१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 20 April, 2025
अर्वा महदवी
Invalid date format १o:२२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्रम्पलाई चुनेर पछुताएका छैनन् अमेरिकी मतदाता 

Read Time : > 2 मिनेट
अर्वा महदवी
नयाँ पत्रिका
Invalid date format १o:२२:oo
  • ट्रम्पका धेरै मतदाताका लागि मुख्य विषय आफ्नो पीडा नभई ‘इतर पक्ष’ बढी पीडित भए वा भएनन् भन्ने हो

अमेरिका अहिले आर्थिक र राजनीतिक उथलपुथलको सामना गर्दै छ । सेयर बजारमा गिरावट हुँदै छ, मूल्यवृद्धि तीव्र छ । संघीय कर्मचारीलाई रोजगारीबाट निकालिँदै छ र आप्रवासीलाई सडकबाटै पक्राउ गरिँदै छ । यी तमाम अव्यवस्थाबिच पनि डोनाल्ड ट्रम्पलाई मत दिने धेरैजसो मतदाताले पछुतो मानेका छैनन् । सञ्चार माध्यमले निराश ट्रम्प समर्थकका कथा प्रस्तुत गर्दै आए पनि पछिल्ला सर्वेक्षणले फरक तस्बिर देखाउँछन् । सिएनएनका रिपोर्टर ह्यारी एन्टेनका अनुसार ट्रम्पलाई मत दिएकामा पछुतो मान्ने मतदाताको संख्या निकै कम छ, अर्थात् यति थोरै कि पछुतो मान्ने समुह नै ‘मिडियाले सिर्जना गरेको धारणाजस्तो देखिन्छ ।’ म्यासाचुसेट्स एमहस्र्ट विश्वविद्यालयको सर्वेक्षणअनुसार सन् २०२४ मा ट्रम्पलाई मत दिएकामा पछुतो लागेको भन्ने केवल दुई प्रतिशत मतदाता छन्, जुन सन् २०१७ को ३.५ प्रतिशतभन्दा कम हो । अर्कातर्फ ७४ प्रतिशत ट्रम्प समर्थक अझै पनि आफ्नो निर्णयप्रति ढुक्क छन् । 

सर्वेक्षण सधैँ भरपर्दा नहुन सक्छन् । सन् २०२४ को चुनावअघि विश्लेषक ह्यारी एन्टनले कमला ह्यारिसको पक्षमा देखिएको प्रवृत्तिलाई ‘स्पष्ट संकेत’ भनेका थिए । तर, मार्क ट्वेनको भनाइ यहाँ सान्दर्भिक हुन्छ, अर्थात् ‘झुटका तीन प्रकार हुन्छन्– एक झुट, अर्को डरलाग्दो झुट र तेस्रो तथ्यांक’ । मतदातालाई ‘के तपाईंलाई पछुतो लागेको छ ?’ भनेर सोध्नु सजिलो छैन, अर्थात् यो प्रश्न ‘के तपाईं मुर्ख हो ?’ भनेर सोध्नु जस्तो हो । मतदाताले पछुतो लागेको छैन भने पनि उनी सन्तुष्ट नहुन सक्छन् । ट्रम्पको लोकप्रियता घट्दै छ र महँगी सबैका लागि चिन्ताको विषय बनेको छ ।

अमेरिकाजस्ता अत्यधिक ध्रुवीकृत देशमा धेरै मतदाताका लागि मुख्य कुरा आफ्नो पीडा नभई ‘इतर पक्ष’ थप बढी पीडित भए वा भएनन् भन्ने हो । ट्रम्पवादको सार सन् २०१९ मा भाइरल भएको एक भनाइबाट प्रस्ट हुन्छ । क्रिस्टल मिन्टन नामकी महिला, जसको सहर आँधी र ट्रम्प प्रशासनको नीतिबाट पीडित थियो, उनले ‘मैले ट्रम्पलाई भोट दिएँ, र उनी नै यो सब गरिरहेका छन् । मैले सोचेकी थिएँ उनी राम्रो गर्नेछन् तर अहिले त उनी जसलाई चोट दिनुपर्ने हो, उनीहरूलाई चोट दिइरहेका छैनन्’ भनेकी थिइन् ।

