Skip This
धेरैको नाडी छामेको एसइईको नतिजा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
विदुरप्रसाद दाहाल
२o८१ असार २४ सोमबार o७:३५:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

धेरैको नाडी छामेको एसइईको नतिजा

तीन घण्टा लेखेको र लेख्न नसकेको आधारमा पास–फेल गराउने थोत्रो प्रणालीमा सुधार नगरेसम्म हरेक परीक्षाको नतिजा यस्तै आउँछ

Read Time : > 4 मिनेट
विदुरप्रसाद दाहाल
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार o७:३५:oo

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले धेरैलाई तरंगित बनायो । शिक्षक, विद्यार्थी, अभिभावक र सरकार यसका प्रत्यक्ष हिस्सेदार थिए । नतिजाले तिनलाई जिम्मेवारी र दायित्व सम्झायो । यसको बाछिटा शिक्षाशास्त्र संकायसम्म आइपुग्यो । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा शिक्षाशास्त्र संकाय विद्यालय शिक्षाको महत्वपूर्ण अंग हो । र, नतिजाले उसको पनि नाडी छाम्यो ।

यस वर्षको एसइईको नतिजा राम्रो आएन । चार लाख ६४ हजार ७८५ परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीले मात्र कक्षा ११ पढ्न पाउने भए । दुई लाख ४२ हजार ९२ (५२.१४ प्रतिशत) अनुत्तीर्ण अर्थात् ‘एनजी’ घोषित भए । ११ जनाको परीक्षा रद्द भयो । कमजोर नतिजा आउनासाथ एकले अर्कामाथि दोषारोपण गरी आफूलाई चोखो देखाउने कोसिसमा सबै जिम्मेवारहरू लागेका देखिन्छन् । कसैले शिक्षकलाई दोष लगाए । कसैले सरकारलाई दोष लगाए । कसैले अभिभावकलाई दोष लगाए भने कसैले राजनीतिलाई देखाए । विद्यार्थीलाई नै दोषी देखाउने पनि कम भएनन् । खराब नतिजाका लागि एउटा पक्ष मात्र जिम्मेवार हुँदैन । धेरै पक्षको कमजोरीको योगफल हो अहिलेको एसइईको नतिजा । नतिजापछि सरोकारवालाले कति आत्मसमीक्षा गरे, त्यो भविष्यमा देखिने नै छ ।

दोषका भागीदार
सरकार/राज्य : राज्य/सरकार अभिभावक भएकाले एसइई नतिजाको सबै दोष उसैको हो । ०७२ पछि विद्यार्थी फेल हुँदैनन्, सबै पास हुन्छन् भन्ने हौवा फिँजाइएपछि विद्यार्थीले पढाइमा ध्यान दिन छाडे । परिणामतः ०८१ मा आउँदा आधाभन्दा बढी विद्यार्थी फेल भए । राज्यले शैक्षिक वातावरण राम्रो बनाएर शिक्षकलाई जिम्मेवार बनाउन सकेन । विद्यार्थीलाई सिक्न प्रेरित गरेन । राज्यले समन्वय र नियमन गर्न सकेन । भएको यही हो ।

शिक्षक : विद्यार्थी अनुत्तीर्ण हुनुमा शिक्षक पनि उत्तिकै दोषी छ । उसले राम्रो पढाएन, सिकाएन । शिक्षकले पढाउनुको सट्टा घरायसी कामकाजमा ध्यान दिए । दलको झोला बोकेर हिँडे । पढाउने र सिकाउने कामले प्राथमिकता पाएन । विद्यालय शिक्षामा खर्च भएको अर्बौं लगानी बालुवामा पानी हालेसरह भयो । थोरै तलब र कम सेवा–सुविधा भएका निजी विद्यालयका शिक्षकले लाज ढाकिदिए ।

विद्यार्थी अनुत्तीर्ण हुनुमा समस्या पाठ्यक्रम र विषयवस्तुमा छ, शिक्षकको सिकाइ शैलीमा छ । पाठ्यक्रम व्यावहारिक, जीवनोपयोगी र रुचिकर छैन । विद्यार्थीले त्यस्तो पाठ्यक्रम र पाठ्यसामग्री पढेर भविष्य बन्ने सम्भावना देखेनन् । 
 

