
लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको नौ महिनामा करिब ४० प्रतिशत बजेट खर्च गरेको छ । चैत मसान्तसम्ममा पुँजीगततर्फ जम्मा ३८ दशमलव ५६ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
समीक्षा अवधिमा चालूतर्फ यो अवधिमा ४१ दशमलव ७६ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारको चालू आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट रहेको छ । यो अवधिमा पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट रहेकोमा नौ अर्ब ४७ करोड ९७ लाख १४ हजार चार सय ८६ रुपैयाँ खर्च गरेको छ ।
त्यस्तै, चालूतर्फ १४ अर्ब ३८ करोड ४१ लाख बजेट रहेकोमा ६ अर्ब ७२ लाख १६ हजार दुई सय ७९ रुपैयाँ खर्च भएको छ । सो अवधिमा सबैभन्दा बढी पुँजीगत खर्च प्रतिशतका हिसाबले धेरै खर्च गर्नेमा स्वास्थ्य मन्त्रालय रहेको छ भने रकमका हिसाबले भौतक पूर्वाधार मन्त्रालय रहेको छ ।
आर्थिक वर्ष सुरु हुँदा कायम रहेका मन्त्रालयमध्ये केही मन्त्रालय गाभ्ने काम भएको थियो । मन्त्रालय गाभिए पनि खर्चको विवरण भने साउनमा कायम मन्त्रालयकै नाममा देखिएको छ । कात्तिक ४ गते मन्त्रिपरिषद बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभ्ने र युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको थियो ।