१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २९ बिहीबार
  • Thursday, 14 November, 2024
२o८१ कार्तिक २९ बिहीबार o९:२५:oo
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्थानीय तह उपनिर्वाचन : दलहरूले अझै उम्मेदवार टुंगो लगाउन सकेनन्

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २९ बिहीबार o९:२५:oo

आगामी १६ मंसिरमा ३८ स्थानीय तह र दुई जिल्लाका जिसस प्रमुखसहित ४४ पदमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ । निर्वाचन आयोगका अनुसार जिल्ला समन्वय समिति प्रमुख दुई, नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष चार र ३४ वडाध्यक्ष गरी ४४ पदमा निर्वाचन हुन लागेको छ । जसमध्ये कांग्रेसले २७ स्थान, एमालेले आठ, माओवादीले सात, जसपाले एक र एक स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका रहेको सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । उपनिर्वाचनका लागि रास्वपासहित २५ दल दर्ता भएका छन् ।

कांग्रेसका पाँच उम्मेदवार टुंगो लाग्न बाँकी

कांग्रेसले उपनिर्वाचन हुन लागेका ४४ पदमध्ये पाँचबाहेकका स्थानको उम्मेदवारको टुंगो लगाएको छ । उपनिर्वाचन केन्द्रीय संयोजन समिति सदस्य मधु आचार्यका अनुसार कीर्तिपुर नगरपालिकाको मेयर, कीर्तिपुर १ र ४, काठमाडौं– १६ र ताप्लेजुङको सिरिजंगा– ३ का वडाध्यक्षबाहेकका उम्मेदवारको टुंगो लागेको हो । 

‘काठमाडौं, कीर्तिपुर र ताप्लेजुङको सिरिजंगाबाहेकका स्थानमा उम्मेदवार टुंगो लागेको जानकारी समितिलाई आएको छ ।अधिकांश स्थानमा सर्वसम्मत उम्मेदवार चयन भएका छन् । बाँकी स्थानको टुंगो लाग्ने क्रममा छ । विधानको व्यवस्थाअनुसार तल्लो तहबाटै उम्मेदवारको टुंगो लागेका छन्,’ आचार्यले भने । बुधबार महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिको बैठकमा प्रदेशगत अवस्थाबारे ब्रिफिङ गरिएको थियो । यस क्रममा उम्मेदवार छनोट तथा प्रारम्भिक अवस्थाबारे जानकारी लिइएको थियो । निर्वाचनमा गठबन्धन नगर्ने नीति अख्तियार गरेको कांग्रेसले केन्द्रबाटै रणनीतिको गृहकार्य थालेको छ । यसअघि निर्वाचनमा गठबन्धन गरेको कांग्रेसलाई यसअघि आफूले पाएको मत जोगाउने चुनौती देखेको छ । 

प्रमुख प्रतिस्पर्धी एमालेसहितका दलहरूले सबै क्षेत्रका उम्मेदवारको टुंगो लगाएर प्रचारप्रसार थालेका छन् । कांग्रेसले २० कात्तिकभित्र उम्मेदवारको टुंगो लगाउन परिपत्र गरेको थियो । तर, मुख्य प्रतिस्पर्धा हुने देखिएको कीर्तिपुर र काठमाडौं– १६ को टुंगो लगाउन सकेको छैन । सिरिजंगा– ३ भने उपनिर्वाचन घोषणा भएपछि पद रिक्त भएको हो । यद्यपि, यी तीनै स्थानमा यसअघि कांग्रेसले जितेको थियो । 

कीर्तिपुर नगर प्रमुखका लागि ११ आकांक्षीको नाम सिफारिस भएको छ । कांग्रेस कीर्तिपुरमा नगर सभापति कृष्णमान डंगोलका अनुसार वडा १ मा ६ जना र ४ नम्बरमा आठ नाम सिफारिस भएका छन् । तल्लो तहमा विवाद रोक्न आकांक्षीको नाम सिफारिस भए पनि केन्द्रमा नेताहरूबिच सहमति नजुट्दा उम्मेदवारको टुंगो लागेको छैन । नगर कार्यसमितिले डंगोल, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीता बोगटी, सशिर महर्जन, जनकलाल महर्जन, राममान सिंह, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस गरेको छ ।