अभिभावक :  सचेत अभिभावकले आफ्ना छोराछोरीलाई ध्यान दिए, उनीहरू उत्तीर्ण भए । जसका अभिभावक सचेत थिएनन्, तिनले बालबच्चाको पढाइमा ध्यान दिन सकेनन् र छोराछोरी फेल भए । 

विद्यार्थी :  स्वउत्प्रेरणा हुने र आत्ममूल्यांकन गर्न सक्ने सबैजसो विद्यार्थी उत्तीर्ण भए । पढाइ र समयको महŒव नबुझ्नेहरू फेल भए । अरूका लागि पढ्न स्कुल जानेहरू, पढाइमा भन्दा अन्यत्र ध्यान दिनेहरू पछाडि परे, अनुत्तीर्ण भए । अपवादबाहेक गरिब र निमुखाकै सन्तान अनुत्तीर्ण भए । 

व्यवस्थापन पक्ष :  जुन विद्यालयमा व्यवस्थापन पक्ष राम्रो थियो, प्रधानाध्यापक क्षमतावान् थिए, व्यवस्थापन समिति सक्रिय थियो, अभिभावकले निगरानी गरे, समुदाय सचेत थियो, त्यस्ता स्कुलको नतिजा राम्रो आयो । लथालिंग व्यवस्थापन भएका स्कुलको नतिजा लाजमर्दो देखियो । 

समस्याको जरो : समस्या अभिभावकको चेतना, गरिबी र अभावमा छ । सरकारको कमजोर लगानीमा छ । विद्यार्थीको स्वउत्प्रेरणा नहुनुमा छ । सरकारले विषय शिक्षक दिन सकेको छैन । समस्या दलहरूमा पनि छ । तिनले शिक्षकलाई पढाउनभन्दा झोला बोक्न लगाए । समस्या पाठ्यक्रम र विषयवस्तुमा छ । शिक्षकको सिकाइ शैलीमा छ । काम नलाग्ने विषयवस्तुको भारी विद्यार्थीलाई बोकाउन खोजिएको छ । पाठ्यक्रम व्यावहारिक र जीवनोपयोगी छैन । पाठ्यक्रम र विषयवस्तुमा विद्यार्थीको रुचि छैन । त्यसैले विद्यार्थीले पढ्न–सिक्न रुचि देखाएनन् । पढेर भविष्य बन्ने सम्भावना देखेनन् । चुरो कुरो यही हो ।

समस्या मूल्यांकन प्रणालीमा पनि छ । उत्तर घोकेर लेखेको आधारमा पास र फेल छुट्याउने प्रणाली दोषी छ । जीवनोपयोगी सीप र सिकाइ सिक्यो–सिकेन भन्ने आधारमा मूल्यांकन गरी फेल–पास छुट्याउनुपर्छ । शिक्षकको मूल्यांकन प्रणाली नै अन्तिम हुनुपर्छ । यसका लागि शिक्षक इमानदार र नैतिकवान् भने हुनैपर्छ । खट्केको समस्या यही हो । धेरैजसो शिक्षक जान्दैनन् ।

जाने पनि इमानदार छैनन् । तीन घन्टा लेखेको र लेख्न नसकेको आधारमा फेल–पास गराउने प्रणाली गलत छ । यो थोत्रो भयो । यो परिवर्तन गर्नुपर्छ । चार महिनापछि बल्ल एसइईको नतिजा आयो । अनुत्तीर्ण हुनेजतिले पूरक परीक्षा दिन पाउने राम्रो निर्णय सरकारले गर्‍यो । तर, पूरक परीक्षाको नतिजा कुर्दा कक्षा ११ को क्यालेन्डर त बिग्रिँदैन ? लोकप्रिय हुने नाममा त्यसले थप समस्या त ल्याउँदैन ? कति महिनामा ५२.१४ प्रतिशत विद्यार्थीको नतिजा आउँछ ? यसको असर मूल्यांकन हुनुपर्छ ।

