देशमै रोजगारी नहुँदा युुवाहरू बिदेसिने क्रम बढ्दो छ । रोजगारी अभावमै आफ्नो परिवारको भरणपोषण गर्न युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य छन । एकातर्फ बाध्यताले अरू मुलुकमा जाने युवाको लर्को एयरपोर्टमा छ भने अर्कोतर्फ आफ्नै देशमा रोजगारीको अवसर खोज्ने युवाहरू पनि छन् । तिनैमध्येका एक हुन्, सम्सी गाउँपालिका– ५, पोखरभिन्डाका रवीन्द्र ठाकुर । उनी तरकारी खेतीमा आफ्नो भविष्य उज्यालो पार्न तल्लीन छन् ।
पछिल्लो केही वर्ष महोत्तरीमै ठेक्कापट्टा गरेर जीविको चलाएका उनले काम अभावमा हातमुख जोर्नसमेत समस्या हुन थालेपछि बिदेसिने मन बनाए । तर, पुनः आफ्नो बिदेसिने सोचलाई परिवर्तन गर्दै आफ्नै देशमा केही गर्ने भन्दै निधो गर्दै तरकारी खेतीतर्फ होमिए । हालसम्म १५ लाख पुँजी लगाइसकेका रवीन्द्र बिस्तारै तरकारीबाट आम्दानी गर्दै छन् । पहिलो प्रयासमै उनले सफलताका साथ भान्टा, चिप्ले भिन्डी, बोडी, लौका, घिरौँला, हरियो केराउ, काँक्रो, परबल, खुर्सानी र टमाटरलगायतका तरकारी उत्पादन गर्न थालेका छन् । मनरा सिस्वा नगरपालिका–२, इटहर्वा कट्टीमा झन्डै सात बिघा जग्गा लिजमा लिएर उनले तरकारी खेती थालेका हुन् । लिजकै जग्गामा तरकारी उत्पादन गरिरहेका रवीन्द्रले पहिलो वर्षको प्रयासमै राम्रो उत्पादन भएपछि सन्तुष्ट छन् । बजारमा उनको तरकारीसमेत बिक्री भैरहेकोमा उनी ढुक्क छन् । उनले खेतीमा गरिएको लगानी सहजै निस्कने आशामा छन् । तर, भारतबाट आयात हुने तरकारीले नेपाली तरकारी व्यवसायमा केही असहजता ल्याएको पनि थप्छन् ।
हालसम्म कुनै अनुदान नलिएका रवीन्द्र सरकारको थोरै सहयोग पाए तरकारीमाथिको परनिर्भरता घटाउन सकिने बताउँछन् । उनी आफ्नै ठाउँमा अवसर रहेको बताउँदै अवसर खोज्नु आवश्यक रहेको थप्छन् । उनी आफ्नो व्यवसायकै कारण केहीले रोजगार पाएकामा अझै तरकारी खेतीसँगै केरा, उखु र कागती खेती विस्तार गर्ने सोचमा छन् । कुनै कार्यलाई सकारात्मक सोचका साथ गरे त्यो सफल हुने उनको विश्वास छ । ‘आफ्नो ठाउँको खेत बाँझो राखेर अरूको देशमा पसिना बगाउनुको सट्टा आफ्नै खेतमा पसिना बगाउँदा विदेशको जति नभए पनि सामान्य रूपमै भए पनि घरपरिवार चलाउन समस्या हुँदैन,’ उनले भने ।
मनरा सिस्वा नगरपालिकाले समेत नगरपालिकाभित्रका कृषकलाई वैज्ञानिक तरिका तथा विषादीमुक्त खेती गर्न प्रोत्साहित गर्दै आएको छ । पालिकाभित्रका कृषकलाई विभिन्न समयमा प्राविधिक ज्ञानसँगै आवश्यक बिउबिजन र औजार उपकरणहरू उपलब्ध गराउँदै आएको नगरप्रमुुख मोहन पाण्डेय बताउँछन् ।