Skip This
भ्रष्टाचारविरुद्ध सडकमा नागरिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ३१ आइतबार
  • Thursday, 19 September, 2024
अनिल यादव काठमाडाैं
२o८o बैशाख ३१ आइतबार o५:५o:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भ्रष्टाचारविरुद्ध सडकमा नागरिक

माइतीघरमा नारा : करोडौँको बंगला तिमीलाई कसले किन्दियो ? 

Read Time : > 2 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख ३१ आइतबार o५:५o:oo

नारायणचौरमा प्रहरीलाई फूलसहित धन्यवाद

शनिबार दिउँसो करिब १ बजे । भ्रष्टाचारको विरोधमा स्वस्फूर्त सडकमा उत्रिएका नागरिकको उपस्थितिले प्रहरी मुख्यालयनजिकैको नारायणचौर भरिँदै थियो । हातमा फूल र छातीमा प्ले कार्ड बोकेर नागरिकहरू प्रहरीलाई धन्यवाद दिँदै थिए । त्यही भिडमा मिसिए, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । 

लामिछाने ड्युटीमा खटिएका प्रहरीको समूहमा पुगे । एक प्रहरी हवल्दारलाई हातमा बोकेको फूल थमाउँदै भने, ‘धन्यवाद ! तपाईंमार्फत तपाईंको नेतृत्वलाई खुट्टा नकमाउन भन्दिनुस् । सलाम तपाईंहरूलाई !’ त्यसपछि शिरमा हात लगेर प्रहरीलाई सलामी ठोके । भ्रष्टाचारको विरोधमा सहभागी अन्यले उक्त सलामीको समर्थनमा ताली बजाए । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा ‘हाई प्रोफाइल’कै संलग्नता देखिएपछि यतिवेला नागरिकहरू स्वस्फूर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिन थालेका छन् । काठमाडौंको नारायणचौर र माइतीघरमा भएको शनिबारको प्रदर्शनमा सयौँको संख्यामा नागरिकहरू कुनै राजनीतिक दल या संस्थाको झन्डा नबोकी प्ले कार्ड र फूलसहित रचनात्मक विरोधमा उत्रिएका थिए । 

नारायणचौरमा भएको आन्दोलनमा एउटा टेबुलमाथि ‘धन्यवाद नेपाल प्रहरी’ लेखिएको ब्यानर राखिएको थियो । सहभागीले उक्त ब्यानरमा फूल चढाउँदै ड्युटीमा खटिएका प्रहरीलाई स्याबासी दिएका थिए । ‘नेपाल प्रहरीले मुुटु दह्रो बनाई शरणार्थी प्रकरणका दोषीलाई जसरी पनि कठघरामा ल्याउनुपर्छ भनेर विरोध कार्यक्रम गरिएको हो । यो कार्यक्रम भ्रष्टाचारको विरोधमा त हुँदै हो, सँगसँगै अहिलेसम्मको साहसका लागि प्रहरीलाई आभार प्रकट गर्न पनि हो । दोषीलाई कठघरासम्म पुर्‍याउन खुट्टा नकमाउनुस् भन्नलाई पनि हो,’ कार्यक्रमको व्यवस्थापन गरेका अभियानकर्ता विश्वदीप लामिछानेले बताए । 

कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, रास्वपा सभापति लामिछाने, सांसद असिम शाह, चिकित्सक गोविन्द केसीलगायत नागरिक अगुवा सहभागी थिए । उनीहरू चौरमा नागरिकसँगै बसेर विरोधमा सहभागी भएका थिए । विरोध कार्यक्रममा सहभागीले ‘किन पक्ष–विपक्ष, छानबिन गर निष्पक्ष’, ‘भ्रष्टाचारको रकम ब्याजसहित फिर्ता गर’लगायत नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए । 

अनुसन्धान ठीक ढंगले हुनेमा बाबुरामको आशंका 

विरोध कार्यक्रम सहभागी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक हस्तक्षेपका कारण नक्कली शरणार्थी प्रकरणको अनुसन्धान ठिक ढंगले हुनेमा आशंका व्यक्त गरे । गठबन्धन जोगाउनकै लागि प्रधानमन्त्रीले खुट्टा कमाउने हो कि भन्ने आशंका रहेको उनले पत्रकारहरूसँग बताए । ‘अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन दिँदैन,’ उनले भने, ‘यस्तो अवस्थामा अस्थिर सरकार भइसकेपछि गठबन्धन जोगाउनकै निमित्त दह्रोसँग कदम चाल्न नसक्ने आशंका छ । त्यही पनि आशा गरौँ, प्रधानमन्त्रीले खुट्टा कमाउनु हुनेछैन, दह्रोसँग टेक्नुहुनेछ ।’

