मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३ बिहीबार
  • Thursday, 16 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ ३ बिहीबार o६:१o:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्वर्णलक्ष्मीका सञ्चालकसँग तीन लाख धरौटी, प्रत्यक्ष नजोडिएका रविलाई भने ६० लाख

रविविरुद्ध रुपन्देही, चितवन र पर्सामा मुद्दा दायरको तयारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ ३ बिहीबार o६:१o:oo

रास्वपा सभापति रवि लामिछाने काठमाडौंमा पनि धरौटीमा छुटेका छन् । तर, स्वर्णलक्ष्मी सहकारीको बचत संगठित रूपमा ठगी गरेको अभियोगमा सञ्चालक र व्यवस्थापकलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालतले प्रत्यक्ष नजोडिएका लामिछानेसँग भने ६० लाख घरौटी मागेको छ । 

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गरेको उक्त आदेशअनुसार धरौटीको बैंक जमानत बुझाएर लामिछाने बुधबार न्यायिक हिरासतबाट रिहा भएका छन् । यसअघि २४ पुसमा अदालतले सोही मुद्दामा स्वर्णलक्ष्मीका निवर्तमान सञ्चालक समिति सदस्य कमल लामासँग तीन लाख र लेखा समिति सदस्य सुनिता नेवासँग चार लाख धरौटी मागेको थियो । हिरासतमा रहेका सञ्चालक लामा र लेखा समिति सदस्य नेवा छुटिसकेका छन् । तर, सहकारीको सञ्चालक, व्यवस्थापक, बचतकर्ता र ऋणी केही पनि नभएका लामिछानेसँग लामा र नेवाको भन्दा १५ गुणा बढी धरौटी मागेको छ । यही सहकारीको पूर्वसञ्चालक रहेकी कांग्रेस सांसद माया राईको भने तीनपुस्ते विवरण नखुलेको भन्दै मुद्दा नचलाउने निर्णय भएको थियो । 

धरौटीमा छुटेपछि रविको प्रतिक्रिया– यो देशमा न्याय मरेको छैन
सबैजनालाई धेरै–धेरै धन्यवाद ! म न्याय प्रक्रियामा सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु । न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायालयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन ।

स्वर्णलक्ष्मीको पैसा गैरकानुनी रूपमा गोर्खा मिडियामा गएकोमा लामिछाने सो मिडियाको सञ्चालक हुँदा खर्च गर्ने भूमिकामा रहेको भन्दै उनलाई पनि सो सहकारीको ठगीमा प्रतिवादी बनाइएको थियो । सरकारी वकिलको कार्यालयले मुद्दा अभियोजन गर्दा लामिछाने र जिबी राईको संयुक्त नाममा गाडी खरिद गर्न ऋणी खाता बनाइएको भन्दै सहकारीको सफ्टवेयरमा देखिएको नामलाई प्रमाणस्वरूप पेस गरेको थियो । तर, ऋण माग गरेको, केवाइसी फाराम, धितोलगायत कुनै पनि प्रक्रियामा लामिछाने संलग्न भएको प्रमण भने मिसिलमा देखिँदैन । लामिछानेले भने आफ्नो नाममा नक्कली ऋणी खाता खोलिएको दाबी गरेको बताउँदै आएका छन् । 

धरौटीमा छुटेपछि लामिछानेले काठमाडौं जिल्ला अदालत परिसरमा उपस्थित समर्थकलाई धन्यवाद दिँदै अदालतको सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । ‘म न्याय प्रक्रियामा सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु । न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायालयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन,’ उनले भने ।

पोखराको सूर्यदर्शन सहकारी मुद्दामा धरौटीमा छुटेपछि लामिछाने गत आइतबार आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । आइतबार उनको बयान भएकोमा सोमबार र बुधबार थुनछेक बहस भएको थियो । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा मुख्य आरोपीहरू भने अझै फरार छन् । 

रविविरुद्ध रुपन्देही, चितवन र पर्सामा मुद्दा दायरको तयारी 
कास्की र काठमाडौंको मुद्दामा छुटेपछि रवि लामिछानेविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि प्रहरीले मुद्दा दायरको प्रक्रिया अघि बढाएको छ । रुपन्देहीमा प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । बुटवलको सहकारीमा प्रहरीले मूल अभियोग गत वर्ष नै दायर गरेको थियो । 

चितवन र पर्सामा पनि पूरक अभियोगपत्र दायरको तयारी भइरहेको प्रहरी स्रोत बताउँछ । ती जिल्लामा लगेर यसअघि नै लामिछानेको बयान प्रहरीले लिइसकेको छ । मूल अभियोगमा सामान्य ठगीको मुद्दा मात्र दायर भएकोमा पूरक अभियोगमा भने संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरसमेत लगाइएको छ । सहकारीको ठगीमा संलग्न मुख्य आरोपीलाई पक्राउ र अनुसन्धानमा चासो नदिई गोर्खा मिडियामा जोडिएका आधारमा लामिछानेलाई केन्द्रित गरी अनुसन्धान भएकाले यसलाई रास्वपाले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै आएको छ ।