१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
२o८१ कार्तिक २ शुक्रबार o८:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेटौँडाबाट भैँसै–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सडक तीन दिनलाई बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार o८:४o:oo

हेटौँडालाई काठमाडौंसँग जोड्ने छोटो मार्गअन्तर्गत भैँसे–भीमफेदी–कुलेखानी सडकखण्ड भएर हेटौँडाबाट काठमाडौं जाने सवारीसाधनलाई तीन दिनका लागि रोक लगाइएको छ । इन्द्रसरोवर गाउँपालिका– २ स्थित कुलेखानी ड्याम तल सिमखोलामा बनाइएको डाइभर्सनमा थप अर्को ट्रयाक खोल्न लागिएकाले उक्त सडकखण्ड भएर हेटौँडाबाट काठमाडौंतर्फ जाने सवारीसाधनलाई रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाले सिमखोलामा बनाइएको डाइभर्सनमा थप अर्को ट्रयाक खोल्न लागिएको जानकारी दिए। उनले सिमखोलामा ह्युमपाइप राखेर ट्रयाक खोल्न समय लाग्ने भएकाले तीन दिनलाई हेटौँडाबाट काठमाडौंतर्फ जाने सवारीसाधनलाई रोक लगाइएको बताए ।

‘सिमखोलामा सवारीको चाप धान्नै नसक्ने भएपछि अर्को ट्रयाक बनाउन लागिएको छ। त्यसका लागि हेटौँडाबाट काठमाडौंतर्फ जाने सवारीलाई मात्रै उक्त सडकखण्ड भएर चल्न रोक लगाइएको हो,’ उनले भने, ‘काठमाडौंबाट सोही मार्ग भएर हेटौँडा आउन भने रोक लगाइएको छैन ।’

उनले हेटौँडाबाट काठमाडौं जाने सवारीसाधनहरूलाई त्रिभुवन राजपथ र कान्ति लोकपथ प्रयोग गर्न आग्रह पनि गरे । मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले हेटौँडाबाट भैँसे–भीमफेदी–कुलेखानी सडकखण्ड भएर चल्ने सवारीसाधनलाई भैँसेबाटै त्रिभुवन राजपथतर्फ पठाइएको जानकारी दिए ।