१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २५ आइतबार
  • Wednesday, 13 November, 2024
गणेश लम्साल विराटनगर
२o८१ कार्तिक २५ आइतबार ११:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिबिए, एलएलबी र एलएलएमको पढाइ सञ्चालन गर्दै मनमोहन विश्वविद्यालय

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ कार्तिक २५ आइतबार ११:२o:oo

मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ पनि स्नातक  र स्नातकोत्तरमा पढाइ सुरु गर्ने भएको छ। विश्वविद्यालयले विराटनगरमा कलेज स्थापना गरेर यही मंसिरदेखि पठनपाठन सुरु हुने गरी स्नातकतर्फ बिबिए, एलएलबी र स्नातकाेत्तर तर्फ अपराधशास्त्रमा एलएलएम कक्षा सुरु गर्ने तयारी पूरा गरेको हो ।

 स्नातकतर्फ नेपालमै पहिलोपटक बिबिए, एलएलबीको पाठयक्रम निर्माण गरेर पढाइ सुरु गर्न लागेको विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले जानकारी दिए । ‘व्यवस्थापन विषयसँगै कानुनमा दक्ष जनशक्ति उत्पादन गर्न हामीले नयाँ नमुना कोर्स निर्माण गरेर पठनपाठन सुरु गराउन लागेका हौँ,’ उपकुलपति पोखरेलले भने । 

उपकुलपति पोखरेलका अनुसार बिबिए, एलएलबीको कोर्स पाँच वर्षको हुनेछ। विद्यार्थीहरूले अति न्यून शुल्क चार लाख ५० हजारमै कोर्स पूरा गर्न पाउनेछन् । मनमोहनले नयाँ कोर्सअनुसार कानुन पढ्न चाहने विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था पनि गरेको छ । महिला, दलितलगायतलाई ४५ सिटको कोटामध्येबाट १० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । 

बिबिए, एलएलबी कोर्समा सैद्धान्तिक नभएर बढी प्रयोगात्मक शिक्षामा जोड दिइनेछ । यो विषय पढ्ने विद्यार्थीले आफैँ अनुसन्धान र सर्भे गर्नदेखि डिजिटल अपराधबारे पनि प्रयोगात्मक ज्ञान पाउनेछन् । यसैगरी खरिद प्रक्रियाबारे पनि विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिइनेछ । विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेका अनुसार नयाँ कोर्सअनुसार बिबिए, एलएलबी र एलएलएमतर्फ कानुनी शिक्षा पढाउन विदेशबाट समेत विज्ञ शिक्षकहरू ल्याइनेछ । 

कानुन पढ्न चाहने विद्यार्थीहरूले यही कात्तिक मसान्तभित्र अनलाइनमार्फत आवेदन दिइसक्नुपर्नेछ । कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनमा हालसम्म सिभिल र इलेक्टोनिक्स एन्ड इलेक्ट्रिक इन्जिनियरिङमा स्नातक, बिफर्मातर्फ स्नातक र अस्पताल व्यवस्थापनतर्फ स्नातकोत्तरको पढाइ सुरु गरिसकेको छ ।  

०७६ मा स्थापना भएको यो विश्वविद्यालयले १० वर्षभित्र तीनवटा  स्कुलअन्तर्गत  विभिन्न २८ विषयमा पिएचडीसम्मको पठनपाठन गराउने लक्ष्य लिएको छ ।