१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:o७:oo
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

शास्त्रीय गायनतिर मोडिएका सन्तोष

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:o७:oo
  • कला र संगीतको आयाम अनि आयतन कति ?  कला र संगीत त जति पनि फैलिन सक्छ । यसो हुँदा कलाकार र संगीत साधकको फैलावटको सीमा नहुने रहेछ ।

सन्तोष श्रेष्ठलाई अधिकांशले सम्झिने पहिलो गीत हो– ‘तिमीले पराइ ठानेपछि, पराइ हुन के भयो र !’ लोकराज अधिकारीका शब्द तथा अञ्जु पन्त र शिशिर योगीको स्वरको यो गीतमा सन्तोषले धुन भरेका थिए । 

यसबाहेक पनि दर्जनौँ गीत उनका धुनमा र स्वरमा सजिएका छन्, जुन श्रोताका कानमा सदैव गुञ्जिरहन्छन् ।

‘आउँछु भनी निष्ठुरीले भर किन पार्नु ...’,
‘तिमीले भुल्न सके पनि मैले भुल्न सकिनँ भो ...’,
‘तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ ...’,
‘किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै ...’,
‘तिमीले हाँसो लुटी लग्यौ, रुँदैरुँदै बाँचेकी छु ...’,
‘तिमीलाई सञ्चो छैन भन्ने खबर पाएँ मैले ...’,
‘परेलीको वर्षातले छातीभित्र पहिरो गयो ...’

लगायत कैयौँ गीतमा धुन भरेर श्रोताका मन–मस्तिष्कमा वास जमाएका सन्तोष पछिल्लो समय गजल संगीत र गजल गायनमा सक्रिय छन् ।

जति उमेर उति नै एल्बम
आफ्नो उमेरजत्तिकै संख्यामा अर्थात् ४४ वर्षमा ४४ वटै गीति एल्बम सार्वजनिक गरिसकेका सन्तोषले हालसम्म ८०० जति लोक, आधुनिक गीत र गजलमा धुन भरेका छन् । लोकगीतबाट नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका सन्तोष समयक्रममा आधुनिक गीत हुँदै पछिल्लो सयम गजलतर्फ मोडिएका छन् ।

यही क्रममा उनले शास्त्रीय बहरबद्ध गजल एल्बम ‘शुभेच्छा’ बजारमा ल्याइसकेका छन् । घनेन्द्र ओझाको शब्द रहेको यस एल्बममा सन्तोषको एकल संगीत छ भने नेपाली गायनका चार पुस्ता समेटिएका सन्तोष बताउँछन् । ‘पहिलो पुस्ताबाट ज्ञानु राणा, दोस्रोबाट आनन्द कार्की, तेस्रोबाट म स्वयं, शिव परियार र निशा देशार तथा चौथो पुस्ताबाट अस्मिता अधिकारीको स्वर शुभेच्छामा समेटिएको छ,’ सन्तोष भन्छन् । सोही एल्बममा रहेको ‘परे म मर्छु भोकले, म दास बाँच्न सक्दिनँ/म खोज्छु मूल्य कामको, म लास बाँच्न सक्दिनँ’ बोलको गजल चर्चित छ ।

उनी अरूले गरेकै काम पनि फरक किसिमले गर्न सक्नुमा आफ्नोपन हुन्छ भन्ने मान्यता राख्छन् । सन्तोषले विश्वका ५० वटा भाषाका गीतमा संगीत गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नामसमेत दर्ज गराइसकेका छन् । 

संगीत यात्रा परिवर्तनबारे सन्तोष भन्छन्, ‘कला र संगीतको आयाम अनि आयतन कति ? पहिला यो बुझ्नुपर्ला । कला र संगीत त जति पनि फैलिन सक्छ । यसो हुँदा कलाकार र संगीत साधकको फैलावटको सीमा नहुने रहेछ ।’ उनको यो भनाइमा एक प्रकारको दर्शन छ– जीवनको आयतन अनि आयामसँग कला र संगीतलाई जोडेका छन् । 

भन्नुको अर्थ– मानिसको जीवनले लोक संगीत होस् वा आधुनिक, शास्त्रीय होस् वा भजन, रक होस् वा पप, सबै प्रकारका संगीतका शैलीलाई स्वाभाविक रूपले ग्रहण गरेको छ । यसर्थ, मानिसका रुचिअनुसार र समयक्रमअनुसारका कला र संगीतको विकास हुनु अन्यथा होइन भन्ने सन्तोषको बुझाइ छ ।

गजलमै किन यसरी लागिपर्नुभएको ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘गजल साहित्यको छोटो, कोमल हार्दिक, मुक्तकीय र हृदयस्पर्शी विधा हो । यसको शिल्प र संरचनाअनुसार गजलले खासमै गायकी खोज्छ । उर्दू, हिन्दीमा गजल गायनको लामो परम्परा भएर त्यहाँ अत्यन्त लोकप्रिय भइसके पनि नेपालमा सवा सय वर्षभन्दा बढी लेखिएको गजलले गायनमा खासै स्थान पाएको देखिएन । यही क्रममा अहिले बढेको शास्त्रीय गजल लेखन र गायनको माहोललाई अझ सशक्त बनाउने ध्येयले गजलमा आकर्षित भएको हुँ ।’

