१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
२o८१ कार्तिक २ शुक्रबार o९:o१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खर्चिलो क्लब म्यानचेस्टरको निराशाजनक नतिजा

खेलाडी अनुबन्धमा १७२ मिलियन पाउन्ड खर्चेको म्यानचेस्टर युनाइटेडको लिगमा दुई जित मात्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार o९:o१:oo

इंग्लिस प्रिमियरसिप क्लब म्यानचेस्टर युनाइटेडले सन् २०२४/२५ सिजनका लागि खेलाडी अनुबन्धमा अहिलेसम्म १७२ मिलियन पाउन्ड खर्चेको छ । युनाइटेडले लेनी योरो, सोसुआ, म्याथिज डे, नाउसेर माजओयी तथा मानुएल उगार्टेजस्ता प्रभावशाली खेलाडी अनुबन्ध गरेको छ । प्रशिक्षक एरिक टेन हागले यी पाँच युवा खेलाडीको सहयोगमा इंग्लिस प्रिमियर लिगमा राम्रो नतिजा निकाल्ने योजना बनाएका थिए । तर, प्रशिक्षक एरिक र क्लबको व्यवस्थापकले खेलाडीमाथि खर्चेको रकमअनुसार नतिजा निराशाजनक पाएका छन् ।

मुख्य खेलाडी फर्ममा नहुनु तथा इन्जुरीका कारण नै युनाइटेडले लिगमा केवल दुई जित मात्र निकालेको छ । लिगमा युनाइटेड ८ अंकका १४औँ स्थानमा छ । प्रशिक्षक एरिकले सुरुवाती चरणमै तीन हारको सामना गरेका छन् । यस नतिजासँगै युनाइटेडको शीर्ष चारभित्र रहने योजना कमजोर बनेको विश्लेषकहरूले दाबी गरेका छन् । 

रमाइलो पक्ष के छ भने युनाइटेडमा अमेरिकी लगानीकर्ताले सन् २०२८ सम्म क्लबलाई सर्वाधिक बलियो बनाउने लक्ष्य राखेका छन् । चार वर्षपछि युनाइटेड क्लबको स्थापना १५० वर्ष पुग्नेछ । ‘हामीहरूको प्रोजेक्ट १५० हो, त्यसवेला हामी च्याम्पियन बन्नेछौँ,’ प्रशिक्षक एरिकले भने, ‘अहिले दीर्घकालीन योजनाअनुरूप नतिजा निकाल्न सकिरहेका छैनौँ ।’ 

यस सिजनमा भित्रिएका पाँच युवा खेलाडी युनाइटेडका मुख्य आधार हुन् । दुर्भाग्यवश यी खेलाडी फर्ममा छैनन् । अझ उनीहरू अक्सर इन्जुरी भइरहँदा क्लबले ठुलो नोक्सानी बेहोर्नुपरेको छ । ‘हामीले १७२ मिलियन पाउन्ड पाँच खेलाडीमाथि खर्चियौँ, अहिलेको ठूलो समस्या नै खेलाडीको इन्जुरी हो,’ एरिकले भने, ‘खेलाडी पनि फर्ममा छैनन् ।’

फर्ममा छैनन् खेलाडी
युवा खेलाडी योरो चोटकै कारण तीन महिना मैदानबाहिर रहने पक्का भएको छ । जिक्रेजले प्रशिक्षणमा पूरा समय दिएका छैनन् । युनाइटेडले यस सिजिनमा डे लिग्ट र माजओयीलाई जर्मन क्लब बायर्न म्युनिखबाट भित्र्याएको हो । फर्ममा नरहँदा डे लिग्ट एस्टोन भिल्लाविरुद्धको खेलमा बेन्चमै थिए । माजओयी लगातार इन्जुरी भइरहेका छन् । अर्को साता उनको शल्यक्रिया हुने जनाइएको छ ।

एस्टोन भिल्लालाई गोलरहित बराबरीमा रोक्नु नै युनाइटेडको बहादुरी प्रदर्शन मानिएको थियो । यस खेलमा पराजित हुँदा प्रशिक्षक एरिकको पदसमेत संकटमा हुन सक्थ्यो । भिल्लाबाट १ अंक खोसेपछि उनको पद केही समयका लागि थपिएको छ । खेलाडी बारम्बार इन्जुरी हुने तथा नतिजा निकाल्न नसक्दा युनाइटेडले अक्टोबरसम्म ३३.१ मिलियन पाउन्ड पारिश्रमिक वितरणमै घाटा बेहोरेको छ । खर्चिलो क्लब बनेको युनाइेटडले टोटनह्याम र लिभरपुलविरुद्ध पनि खराब नतिजा निकाल्यो ।