
वर्षौँसम्म सुकुम्बासी जीवन बिताएकी मकवानपुरको बकैया गाउँपालिका– ७ की ठुलीमाया भ्लोन हातमा जग्गाधनी प्रमाणपुर्जा पर्दा निकै हर्षित देखिन्थिन् । ७६ वर्षकी ठुलीमायालाई एक टुक्रा जग्गाको मालिक नभई मरिन्छ कि भन्ने लागेको थियो । तर, आइतबार भूमि समस्या समाधान आयोग मकवानपुर र बकैया गाउँपालिकाको पहलमा ठुलीमायासँगै ६१ जनाले जग्गाधनी पुर्जा पाए । ठुलीमाया पाँच कट्ठा १८ धुर जग्गाको मालिक बनेकी छिन् । आफूले खनजोत गरेको जग्गा नापी भएको दशकौँसम्म पनि लालपुर्जा हात नलागेपछि उनले जीवनकालमा जग्गाधनी पुर्जा पाइएला भन्ने आस नै मारेकी थिइन् । आइतबार भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको हातबाट जग्गाधनी प्रमाणपत्र पुर्जा पाउँदा उनी दंग थिइन् ।
ठुलीमायासँगै बकैया गाउँपालिका– ४ का २० र वडा नम्बर ७ का ४१ गरी ६१ घरपरिवारमा खुसी छाएको छ । बकैया– ७ कै मीनबहादुर सञ्जेलले ढिलै भए पनि जग्गाधनी पुर्जा पाउँदा खुसी लागेको बताए । ०२३ मा ललितपुरको भट्टेडाँडा छपेलीबाट बसाइँ सरेर बकैया आएका सञ्जेलको हजुरबुबाको पालासम्म जग्गा थियो । तर, बाढीपहिरो लागेपछि बुबाको पालादेखि नै सुकुम्बासी जीवन बिताउन बाध्य भएको उनी सुनाउँछन् । ‘हजुरबुबाको नाममा त जग्गा थियो, बुबाको पालादेखि भने थिएन । बाढीपहिरो लागेपछि ललितपुरबाट बसाइँ सरेर यहाँ आयौँ, धेरै वर्षसम्म लालपुर्जा पाइने आशामा बितायौँ । जग्गाधनी पुर्जा पाइन्छ भन्ने विश्वासै थिएन,’ ६८ वर्षीय सञ्जेलले भने, ‘चुनावका वेला सबैले लालपुर्जा दिन्छु भन्थे । यसपालि साँच्चै पाइयो । सरकारले हाम्रो कुरा पनि सुन्यो ।’
वर्षौँदेखि जग्गाको भोगचलन गर्दै आए पनि जग्गाधनी पुर्जा नहुँदा अनेक सास्ती व्यहोर्नुपरेको उनीहरूको अनुभव छ । बकैया– ७ का दीपक गिरीले जग्गाधनी पुर्जा नहुँदा व्यहोर्नुपरेको सास्ती सुनाउँदै भने, ‘जग्गा छैन भनौँ भने वर्षौँदेखि खनजोत गर्दै आएका छौँ, तर त्यसको उचित उपभोग गर्न कहिल्यै पाएनौँ । सानोतिनो व्यापार व्यवसाय गर्न वा कृषि ऋण लिन पनि जग्गाधनी पुर्जा नहुँदा समस्या भएको छ ।’
हातमा लालपुर्जा परेपछि बकैयाकी विष्णुमाया भ्लोनमा खुसीको सीमा छैन । सानै उमेरमा बकैया– ७ का बुद्धबहादुर भ्लोनसँग बिहे गरेर आएकी उनी श्रीमान्सँगै सुकुम्बासी जीवन बिताउन बाध्य थिइन् । तर, अहिले हातमा लालपुर्जा पाउँदा जीवनकै सबैभन्दा ठुुलो उपहार पाएको जस्तो भएको छ । ‘हामी पनि सुकुम्बासीबाट जग्गाधनी भयौँ,’ उनले भनिन्, ‘अब हामीले जस्तो हाम्रा सन्तानले सुकुम्बासी भएर हिँड्नुपर्दैन । थोरै भए पनि उनीहरूका लागि जग्गा भएको छ । मलाई जीवनमा सबैभन्दा ठुुलो उपहार पाएजस्तो भएको छ ।’
गाउँपालिकाका अध्यक्ष धर्म लामिछानेले पनि भूमि समस्या समाधान आयोग मकवानपुर सक्रियातामा जिल्लामै पहिलोपटक बकैयाबाट धनीपुर्जा वितरण सुरु गरेकोमा खुसी लागेको बताए । उनले गाउँपालिकाका थुप्रै नागरिकले वर्षौँदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको धनीपुर्जा नपाएर समस्या भोग्दै आएको बताए । नागरिकलाई जग्गाधनी पुर्जा दिने अधिकार आफूहरूसँग नभएर मात्रै चुप लागेर बस्नुपरेको उनको भनाइ थियो । गाउँपालिकाका अन्य वडामा पनि प्रक्रिया पुर्याएर छिट्टै धनीपुर्जा वितरणको वातावरण मिलाउन गाउँपालिकाले भूमिका खेल्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
भूमि समस्या समाधान आयोग मकवानपुरले बकैया गाउँपालिका वडा नम्बर ७ र ४ का ६१ भूमिहीन सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरणको गरेको हो । आयोग मकवानपुरका सदस्य कविन सांगामीका अनुसार वडा नम्बर ७ का ४१ र ४ नम्बर वडाका २० घरपरिवारलाई जग्गा धनीपुर्जा उपलब्ध गराएको हो । आयोगले वडाले प्रविष्ट गरेको विवरणमाथि छानबिन गरी भूमिहीन नागरिकलाई पुर्जा वितरणको गरिएको उनले बताए । नियमानुसार आवासीय क्षेत्रका लागि न्यूनतम एक कट्ठा र कृषि प्रयोजनका लागि अधिकतम पाँच कट्ठा १८ धुर जग्गा उपलब्ध गराइएको सदस्य सांगामीले बताए ।