उपनिर्वाचन हुन लागेको स्थानीय तहमध्ये कीर्तिपुर नगरपालिका मेयरका लागि निर्वाचन हुन लागेको एक मात्र नगर हो । उपत्यकाकै नगर भएकाले सबै दलको ध्यान यसतर्फ केन्द्रित छ । कांग्रेसमा मेयरका सिफारिस नगर कार्यसमितिले गर्ने, प्रदेश संसदीय समितिले निर्णय लिने र प्रदेश कार्यसमितिबाट अनुमोदन गर्ने व्यवस्था छ । कीर्तिपुरमा एमालेबाट केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धर, माओवादीबाट प्रा.डा. शिवशरण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुव महर्जन उम्मेदवार सिफारिस भएका छन् । राजमान महर्जनले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनीहरूले प्रचारप्रसार सुरु गरिसकेका छन् । 

कांग्रेस काठमाडौं महानगर सचिव सुशन वैद्यका अनुसार काठमाडौं– १६ मा इकाइ सभापति देवेन्द्र पाठकसहित १० जनाको नाम सिफारिस भएको छ । नगरका वडाध्यक्ष वडा कार्यसमितिले सिफारिस गर्ने, प्रतिनिधिसभा संसदीय समितिले निर्णय गर्ने र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट अनुमोदन गर्ने व्यवस्था छ ।

एमालेले टुंगो लगायो बहुसंख्यक स्थानमा उम्मेदवार

एमालेले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि बहुसंख्यक स्थानमा उम्मेदवार टुंगो लगाएको छ । उपमहासचिव प्रदीप ज्ञवालीले केही स्थानबाहेक धेरैजसो स्थानमा पार्टीले उठाउने उम्मेदवार टुंगो लागेको जानकारी दिए । 

कोशी प्रदेशमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वास, तेह्रथुमको लालीगुराँस गाउँपालिका– ८ मा बुद्धबहादुर लिम्बू, सुनसरीको गढी गाउँपालिका– ६ मा सन्तु उराऊ, झापाको कन्काई नगरपालिका– ६ मा तुलाराम बस्नेत, उदयपुरको बेलका नगरपालिका– ९ मा मनोज खड्कालाई एमालेले उम्मेदवार बनाएको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका– ५, उदयपुरको त्रियुगा नगरपालिका– १२ र ताप्लेजुङको सिरिजंगा गाउँपालिका– ३ मा भने टुंगो लाग्न बाँकी छ । 

मधेश प्रदेशको रौतहटको राजपुर नगरपालिका– ६ मा मोहम्मद नसिम अख्तर र गढिमाई नगरपालिका– ८ मा जिउतीदेवी यादव, महोत्तरीको रामगोपालपुर नगरपालिका– २ मा मोहम्मद सकिवल खानलाई उम्मेदवार बनाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४, धनुषाको धनुषाधाम नगरपालिका– १ मा टुंगो लाग्न बाँकी छ ।

बागमती प्रदेशमा दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पा, काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा डा. सुरेन्द्र मानन्धर र १ को वडाध्यक्षमा बद्री बुढाथोकी, ४ मा हर्ष महर्जनलाई एमालेले उम्मेदवार बनाएको छ । काठमाडौं महानगर– १६ मा लक्ष्मीरत्न मानन्धर, नुवाकोटको ककनी गाउँपालिका– २ मा यम तामाङ, मकावनपुरको हेटौँडा उपमहानगर– १२ मा राजेश नगरकोटी उम्मेदवार बनेका छन् ।

