१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
रमेश सुवेदी काठमाडाैं
Invalid date format o८:१o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय महिला लुम्बिनी कप : सुदूरपश्चिममाथि आर्मीको सानदार जित

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:१o:oo

त्रिभुवन आर्मी क्लबले अन्तर्राष्ट्रिय महिला लुम्बिनी कप फुटबल प्रतियोगिताको शुक्रबार उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश क्लबलाई ४–० ले हराएको छ । नेपालगन्ज रंगशालामा आर्मीलाई जित दिलाउन अनिता लम्जेलले दुई गोल गरेकी थिइन् । हेमा चौधरी र तुलसा बोहराले समान एक गोल गरे । जितसँगै आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लब र भारतको सिलगुडी फुटबल संघको विजेतासँग ९ वैशाखमा प्रतिस्पर्धा गर्नेछ । पुलिस र सिलगुडीबिचको प्रतिस्पर्धा शनिबार हुनेछ । 

आर्मीका प्रशिक्षक चक्र तामाङले नेपालगन्जको मौसममा खेल्न गाह्रो भएको बताए । ‘हामीलाई यो मौसममा खेल्न निकै गाह्रो भयो, खेलाडी पनि थाकेको जस्तो देखियो,’ तामाङले भने, ‘हामीले गोल गर्न सक्यौँ, आगामी दिनमा अझै राम्रो गर्नेछौँ ।’ सुदूरपश्चिमका प्रशिक्षक यज्ञप्रसाद श्रेष्ठले विभागीय टोलीविरुद्ध राम्रो खेल्न नसकेको स्विकारेका छन् । ‘आर्मीविरुद्ध खेल्न त्यति सहज छैन, हाम्रा खेलाडीबिच तालमेल मिलेन,’ उनले भने, ‘खेलाडी अभाव हुँदा समस्या भयो ।’ 

तीन महत्वपूर्ण खेलाडीविना आर्मी
फागुन अन्तिम साता इलाममा भएको महिला गोल्डकप र चैतमा चितवनमा भएको प्रतियोगितामा आर्मी दोस्रो भएको थियो । लुम्बिनी कपमा आर्मी आफ्ना महत्वपूर्ण तीन खेलाडीविना नै सुदूरपश्चिमविरुद्ध खेल्यो । दीपा शाही, अमिशा कार्की र विमला चौधरी टोलीमा छैनन् । दीपाको चोट निको भएको छैन । अमिशा सहायक सेनानीको तालिममा छिन् । विमलाले आर्मीकै एक कोर्स गरिरहेको प्रशिक्षक तामाङले जानकारी गराए । मुख्य खेलाडीविना मैदानमा उत्रेको आर्मीले पहिलो हाफमा १–० को अग्रता लियो । 

अनिताले गरिन् दुई गोल
खेलको चौथो मिनेटमा आर्मीले १–० ले अग्रता बनायो । विमला विकले फ्रिकिकलाई सुदूरपश्चिमकी गोलरक्षक सुनौना चौधरीले नियन्त्रण लिन नसकेको फाइदा उठाउँदै अनिताले सहजै गोल गरिन् । खेलको ५१औँ मिनेटमा आर्मी २–० ले अघि रह्यो । अनिताले फ्रिकिकमा प्राप्त बलमा उत्कृष्ट गोल गरेकी हुन् । पोस्टभन्दा १८ यार्ड टाढाबाट पूर्णिमा टाडीले प्रहार गरेको फ्रिकिकमा अनिताले गोल गरेकी हुन् । खेलको ५५औँ मिनेटमा हेमाले आर्मीलाई ३–० को अग्रता दिलाइन् । शर्मिला थापाले मिलाएको बलमा हेमाले पेनाल्टी क्षेत्रबाट सहजै गोल गरिन् । खेलको ७७औँ मिनेटमा वैकल्पिक खेलाडी तुलसाले गोल गरेकी हुन् । सुदूरपश्चिमका खेलाडीले क्लियर गर्न नसकेको बललाई उनले डिबक्सबाहिरबाटै सानदार गोल गरिन् । 

पहिलोपटक आयोजना भएको लुम्बिनी कपमा बाँके ११, नेपाल एपिएफ, पुलिस, त्रिभुवन आर्मी, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम, रौतहट जिल्ला र भारतको सिलगुडी फुटबल क्लबले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएकोे प्रतियोगिताको विजेताले पाँच लाख पाँच हजार र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछन् ।