कास्की र काठमाडौंको मुद्दामा छुटेपछि रास्वपा सभापति रवि लामिछानेविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि प्रहरीले मुद्दा दायरको प्रक्रिया अघि बढाएको छ ।
रुपन्देहीमा प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । बुटवलको सहकारीमा प्रहरीले मूल अभियोग गत वर्ष नै दायर गरेको थियो ।
चितवन र पर्सामा पनि पूरक अभियोगपत्र दायरको तयारी भइरहेको प्रहरी स्रोत बताउँछ । ती जिल्लामा लगेर यसअघि नै लामिछानेको बयान प्रहरीले लिइसकेको छ । मूल अभियोगमा सामान्य ठगीको मुद्दा मात्र दायर भएकोमा पूरक अभियोगमा भने संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरसमेत लगाइएको छ ।
सहकारीको ठगीमा संलग्न मुख्य आरोपीलाई पक्राउ र अनुसन्धानमा चासो नदिई गोर्खा मिडियामा जोडिएका आधारमा लामिछानेलाई केन्द्रित गरी अनुसन्धान भएकाले यसलाई रास्वपाले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै आएको छ ।