गण्डकी प्रदेशमा गोरखाको गोरखा नगरपालिका– ५ मा दुर्गामाया थापा राना, लुम्बिनीमा गुल्मीको मुसिकोट नगरपालिका– १ मा दलबहादुर थापा, रोल्पाको रुन्टिगढी गाउँपालिका– ४ मा वेगम पुन, बर्दियाको ठाकुरबाबा नगरपालिका– ४ मा विष्णुप्रसाद देवकोटा, रुकुम पूर्वको पृथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन तथा पृथाउत्तरगंगा– २ मा जीवन रोका, कपिलवस्तुको शुद्धोदन गाउँपालिका– १ मा अब्दुल मोजिव खाँ उम्मेदवार बनेका छन् ।

दैलेखको महाँबु गाउँपालिका अध्यक्षको उम्मेदवार चयन हुन बाँकी छ । दैलेखकै दुल्लु नगरपालिका– १३ मा लालबहादुर शाही चयन भएका छन् । कालिकोटको तिलगुफा– ४ मा ऐनबहादुर शाही, जाजरकोटको नलगाढ नगरको उपप्रमुखमा सुनिता बोहरा, जाजरकोटकै कुशे गाउँपालिका– ७ मा डम्बरबहादुर घर्ती, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ मा जुना रोकाय, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ५ मा अमृत खत्री, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा जाना शाहीलाई उम्मेदवार बनाएको छ । 

सुदूरपश्चिममा बझाङको सुर्मा गाउँपालिका– ४ मा चयन हुन बाँकी छ । डोटीको पूर्वीचौकी गाउँपालिका– ६ मा देवबहादुर थापा, दार्चुलाको दुहुँ गाउँपालिका– ५ मा मानसिंह बडाल र कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ मा बहादुर चन्द चयन भएका छन् ।

माओवादीले कीर्तिपुरमा टुंग्यायो उम्मेदवार
माओवादीले हालसम्म कीर्तिपुरको मेयर र दुई वडाध्यक्षको उम्मेदवार मात्र टुंगो लगाएको छ । अन्य उम्मेदवारको छिट्टै टुंगो लाग्ने नेताहरूले बताएका छन् । कीर्तिपुरको मेयरको उम्मेदवारमा प्रा.डा. शिवशरण महर्जन, वडा नम्बर १ को अध्यक्षमा अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षम इन्जिनियर नारायण विष्टलाई अघि सारेको छ । माओवादीले बुधबार घोषणा कार्यक्रम राखेको थियो । उम्मेदवार घोषणा गर्दै माओवादी बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पार्टीको स्थानीय तहबाट सर्वसम्मत रूपमा आएको सिफारिस जिल्ला र प्रदेशले अनुमोदन गरेको जानकारी गराए ।

घोषणा समारोहमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता–कार्यकर्तालाई निर्देशन दिए । ‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौँ । हामी बदलिन चाहन्छौँ, अवसर दिनुहोस् भनेर जनताको बिचमा जानुहोस् । टोल–टोल र घरघरमा पुग्नुहोस्,’ उनले भने । अन्य दलभन्दा माओवादी फरक शक्ति हो र सरकारमा भएका वेला माओवादीले हरेकपटक रूपान्तरणकारी काम गरेको उनले दाबी गरे ।

कीर्तिपुर नगरपालिका इतिहासदेखि नै वीरता र विद्रोहको केन्द्र भएको उल्लेख गर्दै उनले नयाँ कीर्तिमान कायम हुने बताए । ‘यहाँको इतिहास, वीरता र विद्रोहको सम्मान गर्दै नयाँ समृद्धिको अभियान सञ्चालन गर्न आवश्यक छ । सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा कीर्तिपुरले नयाँ कीर्तिमान कायम गर्नेछ,’ प्रचण्डले भने । 

रास्वपाले टुंगो लगायो १७ उम्मेदवार 
स्थानीय तहको १६ मंसिरमा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले १७ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी २७ स्थानको उम्मेदवार चयन प्रक्रियामा छ । पार्टीको विधानको धारा ७१ बमोजिम आकांक्षीबिच प्रारम्भिक निर्वाचन गरेर पार्टीका तर्फबाट आसन्न उपनिर्वाचनमा ‘घन्टीवाहक’ उम्मेदवार चयन गरिएको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । 