शिक्षाशास्त्र संकायको भूमिका :  शिक्षक र शैक्षिक प्रशासक उत्पादन गर्ने मुख्य भूमिका शिक्षाशास्त्र संकायको हो । उसको आफ्नो पाठ्यक्रम र सिकाइबाट दीक्षितलाई एसइईको नतिजाले झस्काएको हुनुपर्छ । संकायका जिम्मेवारहरूले पनि आत्मसमीक्षा गर्नु जरुरी छ । त्रिवि योजना निर्देशनालयको तथ्यांकअनुसार सरकारी (आंगिक) क्याम्पसमा ०७८ मा २५ हजार १८ र सम्बन्धन प्राप्त क्याम्पसमा ७४ हजार ७८९ गरी जम्मा ९९ हजार १९६ र ०७९ मा आंगिक क्याम्पसमा २८ हजार ९४८ र सम्बन्धन प्राप्त क्याम्पसमा ८४ हजार ६६७ गरी जम्मा एक लाख १३ हजार ६१५ विद्यार्थी बिएड र एमएड तहमा भर्ना थिए । यिनै हुन् भविष्यका शिक्षक र शैक्षिक प्रशासक ।

कुनै जमानामा आइएड (सिएड), बिएड र एमएड पढेको भन्दा समाजले आशावादी भएर हेथ्र्यो । अहिले सबैभन्दा कमजोरले पढ्ने विषयमा परिणत भयो शिक्षाशास्त्र । शिक्षक लाइसेन्सको परीक्षामा २९ प्रतिशत मात्र उत्तीर्ण, त्रिविको बोर्ड परीक्षामा पुग–नपुग २५ प्रतिशत उत्तीर्ण, एसइईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्णजस्ता तथ्यले शिक्षाशास्त्र संकायको उत्पादनलाई प्रश्न गरिरहेका छन् । अहिले शिक्षाशास्त्र संकायको पाठ्यक्रम र शिक्षण सिकाइ प्रक्रियामै शंका गर्नुपर्ने अवस्था आएको छ ।

एसइईको नतिजाले विद्यार्थी मात्र अनुत्तीर्ण भएका होइनन्, शिक्षकसँगै शिक्षाशास्त्र संकाय पनि अनुत्तीर्ण भएको छ । नतिजाले शिक्षकको क्षमतामाथि प्रश्न उठाउनेलाई बल दिएको छ । दलको झोला बोकेर हिँड्ने शिक्षकलाई सरकारले जिम्मेवार बनाउन नसकेको प्रस्ट भएको छ । स्कुल शिक्षा आफ्नो अधिकार क्षेत्र दाबी गर्ने स्थानीय सरकार शैक्षिक सुधारमा बेखबर छ । विद्यालय व्यवस्थापन समिति राजनीति गर्ने अखडा बनेका छन् । विद्यालय तहको पाठ्यक्रम, शिक्षण सिकाइ प्रक्रिया र मूल्यांकन प्रणालीमा कमजोरी छ । शैक्षिक वातावरण र व्यवस्थापन पक्ष खराब छ । यसले शिक्षा प्रणालीमाथि पनि प्रश्न उठाएको छ । प्रश्नबाट शिक्षाशास्त्र अध्यापन गर्ने विश्वविद्यालय पनि अछुतो छैन । आखिर यसले कस्तो जनशक्ति उत्पादन गरेछ त ? मुख्य प्रश्न यही हो । 

शिक्षाशास्त्रको उत्पादनमाथि अलि अगाडिदेखि प्रश्न उठेकै थिए । विगतमा शिक्षाशास्त्रमा पढैया विद्यार्थी भर्ना हुन्थे । कक्षाकोठामा ‘सेक्सन’ हुन्थे । विद्यार्थी नियमित हुन्थे । कुनै समयमा सबैभन्दा बढी चाप शिक्षाशास्त्रमै थियो । उच्च अंक र प्रतिशत भएकाहरू शिक्षाशास्त्र पढ्थे । शिक्षाशास्त्रको डिग्री लिएकाहरू समाजमा सम्मानित हुन्थे । शिक्षा पढेका वा तालिम लिएकालाई सरकारले शैक्षिक भत्ता दिन्थ्यो । शिक्षाशास्त्र पढ्न विशेष छात्रवृत्ति दिइन्थ्यो । ती सबै इतिहास भए अहिले । अहिले शिक्षाशास्त्र संकायमा पढैया विद्यार्थीको अनिकाल छ ।

