
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
हाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेकी पहाडीलाई नै प्रबन्ध निर्देशकमा नियुक्ति गरिएको सरकारका एक मन्त्रीले जानकारी दिए । असोज ०८० मा तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचार मुद्दामा मुछिएपछि सरकारले पहाडीलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो । त्यसअघि उनी टेलिकमको नायब प्रबन्ध निर्देशकको भूमिकामा थिइन् ।
पहाडीले टेलिकममा ३१ वर्ष बिताइसकेकी छिन् । उनी ०४९ मा नेपाल टेलिकममा सातौँ तहको इन्जिनियरका रूपमा प्रवेश गरेकी थिइन् । उनले करिब २२ वर्ष मोबाइल सेवाको विस्तार, योजनालगायतमा काम गरेकी थिइन् । पहाडी टेलिकमको नेतृत्वमा पुग्ने दोस्रो महिला बनेकी छिन् । यसअघि कामिनीराज राजभण्डारीले टेलिकमको नेतृत्व सम्हालेकी थिइन् ।