
रोयल च्यालेन्जर्स बेंग्लोर १७औँ इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफबाट बाहिरिएको छ । राजस्थान रोयल्ससँग पराजित भएसँगै बेंग्लोरको यसपटक पनि उपाधि जित्ने सपना अधुरो रह्यो । आइपिएल इतिहासमा धेरैपटक प्लेअफमा पराजित हुने बेंग्लोर पहिलो टोली बनेको छ । अहिलेसम्म बेंग्लोरले प्लेअफमा १६ पटक प्रतिस्पर्धा गर्दा १० खेलमा हारको सामना गरेको छ । तीनपटक फाइनल पुग्दा पनि बेंग्लोरले उपाधि जित्न सकेन ।
प्लेअफमा दोस्रो धेरै खेल गुमाउनेमा चेन्नई सुपर किंग्स हो । चालू सिजनको साबिक विजेतासमेत रहेको चेन्नई पाँचौँ स्थानमा रहँदा प्लेअफसम्म पुग्न सकेन । २६ पटक प्लेअफ खेल्दा चेन्नई नौ खेलमा पराजित भएको छ । ११ प्लेअफ खेल्दा डेकन चार्जर्सले नौपटक हारको नतिजा निकाल्यो । यस सिजन पुछारमा रहेको मुम्बई इन्डियन्सले प्लेअफमा सात खेल गुमाएको छ । राजस्थानसँग फाइनल प्रवेशका लागि तयारी गरिरहेको सनराइजर्स हैदराबादले १२ पटक प्लेअफ खेल्दा सात खेलमा हारको सामना गरेको छ ।
सामसनले वार्नको कीर्तिमान बराबरी गरे
राजस्थानका सन्जु सामसनले कप्तानीका रूपमा टोलीलाई धेरै जित दिलाउने बराबरी गरेका छन् । २०२१ देखि कप्तानीको अवसर पाएका सामसनले राजस्थानलाई ३१ खेलमा जित दिलाएका छन् । उनले पूर्वकप्तान सेन वार्नको कीर्तिमान बराबरी गरेका छन् । वार्नले पनि आफ्नो कप्तानीमा राजस्थानलाई ३१ खेलमा जित दिलाएका थिए । उनकै कप्तानीमा राजस्थानले आइपिएल उपाधि जितेको थियो । राहुल द्रविडले आफ्नो नेतृत्वमा १८ जित र स्टिभ स्मिथले १५ खेलमा राजस्थानलाई जित दिलाए ।
आइपिएलमा कोहलीको आठ हजार रन
लगातार १७ सिजनमा ब्याटिङ अवसर पाएका बेंग्लोरका पूर्वकप्तान विराट कोहलीले बुधबार नयाँ रेकर्ड राखेका छन् । आइपिएलमा आठ हजार रन पूरा गर्ने उनी पहिलो खेलाडी बनेका छन् । उनले यस क्रममा दुई सय ५२ खेलमा आठ हजार चार रन जोडेका छन् । उनले आठ शतक तथा ५५ अर्धशतकीय इनिङ्स खेले । शिखर धवन सर्वाधिक व्यक्तिगत रन बटुल्ने खेलाडीको दोस्रो स्थानमा छन् । उनले दुई सय २२ खेलमा ६ हजार सात सय ६९ रन बनाएका छन् । उनले आइपिएलमा दुई शतक र ५१ अर्धशतकीय इनिङ्स खेलेका छन् ।
मुम्बईका रोहित शर्मा ६ हजार ६ सय २८ रनका साथ तेस्रो स्थानमा छ्न । उनले आइपिएलमा दुई शतक र ४३ अर्धशतकको योगदान दिए । अस्ट्रेलियन खेलाडी डेभिड वार्नरले एक सय ८४ खेलमा ६ हजार ५ सय ६५ रन जोडेका छन् । उनी चौथो स्थानमा छन् । उनले आइपिएलमा चार शतक र ६२ अर्धशतक बनाएका छन् । सुरेश रैना पाँचौँ स्थानमा रहँदा पाँच हजार पाँच सय २८ रन बटुलेका छन् । उनले आइपिएलमा दुई सय पाँच खेल खेल्दै एक शतक र ३९ अर्धशतक बनाए ।