सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँगै अन्य पाँच सहकारीको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालत लगिएकाे छ ।
लामिछानेलाई प्रहरीले चौथोपटक म्याद थपका लागि अदालत लगेको हो । प्रहरीले लमिछानेलाई २ कात्तिकमा काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याएको थियो । त्यसपछि ४ गते पहिलोपटक ६ दिन, दोस्रोपटक ८ कात्तिकमा सात दिन र तेस्रोपटक २० कात्तिकमा १० दिन म्याद थप गरेको थियो ।
लामिछानेसँगै प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी र अन्य दुईजनालाई समेत म्याद थपका लागि आजै अदालतमा पेस गर्दै छ । । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई चौथो र जोशीलाई छौटाैँपटक म्याद थपका लागि अदालत उपस्थित गराइँदै छ ।
जोशीलाई प्रहरीले ६ असोजमा काठमाडाैंबाट पक्राउ गरी पोखरा ल्याएको थियो । जोशीलाई यसअघि पहिलोपटक पाँच, दोस्रोपटक सात, तेस्रोपटक २०, चौथोपटक सात र पाँचौँपटक १० दिन म्याद थप गरिएको थियो ।
लामिछाने र जोशीसँगै प्रहरीले गुल्मी जिल्ला मुसिकोट नगरपालिका– ४ घर भई हाल ललितपुर महानगरपालिका– १५ खुमलटार बस्ने वर्ष ३२ की लीला पछाईसँगै नेचर हर्ब्स इन्टरनेसनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं सेयरधनी तनहुँस्थित भानु नगरपालिका- ८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई प्रहरीले म्याद थपका लागि अदालत लैजाने लागेको हो ।
पछाईलाई १५ असोजमा प्रहरीले पक्राउ गरेको थियो । सहकारीबाट गैरकानुनी रूपमा गितेन्द्रबाबु राई (जिबी) सँग मिलेमतो गरी तीन करोडभन्दा बढी रकम आफ्नो बैंक खातामा लगी चल–अचल सम्पत्ति खरिद गर्ने र सेयर कारोबारमा लगानी गरेको भेटिएपछि प्रहरीले पछाईलाई पक्राउ गरेको थियो । खनाललाई प्रहरीले ९ कात्तिकमा काठमाडौं महानगरपालिका– ३ पानीपोखरीबाट पक्राउ गरेको थियो ।
संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियासँग जोडिएका गितेन्द्रबाबु राई (जिबी), पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको थियो ।
समितिको सिफारिस कार्यान्वयन गर्न गृह मन्त्रालयले ६ असोजमा प्रहरी प्रधान कार्यालयलाई निर्देशन गरेको थियो । सोही निर्देशनपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पोखराको सूर्यदर्शन, बुटबलकाे सुप्रिमसहित पाँच सहकारीबाट ६५ करोड रुपैयाँ अवैध रूपमा गोर्खा मिडियामा आएको समितिको प्रतिवेदनमा उल्लेख छ । समितिले कारबाही सिफारिस गरेका चारमध्ये जिबी फरार छन् भने अन्य तीनजना प्रहरी थुनामा छन् ।