
एनसेलले पहिलोपटक दिनको ३० रुपैयाँभन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने नयाँ प्याक सञ्चालनमा ल्याएको छ । भ्वाइस सेवामा एनसेलले २८.३ देखि ५९९ रुपैयाँसम्म शुल्क पर्ने ६ वटा नयाँ प्याक सार्वजनिक गरेको छ, जसमा सात दिनका लागि मात्र रु. १९८ मा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ । यस प्याकमार्फत ग्राहकहरूले दिनको मात्र रु. २८.३ मा अनलिमिटेड भ्वाइस कल सेवाको फाइदा लिन सक्नेछन् ।
एनसेलबाट एनसेलमा कल गर्न टक टाइम चाहिने ग्राहकहरूले तीन दिनका लागि मान्य अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन्, जसको मूल्य मात्र रु. ५० रहेको छ । त्यसैगरी, रु. ५९९ मा ग्राहकहरूले ८४ दिन अर्थात् झन्डै तीन महिनासम्म प्रयोग गर्न मिल्ने ९९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
भारतमा फोन गरी सम्पर्कमा रहिरहनुपर्ने ग्राहकहरूलाई लक्षित गर्दै, एनसेलले रु. ४९ मा २८ दिनसम्म मान्य रहने इन्टरनेसनल लङ डिस्ट्यान्स (आइएलडी) प्याक सञ्चालन गरेको छ, जसअन्तर्गत ग्राहकहरूले भारतमा प्रतिमिनेट मात्र रु. २.९९ (करबाहेक)मा फोन गर्न सक्छन् । यो दर हाल लाग्दै आएको शुल्कभन्दा २५ प्रतिशत सस्तो हो । सस्तो शुल्कमा बढी मोबाइल डेटाको माग बढिरहेको अवस्थालाई ध्यानमा राख्दै, एनसेलले दुई आकर्षक प्याक सार्वजनिक गरिएको बताइएको छ ।
रु. ९९ पर्ने पहिलो प्याकमा ग्राहकहरूले तीन दिनसम्म अनलिमिटेड डेटा लिन सक्छन् भने २,४९९ शुल्क रहेको दोस्रो प्याकमा ग्राहकहरूले ८४ दिनसम्म अनलिमिटेड डेटाको फाइदा लिन सक्छन् । यसले अनलिमिटेड डेटाको प्रतिदिनको खर्च मात्र रु. २९.८ मा सीमित गरिएको छ ।