१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Sunday, 08 September, 2024
२o८१ श्रावण १२ शनिबार o६:o८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जम्मु कस्मिरबाट २८ नेपाली श्रमिकको उद्धार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार o६:o८:oo

झुक्याएर द्वन्द्वग्रस्त जम्मु कस्मिर पुर्‍याइएका सिराहाका २१ र धनुषाका ७ नेपाली श्रमिकलाई उद्धार गरी स्वदेश ल्याइयो

भारत प्रशासित कस्मिरको श्रीनगरबाट २८ नेपाली श्रमिकको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । पाँच महिनादेखि कस्मिरको श्रीनगरमा बन्धक रहेका सिराहाका २१ र धनुषाका सात गरी २८ श्रमिकको उद्धार गरी नेपाल ल्याएर सम्बन्धित परिवारको जिम्मा लगाइएको सिराहाका निमित्त प्रमुख जिल्ला अधिकारी रवीन्द्र महतले बताए । 

भारतस्थित नेपाली राजदूतावास, भारतीय गैरसरकारी संस्था किनको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीमार्फत उद्धार गरी बिहीबार धनुषाको जनकपुर ल्याइएका श्रमिकलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयले शुक्रबार परिवारको जिम्मा लगाएको हो । 

सिराहा कल्याणपुरका १६, गोलबजारका चार, कर्जन्हा र सुखीपुर नगरपालिकाका एक–एक जना गरी २१ जना २४ देखि ६० वर्ष उमेर समूहका श्रमिकलाई परिवारले बुझेका हुन् । भारत बिहारको भीमनगरका जुबेर खानले सडक निर्माणको काममा आकर्षक पारिश्रमिक पाउने भन्दै नेपाली दलालमार्फत झुक्याएर द्वन्द्वग्रस्त क्षेत्र जम्मु कस्मिर पुर्‍याइएका श्रमिकलाई जोखिमपूर्ण काम लगाउने, पारिश्रमिक माग्दा कुटपिट गरी कागजात र मोबाइलसमेत खोसेर बन्धक बनाइएको थियो । 

‘बन्धक बनाइएका मध्ये कसैले लुकेर घरमा सुनाएपछि वडा, पालिका हुँदै उद्धारका लािग गत फागुनमा प्रशासनमा निवेदन आएको थियो,’ महतले भने, ‘जिल्ला प्रशासनबाट उद्धारका लागि गृह मन्त्रालयलाई पत्राचार गरेपछि गृहले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पत्राचार गरेसँगै उद्धार गरिएको हो ।’ 

उद्धार गरी जनकपुर ल्याइएका श्रमिकलाई बिहीबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी, सचिव दिनेश भट्टराई, सहसचिव आभा श्रेष्ठको उपस्थितिमा मानव बेचबिखन तथा ओासरपसार नियन्त्रण समितिले बुझेर जिल्ला ल्याएर शुक्रबार परिवारको जिम्मा लगाइएको हो । नेपाली श्रमिकलाई जम्मु कस्मिर पुर्‍याउन बिचौलियाको काम गर्ने नेपाली र भारतीय एजेन्टको समेत खोजी गरी अनुसन्धानपछि कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ । 

‘काम गर्ने ठाउँमा पाइपले कुट्थे, बाँचेर फर्कियौँ’
सिराहा कल्याणपुर नगरपालिका– ७ भेडियागाउँका नाम खुलाउन नचाहेका ५१ वर्षीय एक पीडितले साँझबिहानको खानाबाहेक दैनिक एक हजार रुपैयाँ भारु पाइने भनिएपछि लोभिएर गएको बताए । ‘गाउँमा आएका दुईजना अपरिचित व्यक्तिले कस्मिरमा ज्याला, बेलुकाको खाना स्वयं र दिउँसोको खाना आफूहरूले खुवाउने बताएपछि हामी पनि लोभियौँ,’ उनले भने, ‘छिमेकी गाउँका सहित १५ जना कस्मिर पुग्यौँ । त्यहाँ पुगेलगत्तै मजदुरी माग्दा कुटपिट गरी एउटा घरमा बन्धक बनाएर राखे । नागरिकता र मोबाइल पनि खोसे ।’

उनका अनुसार सडक निर्माणको काम भनेर लगिए पनि घरको चार तलामाथि ५० किलोबराबर इँटा, बालुवाको भारी बोकेर पुर्‍याउनुपथ्र्यो । ‘काम गर्ने ठाउँमा केही बोल्यो भने दुईजना उतैका मान्छेलाई अघिपछि लगाएर बन्धक बनाएको कोठामा लगेर पाइपले हात, खुट्टा र कानमा कुट्थे । कुटाइले मेरो कान पाक्ने र नसुन्ने भएको छु । हामीमध्येका एकजनाले लुकाएर राखेको मोबाइलबाट राति मसिनो स्वरमा घरमा आफूहरू बन्धक परेको सुनायौँ । पाँच महिनापछि उद्धार भयो र बाँचेर फर्किन पायौँ,’ उनले भने ।