजारमध्ये एक थिए । गाजा फर्किएपछि उनले विवाह गरे र उनका छोराछोरी भए ।

सिनवार सन् २०१७ मा अन्य हमास सदस्यको गोप्य मतदानबाट गाजा क्षेत्रका लागि हमासको प्रमुख निर्वाचित भएका थिए । उनी कैयाैँपटक इजरायली हत्या प्रयासबाट बच्दै आएका थिए । हमासका अन्य केही वरिष्ठ नेताविपरीत सिनवार प्यालेस्टिनी राज्यको निर्माणको एक मात्र मार्ग सशस्त्र संघर्ष भन्ने विश्वासबाट कहिल्यै डगमगएनन् । इजरायली सेनाका अनुसार सिनवार यसअघि जनवरीमा पनि पक्राउ पर्नबाट थोरैले मात्र बचेका थिए । खान युनिस क्षेत्रमुनि उनले प्रयोग गरिरहेको बंकर उनले छाडेको केही दिनपछि नै इजरायली सेना पुगेको थियो । सेनाले उनका कपडा र १० लाख सेकेल(इजरायली मुद्रा) नोटसहित उनको उपस्थितिको डिएनए प्रमाण फेला परेको थियो । 

– एजेन्सीको सहयोगमा