
संसारमा दैनिक नै सयौं मानिसको जन्म र मृत्यु हुन्छ । तर, जीवन र जगत बुझ्नमा अत्यन्त कमको मात्र रुची हुन्छ । रुची भएरमात्र पनि भएन, प्रयत्न हुनुपर्यो । प्रयत्नलेमात्र पनि के हुन्थ्यो, सफल हुने कुरा पनि निश्चित हुँदैन । भलै, सत्प्रयास खेर जाँदैन भन्ने सज्जनहरूको कथन छ । योगीहरू भन्छन, धर्तीमा मानव जन्मको दुर्लभ अवसर पाएर पनि अस्तित्वको खोजी नगर्नेहरू मूर्ख हुन् ।
नेपाल त तपोभूमि नै भयो । हिमालय पर्वतको यो सुन्दर भूमिमा अनन्त कालदेखि अनगिन्ती ऋषिमुनी, योगी र साधुसन्तले अध्यात्मिक खोजी गरे । यावत् हिमाली दर्शनको केन्द्र यही नेपाल हो । बुद्ध र सनातन वैदिक दर्शनको मूल जरो पनि यही हिमाली क्षेत्र नेपालमा विकसित हुन पुग्यो । अध्यात्मिक चेतनाको खोजीमा यस हिमाली क्षेत्रका हजारौंले सम्पूर्ण जीवन नै अर्पण गरेर गएका हुन् । र, त आजपर्यन्त पनि दर्शनका ठेली र त्यो पावन ज्ञानको अलौकिक रसस्वादन गर्ने अवसर पाएका छौं ।
यो भूमिलाई हजारौं योगीहरूले सिञ्चित गरेका छन् । खोजी पो गरेका छैनौं त ! नेपालका उच्च पहाडी र कुनै हिमाली क्षेत्र छैनन् होला जहाँ हाम्रा ऋषिमुनीहरूले अस्तित्वको खोजी नगरेका होउन्, ध्यान नगरेका होउन् ।
अध्यात्मिक क्षेत्र नेपालमा योगीहरूको साधना र अस्तित्व खोज अनवरत खोज जारी छ । यही अनवरत प्रवाहमा नेपालमा एक उच्चकोटीकी योगीनीको जन्म भएको थियो । उनी थिइन्, चम्फागिरी ।
स्याङ्जा जिल्लाको हाल विरुवा गाउँपालिका वडा नं. ४ को ओरष्टे गोफा (गुरुङ् लवजमा गुफालाई गोफा भनिन्छ) मा चम्पागिरीको जन्म भएको थियो, सय वर्षभन्दा अघि । अर्थात् १५ माघ १९७८ मा चम्पागिरीले धर्तीमा पाइला टेकेको अभिलेख छ ।
त्यसै क्षेत्रका पाका व्यक्ति र हाल नारायणेश्वर शिवजी गुठी व्यवस्थापन समितिका अध्यक्ष रहेका हेम प्रसाद गुरुङ (गोपाल), ७४, का अनुसार बाबु नारायण पुरी र आमा सोमवार गिरीको पुत्रीका रुपमा चम्फागिरीको जन्म भएको थियो । चम्पागिरीका ठूला दाजु पर्वत गिरी र साना दाजु मस्त गिरी थिए ।
चम्फागिरी आफ्नो साधनको प्रतापले धपक्कै बलेकी सिद्ध योगी थिइन् । मातापिता नै अध्यात्मिक साधक भएको विरासत हुनसक्छ, उनले पनि त्यही बाटोमा आफू हिँड्ने संकल्प गरेकी थिइन् । लामो समय सान्निध्यमा रही सेवा गरेका स्वामी गोकुलानन्द वेदान्ताचार्यका अनुसारमा चम्पागिरीमा अध्यात्मिक रुचीको यति गाढा भएको थियो कि १३ वर्षको कलिलै उमेरमा उनले सन्यास लिइन् ।
स्याङ्जा पुतलीबजारमा साधनारत धिरज गिरी महाराजबाट सन्यास दिक्षा लिएर चम्पागिरी कैलाश मानसरोवरको तीर्थयात्रामा निस्किइन् । नेपालको तत्कालीन समयमा चर्चित रहेको नाभीस्थानबाट चम्पागिरीले धरानको चतरासम्म तीर्थयात्रा गरेको वर्णन गुरुङ गर्छन् ।
