
सिराहा नवराजपुर गाउँपालिका–३ जगतपुर दोनवारीगाउँकी करिब २५ वर्षीया आनन्दीदेवी सदायको मृत्युबारे छानबिन एवं अनुसन्धान गर्न गठित समितिका तीन सदस्य आइतबार घटनास्थलमा पुगेको छ। उक्त घटनको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयले तीनसदस्यीय छानबिन समिति गठन गरेको थियो।
प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइराला संयोजक रहेको समितिले दोनवारी गाउँ पुगेर मृतकका श्रीमान्, माइती, आफन्तलगायतसँग सोधपुछसहित अनुसन्धान गरेको हो।
एसएसपी कोइरालाको नेतृत्वमा प्रहरी निरीक्षक विक्रम साह र एकजना प्रहरी सहायक हवल्दार सदस्य रहेको समितिले महेशपुर पतारस्थित इलाका प्रहरी कार्यालयसँग पनि सोधपुछ गरेको छ। संयोजक कोइरालाले घटनाको विषयमा प्रारम्भिक सोधपुछ गरेको र अब अनुसन्धानात्मक रूपले अगाडि बढ्ने बताए। उनले भने, ‘घटनाको विषयमा एक चरण सोधपुछ गरेपछि मात्र अनुसन्धानात्मक चरणमा कानुनी लिखत तयार गर्नेसहित अन्य तथ्य प्रमाणका कुराहरू केलाउँछौँ।’
आनन्दीदेवी मृत्यु प्रकरणको छानबिन समितिका संयोजक रहेका एसएसपी कोइराला गत २७ माघमा सामूहिक बलात्कारपछि शंकास्पद अवस्थामा झुन्डिएको अवस्थामा मृत भेटिएकी नवराजपुर–१, भगवतीपुरकी करिब १७ वर्षीया रिंकु सदायको छानबिन समिति संयोजक थिए।
आरोपीहरू अझै परेनन् पक्राउ
गत ९ पुस बिहान करिब ११ बजेतिर छिमेकी बरियारपट्टी गाउँपालिका–१, कचनारी नरगीस्थित दिदी लक्ष्मीनिया सदायको घर जाने क्रममा गाउँनजिकै आनन्दीदेवी यौन दुर्व्यवहारमा परेकी थिइन्।
नवराजपुर–३ जगतपुर गाउँका अविवाहित संजीवकुमार यादव र दुई छोराछोरीका बाबु श्यामसुन्दर यादवले स्थानीय हरिनारायण यादवको बगैँचानजिक घेरा हालेर परालको टालनजिक पुर्याएर हातपात गर्नुका साथै लुगासमेत च्यात्दै बलात्कार प्रयास गरेका थिए।
त्यही दिन मृतककी आमा बिलटौनदेवीले छोरीसहित इलाका प्रहरी कार्यालय महेशपुर पतार पुगेर दुईजनाविरुद्ध जबर्जस्ती करणी उद्योग कसुरमा जाहेरी दिएकी थिइन्। महेशपुर पतार प्रहरीले उक्त जाहेरी २५ दिनपछि ४ माघमा दर्ता नम्बर ४० मा दर्ता भयो भन्ने पुर्जी दिएर पठाएलगत्तै पुनः बोलाएर जाहेरी गडबड रहेछ भन्दै खोसेर च्यातिदिएको पीडित परिवारको आरोप छ । त्यसपछि प्रहरीले सोही जाहेरी दुई महिना १६ दिनपछि गत २५ फागुनमा दर्ता गरी अनुसन्धान गरिहेको बताए पनि मुख्य आरोपी पक्राउ परेका छैनन् ।
त्यसबिचमा आरोपी संजीवका बाबु उपेन्द्र यादव, श्यामसुन्दरका बाबु शिवदत्त यादव, उनका आफन्तसमेत रहेका स्थानीय दलित उत्पीडित जनजाति आधारभूत विद्यालयका शिक्षक नरेन्द्र यादवलगायतले एक लाख रुपैयाँमा मिलापत्र गरी जाहेरी फिर्ता लिन दबाब दिँदै आएको मृतक परिवारले गुनासो गरेको छ। मुद्दा हेर्ने इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट दुई तीनपटक गाउँमा आएका प्रहरीले समेत मुद्दा लड्न सक्दैनौँ, मिलापत्र गर भन्दै दबाब दिएको मृतकी आमाले सुनाइन्।