सन्तोषले ०८१ सालमा मात्र करिब आधा दर्जन एकल र सामूहिक गजल गायन गरेका छन् । काठमाडौंमा राधा कँडेल र घनेन्द्र ओझाका शब्दमा एकल गायन प्रस्तुत गरिसकेका छन् भने दाङमा सुशील गौतमका एकल शब्दमा र नारायण नेपाललगायत शब्दमा एकल प्रस्तुति दिइसकेका छन् । यसरी नै नेपाल गजल प्रतिष्ठानले आयोजना गरेका गजल गायनका कार्यक्रममा समेत सन्तोषले गायन प्रस्तुत गरिसकेका छन् ।

सन्तोषले समकालीन स्रष्टाका मात्र नभएर पुराना पुस्ताका स्रष्टाका गीत, गजललाई खोजेर संगीतबद्ध, स्वरबद्ध गर्ने अभियान पनि सुरु गरेका छन् । उनले शताब्दी पुरुषद्वय कविवर माधवप्रसाद घिमिरे र सत्यमोहन जोशीका गीतमा संगीत र स्वर भरेका छन् भने महाकवि लक्ष्मीप्रसाद देवकोटाको करिब सय वर्षअघिको गजल ‘आकाशमा शशी छन्...’ अनि कवि शिरोमणि लेखनाथ पौड्यालको गजल ‘हे मातृभूमि तिम्रा...’लाई संगीतबद्ध र स्वरबद्ध गरेका छन् ।

शास्त्रीय गजल गायनको स्वर्ण दशक अभियान
पछिल्लो समय सन्तोष शास्त्रीय गजल गायनको स्वर्ण दशक भनेर हिँडिरहेका छन् । यसलाई उनले नेपाली गजलको परिष्कारको चरणका रूपमा लिएका छन् । उनले भने, ‘अहिले नेपाली गजलमा परिष्कारको चरण हो । गजल परिष्कार अभियानकै रूपमा चलिरहेको छ । गजलको खास शास्त्रीयतामा रहेर गजल लेखिने क्रम बढेको छ, तर यस्ता शास्त्रीय तथा परिष्कृत गजलले संगीत र गायकी भेट्न सकेका छैनन् । यसकारण अबको नेपाली गजल लेखनमा मात्र नभएर गायनमा पनि परिस्कृत र विस्तृत भएर आउनुपर्छ भन्ने ठानेर अभियान घोषणा गरिएको हो ।’ गजलकार, गजल अभियन्ता घनेन्द्र ओझा र आफूले ०८०–०९० को एक दशकलाई ‘शास्त्रीय गजल गायनको स्वर्ण दशक’ घोषणा गरेको उनले सुनाए ।

स्वर्ण दशक अभियान घोषणा गरिए पनि यसका चुनौती पनि उत्तिकै रहेको उनको भनाइ छ । ‘पहिलो कुरा त लोक र सुगम संगीत बढी व्यावसायिक हुँदै गएको समयमा गजल संगीत र गायनमा होमिनु आफैँमा चुनौती हो,’ सन्तोष भन्छन्, ‘नेपाली संगीतमा गजल गायन व्यावसायिक हुन केही समय लाग्छ । यसका लागि सर्जक, संगीतकार गायक/गायिकामा धैर्य आवश्यक छ ।’

अभियानपछि नेपाली गजलले लेखनमा, संगीत र गायनमा पनि उर्दू, हिन्दीको उचाइतिर यात्रा गर्ने सन्तोषको विश्वास छ । उनी भन्छन्, ‘जब लेखनसँगै हामी गायनमा पनि परिष्कृत हुँदै जान्छौँ, तब नेपाली गजलले विश्व मञ्चमा दह्रो उपस्थिति अवश्य देखाउनेछ ।’ खासमा सन्तोष आफैँ पनि कुशल सर्जक हुन् । उनको ‘आँसु’ नामक गजलकृति, ‘अधुरो सपना’ लघुकथासंग्रह र ‘फरैना’ उपन्यास प्रकाशित छन् ।

५० देशका ५० भाषाका गीतलाई संगीत
१) नेपाली, २) हिन्दी, ३) जापानी, ४) चिनियाँ, ५) अंग्रेजी, ६) रुसी, ७) कोरियाली, ८) फ्रान्सेली, ९) स्पेनी, १०) इटालियन, ११) जर्मन, १२) थाई, १३) मौरिसियन, १४) उर्दु, १५) स्वेडिस, १६) क्रोसियन, १७) हेब्रु, १८) पोर्तुगाली, १९) बंगाली, २०) संस्कृत, २१) स्टोनियन, २२) भियतनामी, २३) डच, २४) सिंहाली, २५) स्लोभेनियन, २६) इन्डोनेसियन, २७) रुमानी, २८) फिनिस, २९) पेरुभियन, ३०) टर्किस, ३१) ग्रिक, ३२) फिलिपिनो, ३३) अल्बानियन, ३४) युक्रेनियन, ३५) अफ्रिकी, ३६) स्लोभाकिया, ३७) सर्बियाली, ३८) पानामियन, ३९) नर्वेजियन, ४०) आइसल्यन्डिक, ४१) बर्मेली, ४२) कोल्म्बियन, ४३) कुर्डिस, ४४) स्वाहिली, ४५) पोलिस, ४६) बोलिभियन, ४७) हंगेरियन, ४८) डेनिस, ४९) लात्भियन र ५०) आर्मेनियन