१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २९ बिहीबार
  • Thursday, 14 November, 2024
२o८१ कार्तिक २९ बिहीबार १२:३८:oo
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

सकिए चाडपर्व, रित्तिए गाउँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २९ बिहीबार १२:३८:oo

दसैँ तिहारलगायत चाडपर्व सकिएपछि गाउँघर पुनः खाली हुन थालेको छ। मुगुका कोहि रोजगारीको शिलशिलामा छिमेकी मुलुक भारततिर लागेका छन् भने कोहि पढाई तथा रोजगारीको लागि काठमाडौं, नेपालगन्ज, सुर्खेत, धनगढी, पोखरालगायतका सहरीतिर ।

गाउँघरमा यतिबेला वृद्ध, अशक्त, बालबालिका र महिला मात्रै देखिन्छन्। छठ पर्वयता हरेक दिनजसो गाउँ छाडेर हिँड्नेको भिड देखिन्छ।

खत्याड गाउँपालिका–८ आम गाउँका ७६ वर्षीय सम्पत्ति कार्कीका दुई छोरा र एक बुहारी लामो समयदेखि रोजगारीको सिलसिलामा भारतमा छन्। उनी भन्छ्न्, ‘एउटा छोरा भारतमै बुहारी नाति–नातिनीसहित आफ्नै होटेल खोलेर बसेको छ। अर्को छोरा होलसेल पसलमा काम गर्छ।’

रोजगारीकै लागि बुधबार भारत हिँडेका खत्याड–८ आम गाउँका धनसुर बिक भेटिए। आफू  वर्षको एक–दुई पटक रोजगारीको लागि भारत जाने गरेको उनले सुनाए। भारतमा दुई–तीन महिना काम गर्दा खान, बस्न र बालबालिकालाई लत्ताकपडा किनेर केही पैसा बचाएर घर फर्कन सकिने उनी बताउँछन्। गाउँमा रोजगारी नहुँदा घरमा श्रीमती र छोराछोरी छोडेर परदेशिनु परेको बाध्यता उनले सुनाए। ‘यता वर्ष भरी काम गर्दा खान लाउन पुग्दैन, उता भारतमा दुई–तीन महिना काम गर्दा ५०–६० हजार रुपैयाँ बचाएर घर आइन्छ,’ उनले भने।

धनसुर एक प्रतिनिधि पात्र मात्रै हुन्। बुधबार मात्रै आम गाउँकै एक दर्जन युवाले गाउँ छोडेका छ्न्। खत्याड गाउँपालिका–८, १० र ११ बाट मात्रै सो दिन सय हाराहारीमा सर्वसाधारण बाहिरिए। उनीहरु सबैको व्यथा प्रायः उस्तै छ। स्वदेशमा रोजगारी  नपाउँदा घरपरिवार छाडेर भारी मन गरेर परदेश जानु यहाँको नियतिजस्तै बनेको छ।

तिहारयता खत्याड– ८ रिगागाउँबाट करिब एक सय हाराहारीमा सर्बसाधारण बाहिरिएका रिगा गाउँका स्थानीय नवराज जैशिले बताए। आफ्नो गाउँबाट मात्रै एक सातामा ३०–४० जना रोजगारीको लागि भारत र पढाइका लागि नेपालगन्जलगायतका सहर गएका उनी बताउँछन्।

एक सातायता खत्याड गाउँपालिकाका ११ वटा वडाका विभिन्न गाउँबस्तीबाट करिब चार–पाँच सय सर्वसाधारण कर्णाली पुल तरेर बाहिरिएको देखिएको मुगु र बाजुराको सिमानास्थित खत्याड गाउँपालिका– ८ झुगेलामा बस्ने लालबहादुर खत्रीले बताए। धेरैजसो विद्यार्थी अनि भारततिर रोजगारीको लागि जानेहरु रहेका उनको भनाइ छ।