एमाले नेता टोपबहादुर रायमाझी प्रहरी अनुसन्धानलाई सघाउनुको सट्टा फरार हुँदा यसले इमानदारितामा प्रश्न उठ्ने उनको भनाइ थियो । ‘राजनीतिमा इमानदारिपूर्वक काम गर्ने मान्छे हो भने त्यसरी भाग्नुहुँदैन । मिडियामा आएअनुसार त बिरामी हो भन्ने आएको छ । त्यो हो पनि भनेको भए भइहाल्थ्यो । जे भए पनि यो बेठीक नै हो,’ उनले भने । 

उनले भ्रष्टाचार रोक्न नागरिक खबरदारी महत्वपूर्ण रहने बताए । ‘सडक, सदन र सरकार तीनवटै क्षेत्रबाट निरन्तर प्रयत्न गरेर मात्रै भ्रष्टचार रोक्न सकिन्छ,’ उनले भने, ‘जे होस्, नक्कली शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढ्यो, धेरै राम्रो भयो । किन र कसरी, अनेक सिद्धान्त छन्, त्यता अहिले नजाऔँ । अब छानबिन राम्रोसँग होस् ।’

रवि लामिछानेले भने– यो सुरुवात हो, सफलता होइन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन सुरु गर्दैमा यसलाई सरकारको सफलता भन्न नसकिने बताए । नारायणचौरमा आयोजित भ्रष्टाचारविरोधी आन्दोलनमा पत्रकारसँग कुरा गर्दै उनले लाइनमा रहेका अन्य धेरै काण्डको अनुसन्धान भए मात्रै सरकारको सफलता मान्न सकिने बताए । ‘एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुन्छ,’ उनले भने, ‘त्यति धेरै पनि नलिऊँ होला । आशावादी हुनुपर्छ । धेरै काण्ड लाइनमा छन् । ती काण्डमाथि पनि अनुसन्धान होऊन्, अनि हेर्छौँ । सरकारले यसलाई सुरुवात बिन्दु मानेको हो भने स्याबास सरकार, तर यो रोकिनुभएन ।’ सरकारले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीलाई समेत कारबाहीको दायरामा ल्याउन सक्दा यो अन्तर्राष्ट्रियस्तरमा पनि देश चिनाउने नजिर बन्ने उनको भनाइ थियो । 

त्यस्तै, खबरदारी गर्न सडकमा आइपुगेका डा. गोविन्द केसीले नक्कली शरणार्थी प्रकरणको सत्य–तथ्य छानबिन गर्न सरकारले खुट्टा कमाउन नहुने बताए । सरकारले शीर्ष नेताहरूको पनि छानबिन गरी दोषी ठहरिए कारबाही गर्नुपर्ने उनको भनाइ थियो । ‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनुहुँदैन । छानबिन विस्तृत हुनुपर्छ, निष्पक्ष हुनुपर्छ,’ उनले भने, ‘शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरूलाई कारबाही हुुनपर्छ । देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ । शीर्ष नेता भ्रष्ट नभईकन ऊभन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ ।’

माइतीघरमा नारा : करोडौँको बंगला तिमीलाई कसले किन्दियो ? 

शनिबार नै काठमाडौंको माइतीघरमा समेत नागरिक स्वतस्फूर्त भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिए । ‘भ्रष्ट, नालायकविरुद्ध सबै एकजुट हुने दिन आयो, पार्टी, संस्था, वादलाई आफैँसित राखेर राष्ट्रका लागि उत्रिने वेला आयो,’ नारासहित बिहान ११ बजे सयौँको संख्यामा नागरिकहरू अगुवाहरू माइतीघरमा उपस्थित भएका थिए । 

उनीहरूले ‘करोडौँको महल तिमीलाई कसले किन्दियो’, ‘नेताहरूको घडीमा तस्करको ब्याट्री’, ‘सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछाडि हट्ने’, ‘भन्नेछौँ हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार’ लगायत नारा लेखिएका प्ले कार्ड बोकेका थिए । आन्दोलनमा डा. गोविन्द केसी, सांसद असिम शाह, विवेकशील साझाका मिलन पाण्डे, रञ्जु दर्शनालगायत सहभागी थिए । आन्दोलनमा सहभागीले भ्रष्टाचारको विरोधमा विभिन्न सांगीतिक प्रस्तुतिसमेत दिएका थिए ।