१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ५ शनिबार o७:३३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चितवनले भित्र्यायो तेस्रो विदेशी खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार o७:३३:oo

चितवन शक्तिले एभरेस्ट महिला भलिबल लिग प्रतियोगिताका लागि तेस्रो विदेशी खेलाडी भित्र्याएको छ । चितवनले शुक्रबार रसियाकी अपोजिट हिटर अन्ना डिमित्रीभालाई अनुबन्ध गरेको हो । यससँगै चिवतनले लिगको प्रावधानअनुसार तीन विदेशी खेलाडीको कोटा पूरा गरेको छ । यसअघि चितवनले भारतीय मिडलब्लकर सूर्या सरसुरी र स्पाइकर केपी अनुश्रीलाई अनुबन्ध गरेको थियो । अन्ना चितवनको तेस्रो विदेशी खेलाडी हुन् ।

पहिलोपटक अनुबन्ध गरेको अजरबैजानकी केन्सिया पावेल्नीको केही कारण बस टिममा आउन नसक्ने भएपछि चितवनले अर्की खेलाडीलाई उनको स्थानमा प्रतिस्थापन गर्न लागेको हो । २१ वर्षीया अन्ना ६.२ इन्च उचाइ भएकी दायाँहाते स्पाइकर हुन् । उनी पहिलोपटक नेपालमा खेल्न आउन लागेकी हुन् । उनको उपस्थितिले टिम थप बलियो हुने र प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने विश्वास चितवनले जनाएको छ । चितवनका लागि नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीका रूपमा रहेकी छिन् । 

खेलाडी छनोट गर्दै 
चितवनले ७ असोजमा लिगका लागि ट्यालेन्ट हन्ट गर्ने भएको छ । चितवन– २२ को पटहिनी कभर्ड हलमा खेलाडी छनोट हुनेछन् । छनोटका लागि चितवनका प्रमुख प्रशिक्षक अर्जुन घिमिरे र मार्कीसँगै राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणाले निर्णायकको भूमिका खेल्नेछन् । चितवनमा आबद्ध हुन स्थानीय बासिन्दा हुनुपर्नेछ । कुनै पनि उमेरको हदबन्दी नभएको महिला खेलाडी हुनुपर्नेछ । खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने चितवनले जनाएको छ । छनोटबाट आएका एकजना खेलाडी लिगमा सहभागी हुनेछन् । 

ललितपुरले ट्यालेन्ट हन्टबाट खेलाडी राख्ने 
यसैगरी, ललितपुर क्विन्सले ५ असोजमा लिगका लागि ट्यालेन्ट हन्ट गर्ने भएको छ । जावलाखेल भलिबल तालिम केन्द्रमा ट्यालेन्ट हन्ट सुरु हुने जनाएको छ । क्लबका मुख्य प्रशिक्षक उत्सव खड्कालगायत व्यवस्थापकीय टोलीले एकजना उत्कृष्ट खेलाडी छनोट गर्नेछन् । लिगको नियमावलीअनुसार सहभागी टोलीमा १२ खेलाडी रहन्छन् ।