
बन्दै गरेको दुई ठूला राजनीतिक दलको गठबन्धनलाई कसरी हेर्नुभएको छ ?
झट्ट हेर्दा यो स्वाभाविकै जस्तो पनि देखिन्छ । संसदीय अंकगणितमा तेस्रो दलले कहिले यता र कहिले उता गरेर सत्तामा खेलोफड्को गरिरहेको समयमा दुई ठूला दल एकै ठाउँमा उभिनु अन्यथा होइन । सामान्यतः संसदीय राजनीतिमा ठूलो दलले सरकार चलाउने र दोस्रो ठूलो दल प्रतिपक्षमै बस्ने आमचलन हुन्छ । तर, यहाँ त तेस्रो शक्तिले पहिलो र दोस्रो शक्तिलाई यता र उता गरेर खेलाएको देखियो । प्रधानमन्त्री प्रचण्ड सुरुमा एमालेसित गइसकेपछि त्यहीँ अडिएको भए हुन्थ्यो । तर, उहाँ कहिले कांग्रेस त कहिले एमालेलाई खेलाउन थाल्नुभयो । अहिलेको सरकार पनि गतिलो छैन र अब आउने सरकारचाहिँ गतिलो हुन्छ भन्ने पनि बलियो आधार छैन । अहिले भएको सहमतिमा इमानदारी देखियो भने त्यो नै ठूलो हुनेछ ।
नयाँ गठबन्धनले राजनीतिक स्थिरता दिन सक्ने सम्भावना कति देख्नुहुन्छ ?
संविधानतः अहिले पनि हामीकहाँ राजनीतिक अस्थिरता छैन । जतिपटक सरकार बने पनि त्यो संविधानअन्तर्गत नै बनिरहेको छ । संसदीय गणितले सरकारको आयु निर्धारण गर्ने हाम्रोजस्तो राजनीतिक प्रणालीमा सरकार आउनु र जानु राजनीतिक अस्थिरता होइन, स्वाभाविक प्रक्रिया हो । अहिले शासकीय सत्तामा मात्र अस्थिरता देखिएको हो ।
राजीनामा र विश्वासको मतको विवादबारे के भन्नुहुन्छ ?
यो संसदीय आचरणमा भर पर्ने विषय हो । आफ्नोभन्दा ठूलो सत्ता सहयात्री दलले समर्थन फिर्ता लिइसकेपछि संसद्बाट विश्वासको मत पाउन सक्ने सम्भावना छैन । नतिजा पहिल्यै थाहा भइसकेको अवस्थामा विश्वासको मत लिन्छु भन्नुभन्दा राजीनामा दिनु ठीक हुन्थ्यो ।