
गत साताको अर्को एक हिंसात्मक रातमा करिब चार वर्षीया भतिजीले मलाई एउटा प्रश्न सोधिन्, जुन म जीवनमा कहिल्यै बिर्सनेछैन । ‘यदि हामी सुतेकै वेला मर्यौँ भने आक्रमणका क्रममा लागेको चोटले दुख्छ र ?’ उनको प्रश्नले मलाई केहीबेर अलमलमा पार्यो । किनकि, त्यसको जवाफ मलाई आएन । दिनको उज्यालोभन्दा बढी मृत्यु देखेको बच्चालाई निद्रामा मर्नु दया हो भनेर कसरी भन्न सकिन्छ ?
त्यसैले मैले उनलाई भनेँ, ‘होइन, मलाई त्यस्तो लाग्दैन । त्यसैले अब हामी सुत्नुपर्छ ।’ उनले चुपचाप टाउको हल्लाइन् र भित्तातिर अनुहार फर्काइन् । उनले मलाई विश्वास गरिन् । उनले आँखा बन्द गरिन् । म अँध्यारोमा बसेर बम पड्केको सुन्दै सोचिरहेको थिएँ कि कति बालबालिकालाई जिउँदै गाडिएको छ । मेरा १२ जना भतिजा–भतिजी छन् । सबै नौ वर्षभन्दा कम उमेरका छन् । यो अँध्यारो समयमा उनीहरू मेरो सान्त्वना र आनन्दका स्रोत भएका छन् ।
तर, उनीहरूका आमाबाबुजस्तै उनीहरूलाई हाम्रो वरिपरि के भइरहेको छ भनेर बुझ्न र बुझाउन निकै संघर्ष गर्नुपरेको छ । हामीले उनीहरूसँग धेरैपटक झुट बोल्नुपरेको छ । उनीहरूले प्रायः हामीलाई विश्वास गर्थे, तर कहिलेकाहीँ उनीहरू हाम्रो आवाज वा हाम्रो हेराइमा केही डरलाग्दो भइरहेको महसुस गर्थे । उनीहरूले हावामा त्रास महसुस गर्थे ।
गत महिना युद्धविराम अन्त्य भयो । त्यसपछिको घटना केवल युद्धको पुनरावृत्ति मात्र थिएन, यो अझ क्रूर र निर्दयी थियो । तीन हप्ताको अवधिमा गाजा आगोको मैदान बनेको छ, जहाँ कोही पनि सुरक्षित छैन । दैनिक हुने नरसंहारले हाम्रो बाँकी रहेको आशा पनि चकनाचुर पारेको छ ।
गत महिना युद्धविराम अन्त्य भयो । त्यसपछिको घटना केवल युद्धको पुनरावृत्ति मात्र थिएन, यो अझ क्रूर र निर्दयी थियो । तीन हप्ताको अवधिमा गाजा आगोको मैदान बनेको छ, जहाँ कोही पनि सुरक्षित छैन । चौध सयभन्दा बढी पुरुष, महिला र बालबालिकाको हत्या गरिएको छ । दैनिक हुने नरसंहारले हाम्रो आशाको बाँकी रहेको भाग पनि चकनाचुर पारेको छ । तीमध्ये केही घर फर्किएका छन् । केही दिनअघि मात्र केही सडक विस्फोटको धुवाँ र रगतको गन्धले भरिएको थियो । इजरायली सेनाले गाजा सहरको अल–नखिल स्ट्रिटलाई निसाना बनाउँदा पाँच बालबालिकासहित ११ जनाको मृत्यु भयो ।
केही साताअघि विस्थापित परिवारलाई आश्रय दिने एक स्कुलमा इजरायली हवाई आक्रमण हुँदा कक्षाकोठा खरानीमा परिणत भयो । केही सेकेन्डमै कम्तीमा ३० जनाको मृत्यु भयो । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका थिए । राष्ट्र संघको झन्डाले सुरक्षा गर्छ भन्ने विश्वासमा सर्वसाधारण मानिस सुरक्षा खोज्दै उक्त स्कुल पुगेका थिए । स्कुल मेरो घरबाट मुस्किलले १० मिनेट टाढा छ । सोही दिन, नजिकैको फहद स्कुलमा पनि बम विस्फोट भयो । विस्फोटमा तीनजनाको मृत्यु भयो ।
एक दिनअघि जबलियामा एउटा डरलाग्दो दृश्य सार्वजनिक भयो । इजरायली आक्रमणले प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसंघीय राहत तथा सेवासम्बन्धी निकाय युएनआरडब्लुएद्वारा सञ्चालित क्लिनिकलाई लक्षित गरेको थियो, जहाँ द्वन्द्वपीडित नागरिकले आश्रय लिइरहेका थिए । आक्रमणमा क्षतविक्षत् भएका शरीरका अंग क्लिनिकभर छरिएका थिए । बच्चालाई जिउँदै जलाइएको थियो । एउटा शिशुको टाउको काटियो । जलेका मानिसको दुर्गन्धले बाँचेकाहरू निसास्सिएका थिए ।
हिंसाबिच गाजा सहरका केही भाग खाली गर्ने आदेश प्राप्त भयो । तर, उनीहरू कहाँ जाने ? किनकि, गाजामा कुनै सुरक्षित क्षेत्र छैन । उत्तर समतल पारिएको छ । दक्षिणमा बमबारी गरिएको छ । समुद्र एउटा जेल हो । बाटाहरू मृत्युका पासो हुन् । गाजामा हामीले महसुस गर्ने कुरालाई वर्णन गर्न डर सही शब्द होइन । डरलाई व्यवस्थापन गर्न सकिन्छ । डरलाई नाम दिन सकिन्छ । हामीलाई के महसुस हुन्छ भने डर एउटा निसास्सिएको मौन आतंक हो, जुन तपाईंको छातीभित्र बस्छ र कहिल्यै छोड्दैन । यो क्षेप्यास्त्रको प्रहार र विस्फोटबिचको क्षण हो ।
भग्नावशेषमुनिबाट बालबालिका रोएको आवाज आउँछ । हावासँगै रगतको गन्ध फैलिन्छ । विदेशी सरकार र राजनीतिज्ञले यसलाई ‘द्वन्द्व’ भन्छन् । ‘जटिल अवस्था’ । ‘त्रासदी’ । तर, हामी जेबाट गुज्रिरहेका छौँ, त्यो जटिल छैन । यो एउटा सामान्य नरसंहार हो । हामी जे भोगिरहेका छौँ, त्यो कुनै त्रासदी होइन । यो युद्ध अपराध हो ।
म एक लेखक हुँ । अनि पत्रकार । मैले महिनौँसम्म लेख्दै, दस्ताबेजीकरण गर्दै मेरा शब्दमार्फत संसारलाई बोलाउँदै समय बिताएकी छु । मैले विवरण पठाएकी छु । मैले अरू कसैले नसोचेका र नभनेका कथा भनेकी छु । तैपनि, धेरैपटक मलाई लाग्छ कि म शून्यतामा चिच्याइरहेको छु । तैपनि, म लेखिरहन्छु । किनकि संसारले हेरे पनि म हाम्रो सत्यलाई अकथित रहन कदापि दिनेछैन । किनकि मलाई विश्वास छ कि कोही सुनिरहेको छ । कहीँ कतै कसैले अवश्य सुनिरहेको छ । म लेख्छु किनभने म मानवतामा विश्वास गर्छु । म लेख्छु, ताकि जब इतिहास लेखिन्छ, अनि कसैले पनि थाहा थिएन भन्न नपरोस् ।
– अल जजिराबाट