१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
२o८१ कार्तिक २ शुक्रबार १४:१८:oo
Read Time : > 1 मिनेट
प्रवास डिजिटल संस्करण

साउदी अरबमा पहिलोपटक नेपाली चलचित्र प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १४:१८:oo

केही वर्ष पहिलेसम्म सिनेमा हल नभएको देशका रूपमा रहेको साउदी अरबमा अब नेपाली चलचित्र नै रिलिज भएको छ। नेपाली श्रमिकहरूको मुख्य थलो साउदी अरबमा पहिलोपटक नेपाली चलचित्र रिलिज भएको छ। ‘छक्कापञ्जा ५’ साउदी अरबका विभिन्न सहरमा कात्तिक १ देखि प्रदर्शन भइरहेको छ।

खाडी देशमा चलचित्रको वितरण गर्दै आइरहेको कम्पनी नेप–फिल्म्सले पहिलोपटक साउदी अरबमा चलचित्र रिलिज गरेको हो। यो चलचित्र खाडी देशहरूमध्ये साउदी अरब, युएई, कतार, बहराइन र ओमानमा रिलिज गरिएको वितरक नेप–फिल्म्सले जनाएको छ।

साउदी अरबमा चलचित्र रिलिज गर्न सहजीकरण गरेका पत्रकार सुनजित तामाङले आफूलाई अत्यधिक खुशी लागेको बताए। डेढ दशकदेखि साउदी अरबमा बस्दै आएका तामाङले नेपाली समुदाय चार लाख हाराहारीमा रहेकाले चलचित्र रिलिज हुँदा नेपालीहरूले आफ्नोपन महसुस गरेको बताएका सुनाए। चलचित्र हेर्न नेपाली समुदायको उपस्थिति बढ्दै गएको उनको भनाइ छ। नेपाली श्रमिकहरूको समयलाई ध्यानमा राख्दै शो बढे दर्शकको उपस्थित झनै बढ्ने उनको आकलन छ।

दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा सिवाकोटी स्टारर छक्कापञ्जाको पाँचौँ शृंखला असोज २४ गते नेपालमा रिलिज भएको हो। पहिलोपटक चलचित्र साउदी अरबमा रिलिज भएकाले नेपली दूतावास साउदी अरबले पनि आफ्नो सामाजिक सञ्जालबाट चलचित्रको शो रहेको स्थानबारे जानकारी दिएको छ।

यी सहरमा प्रदर्शन भइरहेको छ
ऐतिहासिक रूपमा नै नेपाली चलचित्र साउदी अरबमा रिलिज भएको हो। चलचित्र साउदी अरबको राजधानी रियादसँगै जेड्दा, दमाम, जुबेल र दहरान सहरमा रिलिज गरिएको छ। राजधानी रियादमा सबैभन्दा बढी सिनेमा हलमा रिलिज भएको हो।

रियादमा भोक्स सिनेमा अल कसर मल, मुभी सिनेमास द भ्यु मल, एएमसी रियाद ग्यालेरी ९ र मुभी सिनेमा सलाम मलमा चलचित्र रिलिज भएको छ। यस्तै, अर्को सहर जुबेलमा मुभी सिनेमा जुवेल मल, दमाम सहरमा भोक्स सिनेमा वेस्ट एभेन्यु मल, जेडद सहरमा मुभी सिनेमा हैफा मल जेडदा र भोक्स सिनेमास टाउन स्क्वायरमा रिलिज गरिएको छ। यस्तै, दहरान सहरमा मुभी सिनेमा मलमा फिल्मको शो चलिरहेको हो। 

साउदीमा २०१८ देखि विदेशी सिनेमा खुला
साउदी अरब सरकारले विदेशी चलचित्रमाथिको प्रतिबन्ध हटाएपछि सन् २०१८ देखि चलचित्र रिलिज हुन थालेको हो। सन् २०१८ मा सबैभन्दा पहिले हलिउड चलचित्र ‘ब्ल्याक प्यान्थर’ रिलिज गरिएको थियो। त्यसपछि अरब भाषाका चलचित्रसँगै हिन्दीसहित दक्षिणी भारतीय, भोजपुरीलगायतका चलचित्र प्रर्दशन हुँदै आएको छ।

साउदी सरकारले भिजन २०३० अन्तर्गत विभिन्न विकास र सुधारका कार्यक्रम जारी राखेको छ। यसैअन्तर्गत सन् २०३० सम्म साउदी अरबमा ३५० सिनेमा हल र २५०० पर्दा निर्माणको लक्ष्य छ। बाह्य पर्यटकलाई आकर्षित गर्न साउदी अरबले भिजन २०३० अन्तर्गत पर्यटकीय स्थलहरूको निर्माण र पर्यटकमैत्री कानुनमा जोड दिन लागेको छ।