बुर्लाकोटीका अनुसार रास्वपाले दैलेखको महाबु गाउँपालिका अध्यक्षमा प्रकाशकुमार बुढा, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा पार्वती पुन, दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा गोमा श्रेष्ठ र हुम्लाको सार्केगाड गाउँपालिका उपाध्यक्षमा सुजता फडेरा (थापा)लाई उम्मेदवार बनाएको छ । 

वडाध्यक्षतर्फ काठमाडौं महानगरपालिका– १६ मा रोजिना श्रेष्ठ, मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १२ मा आशा वीरबल, ताप्लेजुङको सिरिजंगा– ३ मा देवीप्रसाद पौडेल, तेह्रथुमको लालीगुराँस नगरपालिका– ८ मा सञ्जीव खड्कालाई उम्मेदवार बनाएको छ । सुनसरीको गढी गाउँपालिका– ६ मा शशीकुमार साहु, ओखलढुंगाको मोलुङ गाउँपालिका– ५ मा विष्णुप्रसाद पोखरेल, उदयपुरको त्रियुगा गाउँपालिका– १२ मा ध्रुवप्रसाद पोखरेल, बेलका नगरपालिका– ८ मा तेजमान विश्वकर्मा, धनुषा धनुषाधाम नगरपालिका– १ मा पुरुषोत्तम यादव, महोत्तरी रामगोपालपुर नगरपालिका– २ मा राजेशकुमार शर्मा, गुल्मीको मुसिकोट नगरपालिका– १ मा विकास थापा, दैलेखको दुल्लु नगरपालिका– १३ मा रामबहादुर शाही, कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ मा रामदत्त भट्ट उम्मेदवार बनेका छन् । रास्वपाले सभापति रवि लामिछाने हिरासतमा रहेकाले उपनिर्वाचनमा भाग लिन पार्टीका तर्फबाट मनोनयन गरिने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई दिने निर्णय गरेको छ । 

राप्रपामा पनि १७ उम्मेदवारको टुंगो
राप्रपाले आगामी १६ मा हुने स्थानीय तह उपनिर्वाचन सबै ठाउँमा उमेदवारी दिने भइको छ । कसैसँग तालमेल नगर्ने नीति लिएको राप्रपाले अधिकांश उम्मेदवार टुंगो लगाएको छ । हालसम्म कोशी प्रदेशमा झापाको कन्काई नगरपालिका–६ नारायणप्रसाद निरौला, सुनसरीको गद्दी गाउँपालिका–६ कविताकुमारी उराव, तेह्रथुमको लालीगुराँस नगरपालिका– ८ मा रत्नबहादुर श्रीपाली र ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा चन्द्रमणि दाहाललाई उम्मेदवार बनाएको छ ।

मधेशमा सप्तरीको डाक्नेश्वर नगरपालिका–१ मा सतिषकुमार चौधरी र सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ मा रामकुमार यादव, बागमती प्रदेशमा काठमाडौं महानगर–१६ मा श्यामकृष्ण श्रेष्ठ, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा मनकुमारी श्रेष्ठ, काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखमा ध्रुव महर्जन, कीर्तिपुर–१ मा सुरेन्द्र उप्रेती, कीर्तिपुर–४ मा बिजेश बस्नेत र मकवानपुरको हेटौंडा उपमहानगर–१२ मा प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ ।

लुम्बिनी प्रदेशमा गुल्मीको मुसीकोट गाउँपालिका–१ मा ईश्वरी खाती, रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा पहलबहादुर वली र कपिलवस्तुको शुद्धोधन नगरपालिका–१ मा इम्तियाज अहमद, कर्णालीमा कालीकोटको तिलागुफा नगरपालिका– ४ मा जुद्धबहादुर शाही र सुदुरपश्चिममा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षान सुनादेवी थापालाई उम्मेदवार बनाएको छ ।