नेपालको तीर्थयात्रा सकेपछि थप अध्यात्मिक प्रयत्नमा चम्फागिरी भारत यात्रामा निस्किइन्, १६ वर्षकै उमेरमा । हरिद्वारको जुना अखडामा चम्पागिरीले अध्यात्मिक अध्ययन र साधना गरिन् । यो त्यही अखडा हो, जहाँ उनका गुरु धिरज गिरीले साधना गरेका थिए । त्यतिबेला भारतको प्रमुखमा पर्ने यो अखडा आजपर्यन्त पनि उत्तिकै महत्वपूर्ण छ । जुना अखडामा अलकापुरी नामकी साधिकाले चम्फागिरीलाई शाष्त्राध्यायन, तपस्या, साधना इत्यादिको प्रशिक्षण दिइन् ।
गोकुलानन्द वेदान्ताचार्यका भनाइमा १० वर्ष जुना अखडामा साधना गरेपछि चम्फागिरीलाई त्यहाँ १००८ को उपाधिले विभुषित गरियो । यो उच्चतहको साधकलाई प्रदान गरिने उपाधि हो । जुना अखडामै चम्पागिरीले करिब १२ सय सन्यासी माताको प्रमुख रहेकी उनी बताउँछन् । ठूलो संख्याका माताहरूलाई लिएर उनले पाकिस्तानको हिङलाजसहित भारतका थुप्रै तीर्थस्थलको भ्रमण पनि गरिन् ।
जुना अखडामा दर्शन गर्न आउँदा उनको प्रताप र प्रभाव देखेर देहरादुनको तत्कालीन राजपरिवारले चम्फागिरीलाई आफूसँगै लिएर गए । र, राजपरिवारको गुरु नै थापे । जहाँ चम्फागिरीले चार वर्ष बिताएकी गोकुलानन्द बताउँछन् ।
यतिबेलासम्म चम्पागिरीको भारत बसाईँ लामो भइसकेको थियो । एक समय उनलाई आफ्ना गुरु धिरज गिरीको याद भयो । गुरुप्रतिको निष्ठाभावले अन्ततः उनी नेपाल फर्किइन् । करिब ३२ वर्षको उमेरमा चम्फागिरी नेपाल फर्किएकी थिइन् ।
स्याङ्जाको हाल पुतलीबजार नगरपालिका ४ मा गुरु धिरज गिरी छाप्रो बारेर बसेका थिए । चम्पागिरी त्यहीं आएर बुढ्यौली र शारिरीक अस्वस्थतामा गुज्रिरहेका गुरुको सेवामा लागिन् । त्यही ठाउँमा अहिले चम्पागिरी सन्यास आश्रम बनेको छ । यसपछि भने चम्पागिरी नेपालमै रहिन् । देशका विभिन्न स्थानमा तीर्थाटन र साधनामा तल्लिन रहिन् । यसका अतिरिक्त सनातन धर्म–दर्शनको प्रचारप्रसार र चेलाशिष्र्यको शिक्षदिक्षमा पनि उनले आफ्नो अमूल्य समय खर्चिएकी गोकुलानन्द बताउँछन् ।
नजिकबाट देख्नेचिन्नेहरू उनलाई एक अलौकिक अध्यात्मिक साधक मान्छन् । कलिलै उमेरदेखि अध्यात्मिक खोजीमा लागेर सिद्धी प्राप्त गरेकी चम्पागिरीको मृत्यु २६ चैत ०७० मा भएको थियो । जन्मेकै घरमा उनको विधिवत् समाधीक्रिया गरिएको थियो । चम्पागिरी जन्मेको ढुंगामाटोको घर आजसम्म पनि जस्ताकोतस्तै छ । चम्पागिरी जन्मेको मुख्य घर कम्तीमा पनि दुई सय वर्ष पुरानो रहेको नारायणेश्वर शिवजी गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल बताउँछन् । त्यसैले घर पुरातात्विक हिसाबले पनि महत्वपूर्ण रहेको उनको भनाइ छ । विरुवा गाउँपालिकाले चम्पागिरीबारे स्थानीय पाठ्यक्रममासमेत समेटेको उनले बताए ।
चम्पागिरीको निधनपश्चात उनी जन्मेको स्थानमा मड्किना गोफा निर्माण गरिएको छ । यसका अतिरिक्त नारायणेश्वर–शिवजी मन्दिर, चम्पागिरीको मातापिताको समाधी र यज्ञशाला इत्यादि पनि बनाइएको छ । चम्पागिरीको सान्निध्यमा लामो समय सेवा गरेका गोकुलानन्द भन्छन्, ‘चम्पागिरी अलौकिक अध्यात्मिक साधक हुनुहुन्थ्यो । उहाँसहित यस स्थानको प्रचारप्रसार जरुरी छ ।’