शिक्षण रुचिको पेसा बनेन । शिक्षणमा आकर्षण भएन । भर्ना भएर प्रमाणपत्र लिने टुरिस्ट विद्यार्थीको संख्या बढ्यो । अरू जागिर नपाए मात्र शिक्षक बन्ने अवस्था सिर्जना भयो । अहिले पनि निजामती तथा अन्य सेवाभन्दा शिक्षक सेवामा सुविधामा विभेद छ । शिक्षकलाई निजामती कर्मचारीसरहसमेत सुविधा छैन । परिणामतः शिक्षण पेसाप्रति वितृष्णा बढ्यो । शिक्षण पेसामा क्षमतावान्हरू आएनन् । 

शिक्षाशास्त्रप्रति सरकारको दृष्टिकोण सकारात्मक भएन । यसलाई सरकारले झन् कमजोर बनायो । जुनसुकै विषयमा डिग्री लिए पनि १० महिनाको तालिमपछि शिक्षक बन्न सक्ने प्रावधान ल्याइयो । शिक्षाशास्त्र नपढे पनि लाइसेन्स दिइयो । सरकारका निर्णयले शिक्षाशास्त्र भत्कियो । शिक्षणलाई आकर्षक बनाउन खोजिएन । अरू विषय पढ्न नसक्ने र कहीँ नबिकेकाहरू शिक्षक बनेका छन् भन्ने भाष्य निर्माण हुँदा पनि शिक्षाशास्त्र संकायले त्यसको प्रतिरोध गर्ने, बहस चलाउने आँटसम्म गरेन ।

फलतः शिक्षाशास्त्र पढाइ हुने धेरै सम्बन्धन प्राप्त क्याम्पस–कलेज बन्द भए । सरकारी आंगिक क्याम्पसमा गुणस्तरीय विद्यार्थीको अभाव भयो । कक्षाकोठा खाली छन् । भर्ना भएकाहरू परीक्षा दिन मात्र आउँछन् । क्याम्पसहरू घिटिघिटी अवस्थामा छन् । प्राध्यापकहरू हाजिर गरेर मात्र हिँड्ने अवस्था आउनु सामान्य विषय होइन ।

गर्नुपर्ने केहो त ? 
—     शिक्षणलाई सम्मानित र आकर्षक पेसा बनाउनुपर्छ । अरूको भन्दा शिक्षणमा लाग्नेको तलब–सुविधा आधाभन्दा बढी हुनुपर्छ ।

—     शिक्षक सेवा आयोगभन्दा अन्य बाटोबाट शिक्षण पेसामा प्रवेशको ढोका खोल्नै हुँदैन । दलमा लागेर शिक्षक बन्ने प्रवृत्ति रोकिनुपर्छ । पार्टीका ‘झोले शिक्षक’बाट राष्ट्रका शिक्षक बन्नतिर लाग्नुपर्छ । अनि मात्र शिक्षकको सम्मान हुन्छ ।
—     सबैभन्दा राम्रा विद्यार्थीलाई शिक्षाशास्त्रमा आकर्षित गर्नुपर्छ । शिक्षाशास्त्र सबैको पहिलो रोजाइमा पर्नुपर्छ । सरकारले चाहँदा यो गर्न नसक्ने होइन । सरकारको एउटै निर्णयले सुधार हुन सक्छ ।

—     शिक्षाशास्त्र पढेकाहरू ‘पेडागोजी’मा मात्र होइन, विषयवस्तुमा पनि अब्बल हुनुपर्छ । शिक्षाशास्त्र संकायको शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउनुपर्छ । त्यो नसुधारिएसम्म स्कुल शिक्षामा सुधार हुँदैन । 

शिक्षाशास्त्र संकाय आफैँमा भद्रगोल छ । सामान्य औषधिले उसको उपचार सम्भव छैन । शल्यक्रिया नै गर्नुपर्ने अवस्था छ । बजारमा उसले उत्पादन गरेका जनशक्तिमाथि प्रश्न थिए, छन् । त्योभन्दा पेचिला प्रश्न आउँदा दिनमा उठ्नेछन् । विद्यालय तहमा शिक्षक अभाव हुनेछ । शिक्षाशास्त्र संकायमा पढैया विद्यार्थी नहुँदा क्षमतावान् शिक्षक पाइँदैनन् । यस्तो समस्याबारे सरकार र सरोकारवाला शिक्षा मन्त्रालय पक्कै अनभिज्ञ छैन । सुधारको पहल उसैले गर्नुपर्छ । 
(दाहाल त्रिविमा कार्यरत छन्)