१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 20 April, 2025
मञ्जु टेलर काठमाडाैं
Invalid date format o९:o८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्वास्थ्यमन्त्रीले सार्वजनिक गरे सयदिने उपलब्धि : स्वास्थ्य बिमाको दायरा पाँच लाख पुर्‍याउने र औषधिको मूल्य घटाउने

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:o८:oo

संघीय अस्पतालको सेवा पहिलेभन्दा केही व्यवस्थित भएको छ । आगामी दिनमा पूर्ण सुधार महसुस हुुनेछ । हामी सुधार गर्दैछौं । नागरिकलाई महसुस गराएरै छाड्छौं ।

स्वास्थ्य बिमाको दायरा पाँच लाख रुपैयाँ पुर्‍याउने र औषधिको मूल्य घटाउने प्रतिबद्धतासहित स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सयदिने उपलब्धि सार्वजनिक गरेका छन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले बिमाको दायरा पाँच लाख रुपैयाँ पुर्‍याउने विषयमा मन्त्रालयका सचिवहरूले बृहत् अध्ययन गरिरहेको र डा. शम्भु आचार्यको संयोजकत्वमा समिति बनेर थप अध्ययन भइरहेको उनले बताए । सबै औषधिको मूल्यसमेत आफ्नै कार्यकालमा घटाउने उनले प्रतिबद्धता जनाए ।

मन्त्री पौडेलले आमनागरिकको स्वास्थ्य पहुँच पुग्ने गरी स्वास्थ्य बीमा सुधार आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै यसलाई सुधार गरेर लैजाने दिशामा प्रगति भइरहेको दावी गरे । उनले हालसम्म भएका सुधारले पनि नागरिकको स्वास्थ्य पहुँचमा फरक पारिसकेको बताए । ‘संघीय अस्पतालको सेवा पहिलेभन्दा केही व्यवस्थित भएको छ,’ उनले भने, ‘आगामी दिनमा पूर्ण सुधार महसुस हुुनेछ । हामी सुधार गर्दैछौं । नागरिकलाई महसुस गराएरै छाड्छौं ।’

मन्त्री पौडेलले सय दिनमा भएका प्रगति १६ बुँदामा सार्वजनिक गरेका छन् । जसमा स्वास्थ्यकर्मी समायोजनमा रहेको अलमल हटाइएको, स्वास्थ्यका उपकरणको अभिलेखीकरण राख्न सुरु गरिएको, पहिलोपटक विषयगत समितिको बैठक राखेको, जनस्वास्थ्य समितिको क्रियाशीलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोगको प्रयास भएको उल्लेख गरेका छन् । यस्तै, आगामी पुस्ता निरोगी पुस्ताको लक्ष्यअनुरूप विभिन्न कार्यक्रममा सुधार थालिएको, उपचारात्मक सेवा विस्तार र विकासअन्तर्गत सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार भएको, भक्तपुर क्यान्सर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नति गरिएको, हरेक प्रदेशमा कम्तीमा एक अस्पतालबाट मुटुरोग उपचारको सेवा सुरु गर्ने योजनाबमोजिम सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सहयोगमा मधेश प्रदेश र गण्डकी प्रदेशमा सेवा सुरु भएको, सबै संघीय अस्पतालमा दुई सिफ्ट ओपिडी सेवाको सुरुवात भएको जस्ता प्रगति भएको मन्त्रीले बताए । साथै, संघीय अस्पतालहरूमा टोकन प्रणाली विस्तार भएको, नरदेवी आयुर्वेद चिकित्सालयमा ‘सिटी स्क्यान’ सेवा सुरु गरिएको, सबै संघीय अस्पतालको रेडियोलोजी विभागबाट जारी हुने प्रतिवेदनलाई ‘डिजिटलाइजेसन’को प्रक्रिया सुरु गरिएको र हालसम्म सरकारी अस्पतालमा मात्र न्यूनतम सेवा मापदण्ड लागू भएकोमा निजी अस्पताल तथा मेडिकल कलेजमा समेत न्यूनतम सेवा मापदण्ड लागू भएकोलगायत उपलब्धि सय दिनमा भएको उनले बताए ।

मन्त्री पौडेलले देशमा दक्ष चिकित्सक अभाव पूर्ति हुने गरी स्नातकोत्तर तहमा हाल वार्षिक एक सय १३ जना अध्ययन गराइरहेका सरकारी अस्पतालमा चार सय अध्ययन गराउन सक्ने गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट भएको निर्णय ऐतिहासिक भएको बताए । सिंहदरबार वैद्यखानाबाट हाल १३ किसिमका आयुर्वेद औषधि उत्पादन भइरहेकामा अब ४० किसिमका औषधिको उत्पादनको तयारी गरिएको पौडेलले बताए ।