१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १५:३५:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

११ वर्षसम्म अलपत्र कमला पुल चुनावी एजेन्डामा समेत अटाएन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३५:oo

धनुषाको कमला नगरपालिका– ५ मरानका श्रीदेव महतो गाउँमा दूध संकलन गरी सिराहा बजार आइपुग्छन्। डब्बामा सय लिटर दूध संकलन गरी उनी मोटरसाइकल हुइँकाउँदै सिराहा बजार आइपुग्छन्। करिब सात किलोमिटरको दूरीमा रहेको सिराहा बजार आउन झन्डै आधा घन्टा लाग्छ। वर्षायाम भने उनलाई झनै समस्या थपिन्छ। धनुषाबाट सीमावर्ती भारतीय बजार जयनगर पुगेर लामो यात्रा गर्दै दूध लिएर सिराहा आउनुपर्छ।

श्रीदेवसँगै कमला– ५ लक्करका रामबाबु यादव पनि दूध बेच्न सिराहा आउँछन्। उनले सिराहाको डेरी, चियापसल र मिष्ठान्न पसलमा दैनिक ८० लिटर दूध बेच्दै आएका छन्। रामबाबुलाई पनि वर्षातको वेला दूध बोकेर आउन निकै सास्ती खेप्नुपर्छ। वर्षातमा नदीमा पानी भरिभराउ हुँदा काठे नाउसमेत बन्द हुन्छ। पुल नहुँदा उनीहरूलाई भारत पुगेर सिराहा आउनुपर्ने बाध्यताको विकल्प छैन। उनले भने, ‘कमला पुल नबन्दा वर्षातमा धेरै गाह्रो हुन्छ। ३० मिनेटमा पुग्न सकिने सिराहा बजार पुग्न दुई घन्टाभन्दा समय बढी लाग्छ।’

यता, अर्नामा गाउँपालिका– ५ कृष्णपुरका इन्द्र यादव जलेश्वरस्थित एक वित्तीय संस्थामा काम गर्छन्। सुक्खा याममा प्रायः शुक्रबार घर फर्किने उनलाई वर्षातको वेला जलेश्वरबाट भिट्टामोड–भारतीय गाउँ हुँदै जयनगरबाट सिराहा आउनुपर्छ। वर्षातका वेला उनी एक–दुई महिनामा मात्र घर फर्किने गरेको बताउँछन्।

सिराहा र धनुषालाई कमला नदीले छुट्याउँछ। मधेसको ‘लाइफलाइन’ मानिएको हुलाकी राजमार्गअन्तर्गत सिराहाको बसपिट्टा र धनुषाको साघारासम्म कमला नदी फैलिएको छ। नदी वारिपारि दुवै जिल्लाका स्थानीयले नदी पार गर्न समस्या भोग्दै आएका छन्। रोजगार, सम्बन्ध, शिक्षा, स्वास्थ्यका दृष्टिकोणले पनि धनुषातर्फका स्थानीयको केन्द्र सिराहा बजार नै हो। तर, कमला नदीमा वर्षौँदेखि पुल निर्माण नहुँदा सास्तीसँगै कृषि उपजलाई बजार लैजानसमेत कठिन छ।

११ वर्षसम्म निर्माण पूरा भएन
कमला नदीमा चार सय ७० मिटर लामो पुल निर्माण गर्न पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्डर्स जेभीले २४ करोड ९० लाख रुपैयाँमा ०६८ जेठ ३१ मा सम्झौता गरेको थियो। तीन वर्षभित्र निर्माण सक्ने गरी सम्झौता गरे पनि ११ वर्ष पूरा भइसकेको छ।

अन्तिमपटक म्याद थप गर्दा ०७८ फागुन ३० सम्म निर्माण सक्नुपर्ने भए पनि निर्माण पूरा नहुँदै ०७८ असार १७ मा पुलको पायर (पाया) भासिन पुग्यो। त्यसको तीन महिनापछि कात्तिक ३ मा अर्को पायर पनि भासियो। जसले गर्दा ११ वर्षदेखि निर्माण भइरहेको यो पुल कहिले पूरा हुन्छ भन्ने अन्याेल छ।

निर्माण कम्पनीले सम्झौता गरेअनुसार निर्माण पूरा नगर्दा पनि २३ करोड १९ लाख १४ हजार रुपैयाँ आयोजनाबाट भुक्तानी पाइसकेका छन्। तर, अलपत्र पुलका कारण स्थानीयले सास्ती व्यहोरिरहेका छन्।

उम्मेदवारको चुनावी एजेन्डासमेत बनेन
प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरू भोट माग्न नागरिकको घरदैलो चहार्दैछन्। कमला नदीको पुल सिराहा क्षेत्र नम्बर ३ र धनुषा क्षेत्र नम्बर २ को सीमामा पर्छ। ०७४ मा सिराहाबाट प्रतिनिधिसभामा एमालेबाट लीलानाथ श्रेष्ठ र धनुषाबाट तत्कालीन संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया निर्वाचित भएका थिए। दुवैजना संघीय सरकारको मन्त्रीसमेत बने। अहिले पुनः सोही क्षेत्रहरूमा एमालेबाट श्रेष्ठ र जसपा परित्याग गर्दै लोसपा पुगेर एमाले प्रवेश गरेका अरगरिया प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन्।

यद्यपि, कमला पुल र यस क्षेत्रका नागरिकको जनजीविकाको विषय उम्मेदवारहरूको एजेन्डा बन्न सकेको छैन। सिराहा ३ बाट एमाले उम्मेदवार श्रेष्ठसँगै सत्तारूढ गठबन्धनबाट माओवादीका विश्वनाथ साह र जनमत पार्टीका इन्जिनियर दिनेश यादव प्रतिस्पर्धामा छन्। धनुषा २ बाट अरगरियासँगै पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका रामकृष्ण यादव, जसपाका आनन्द यादव र पूर्वमन्त्री एवं एकीकृत समाजवादीका रामचन्द्र झा उम्मेदवार बनेका छन्।

उम्मेदवारहरूले मतदातालाई राष्ट्रिय राजनीतिका कुरा सुनाएर आफ्ना लागि मत माग्दै छन्। घरदैलो अभियानमा ‘बकम्फुसे’ योजना बाँडिरहेका उम्मेदवारले स्थानीय स्तरका समस्या सम्बोधन गर्न नसकेको स्थानीय युवा अरुण गुर्मैता बताउँछन्।  उनले भने, ‘जनजीविकासँग जोडिएको कमला नदीको पुल निर्माण र हुलाकी सडक सञ्चालन कसैको प्राथमिकतामा छैन।’