तर, अहिले ट्रम्पले त्यही वर्गका मानिसलाई चोट पुर्‍याइरहेका छन्, जसलाई उनका धेरै समर्थक पीडा दिन चाहन्छन् । उनी बदला लिने स्वर्गदूतझैँ देखिन्छन्, जुनसुकै समय पनि अमेरिकाको मौजुदा अवस्थाको दोष लगाइने ‘सम्भ्रान्त संस्था’लाई बलिको बोको बनाइएको छ र काल्पनिक दुस्मनलाई तारो बनाइँदै छ । उनले ‘वोक’ (प्रगतिशील एवं वामपन्थी विचार राख्नेलाई हियाएर बोलिने शब्द) भन्दै अमेरिकी मूल्यबाट टाढा भएको बताउँदै ठुला आइभी लिग भनिने विश्वविद्यालयको कोष कटौती गरेका छन् । उनले ट्रान्सजेन्डरलाई निसाना बनाएका छन् । र, चुनावी प्रचारको वाचाअनुसार आप्रवासी र प्रदर्शनकारीलाई पक्राउ गरेका छन् ।

ट्रम्पले केवल आफ्ना समर्थकलाई वाचा गरेका कुरा पूरा मात्रै गरेका छैनन्, उनी आफ्ना आलोचकलाई खिसीट्युरीपूर्ण इन्टरनेट मिममार्फत जिस्क्याइरहेका छन् । उनी चोटमा नुन छर्किरहेका छन् । कोभेन्ट्री विश्वविद्यालय (बेलायत)का समाजशास्त्री मार्कस म्यालोनीका अनुसार यो अमेरिकन राजनीतिमा ‘फोरच्यानिफिकेसन’ (अनलाइन मजाक र ट्रोल संस्कृतिको प्रभाव) भएको अवस्था हो । उदाहरणका लागि ह्वाइट हाउसको भ्यालेन्टाइन डेको पोस्ट ‘गुलाफ राता छन्, बैजनी निला छन् यदि तिमी गैरकानुनी रूपमा यहाँ आएका छौ भने हामी तिमीलाई निर्वासित गर्छौं’ भन्ने व्यहोरा लेखिएको थियो । यो सन्देश ट्रम्प र उनको सीमा सुरक्षा प्रमुख टम होम्यानका शिरमाथि आकर्षक अक्षरमा लेखिएको थियो । केही समयअघि पोस्ट गरिएको भिडियोमा त निर्वासनमा पठाइँदै गरेको व्यक्तिलाई देखाइएको थियो, जसमा ‘तिमीले घर जानैपर्ने भन्ने त छैन, तर यहाँ बस्न पनि सक्दैनौ’ भन्ने बोलको ‘सेमिसोनिक’ ब्यान्डको गीत बजाइएको थियो । यहाँ क्रूरता नै उद्देश्य देखिन्छ ।

ट्रम्पको वाचाअनुसार तारो बनाइएका सबैलाई चोट पुर्‍याइएको भए पनि पीडा उनका समर्थकले पनि भोगिरहेका छन् । ट्रम्पका केही वाल स्ट्रिट समर्थक विशेषतः भन्सार शुल्क वृद्धि नीतिले स्टक बजारमा ल्याएको अस्थिरताप्रति आक्रोशित छन् । लगानीकर्ता बिल एकम्यानजस्ता अर्बपतिले खुलेआम ट्रम्पको आलोचना गरेका छन् । तर, धेरै ट्रम्प समर्थकको जीवनमा सेयर बजारको उतारचढावको खासै प्रभाव छैन, किनभने अमेरिकामा शीर्ष १० प्रतिशत मानिससँग ९३ प्रतिशत स्टकको स्वामित्व छ । जब असमानता चरम बिन्दुमा पुग्छ, तब त्यस्ता मानिसको समूह तयार हुन्छ, जसका लागि गुमाउन केही हुँदैन र जसले पछुताउनुपर्ने कारण पनि कमै हुन्छ । उनीहरू प्रणाली नै ध्वस्त बनाउने इच्छामा हुन्छन् ।

यति भन्दै गर्दा ट्रम्प समर्थकलाई पछुतो हुँदैन भन्ने होइन । ट्रम्पको भन्सार शुल्क वृद्धि नीति त बल्ल सुरु मात्र भएको हो । उनी भाषणमा निपूण होलान्, तर उनका कट्टर समर्थकले पनि उनले खाद्यान्नको मूल्य घटाउने भने पनि ती मूल्य यथार्थमा बढिरहेका छन् भन्ने चाँडै महसुस गर्नेछन् । जब आधारभूत सामग्रीको मूल्य निरन्तर बढिरहन्छ, तब झुट बोलेर लामो समयसम्म जनतालाई झुक्याउन सकिन्न । त्यसवेला लिबरल (प्रतिद्वन्द्वी) लाई हराएको आनन्दभन्दा आफ्नो दैनिक जीवन धान्न नसक्ने पीडा गहिरो लाग्न थाल्नेछ ।

(महदवी गार्जियनकी स्तम्भकार हुन्) 
द गार्जियनबाट