एकपटक एउटा विद्यालयका केही विद्यार्थीले मिलेर एउटा पहाडी क्षेत्रमा वनभोज जाने योजना बनाए । यसका लागि सबै विद्यार्थीले आ–आफ्नो घरबाट केही न केही खाने कुरा ल्याउने निधो पनि गरे ।
एकजना विद्यार्थीले घर आएर आफ्नी आमालाई यस विषयमा बताए । तर, घरमा त्यसरी वनभोजमा लैजान मिल्ने केही पनि थिएन । न खाना बनाउने सामान थियो, न त किन्नका लागि पैसा नै थियो । घरमा मात्र केही खजुर थिए, जुन वनभोज स्थलमा लग्नु राम्रो हुन्नथ्यो ।
केही क्षणपछि बालकका पिता घरमा आइपुगे । तब बालककी आमाले वनभोज कार्यक्रमबारे पितालाई बताइन् । संयोगले उनका बाबुको गोजी पनि खाली नै थियो । तर, ती बालकका पिता उनको मन तोड्न चाहँदैनथे । त्यसैले उनले निश्चय गरे, छिमेकीकोमा गएर केही उधारो मागेरै भए पनि छोराको इच्छा पूरा गर्नैपर्छ ।
त्यसपछि उनी केही नबोली बाहिर निस्कन लागे । यो सब देखिरहेका ती बालकले बाबुको हात समाएर सोधे, ‘तपाईं कहाँ गइरहनुभएको छ बाबा ?’ ‘छोरा, म छिमेकीसँग केही पैसा उधारो माग्न गइरहेको छु, ताकि तिम्रा लागि केही राम्रो खानेकुराको प्रबन्ध गर्न सकियोस् । घरमा त केही छैन,’ पिताले मलीन स्वरमा जवाफ दिए । ‘हैन हैन बाबा, त्यसरी छिमेकीसित उधारो माग्न जानु उचित हुँदैन । म त्यसै पनि वनभोज जान चाहन्नथेँ र यदि जानु नै छ भने पनि घरमा खजुर त छँदै छ । म त्यही लिएर जानेछु । बेकारमा ऋण लिएर सान देखाउनु राम्रो हुँदैन । हजुर चिन्ता नगर्नुहोस् । सबै ठिक हुन्छ ।’
यो सुनेर ती बालकका पिता भावुक भए । उनी केही बोल्न सकेनन् । यी बालक लाला लाजपत राय थिए, जो पछि गएर पन्जाब केसरीका नामले विख्यात भए ।