१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
कमल खत्री मुस्ताङ
Invalid date format o६:१५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मुस्ताङका उम्मेदवारको कोरला नाका सञ्चालन मुख्य एजेन्डा

Read Time : > 2 मिनेट
कमल खत्री, मुस्ताङ
नयाँ पत्रिका
Invalid date format o६:१५:oo

हिमालपारिको जिल्ला मुस्ताङमा चिसो बढ्दै गए पनि चुनावी माहोल भने तात्दै गएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका युवा नेता योगेश गौचन थकाली र निवर्तमान सांसदसमेत रहेका एमाले उम्मेदवार प्रेम तुलाचनबीचको प्रतिस्पर्धाले माहोल तातेको हो । दुवै उम्मेदवार घरदैलो र चुनावी सभामा जुटेका छन् । मुख्य प्रतिस्पर्धी कांग्रेसका २९ वर्षीय गौचन र एमालेका ६१ वर्षीय तुलाचनले कोरला नाका सञ्चालनलाई प्रमुख मुद्दा बनाएका छन् । प्रतिनिधिसभामा चार र प्रदेश सभामा पाँचजना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेश सभा (क)मा एमालेका इन्द्रधारा विष्ट र गठबन्धनबाट कांग्रेसका नम्डु गुरुङबीच प्रतिस्पर्धा हुँदै छ । त्यसैगरी प्रदेश सभा (ख)मा कांग्रेसका विकल शेरचन, एमालेका चन्द्रमोहन गौचन र राप्रपा नेपालबाट कर्मा डोल्कर गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको नतिजाले मुस्ताङमा एमाले बलियो देखिएको छ । जिल्लाका पाँच गाउँपालिकामध्ये एमालेले चार पालिका अध्यक्षसहित तीन उपाध्यक्ष र कांग्रेसले एक पालिका अध्यक्षसहित दुई उपाध्यक्ष जितेको थियो । स्थानीय निर्वाचनमा अध्यक्ष पदमा एमालेका उम्मेदवारले चार हजार एक सय २६ मत प्राप्त गर्दा कांग्रेसका अध्यक्षका उम्मेदवारले तीन हजार ९१ मत पाएका थिए । उपाध्यक्ष पदमा एमालेका उम्मेदवारले तीन हजार सात सय २० मत पाएका थिए भने कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवारले तीन हजार दुई सय २६ मत प्राप्त गरेका थिए । 

करिब ११ हजार मतदाता
मुस्ताङमा गत स्थानीय तह निर्वाचनमा भन्दा चार सय ७२ नयाँ मतदाता थपिएका छन् । स्थानीय निर्वाचनमा कुल १० हजार चार सय ८५ मतदाता रहेकोमा यसपटक मुस्ताङको कुल मतदाता संख्या १० हजार नौ सय ५७ पुगेका छन् । जसअन्तर्गत प्रदेश (क)मा तीन हजार पाँच सय ४१ मतदाता र प्रदेश (ख)मा सात हजार चार सय १६ जना मतदाता रहेका छन् । मुस्ताङमा रहेका २५ वटै वडामा गरी ३९ मतदान केन्द्र र एक अस्थायी मतदानस्थल तोकिएको छ । 

सीमावर्ती क्षेत्रका मतदानस्थलको निरीक्षण
मुस्ताङको सीमावर्ती क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्रको अनुमगन तथा निरीक्षण गरिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहितको सुरक्षा टोलीले सीमावर्ती क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्रको निरीक्षण गरेका हुन् । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका विभिन्न स्थानमा पर्ने मतदानस्थल र मतदान केन्द्रको अनुमगन गरिएको प्रजिअ शर्माले जानकारी दिए । मतदानस्थल र मतदान केन्द्रको भौगोलिक अवस्था, सुरक्षा चुनौती, यातायातको पहुँच, मतदाताका समस्यालगायत विषयमा जानकारी लिएको थियो । 

कोरला नाका सञ्चालन र पर्यटन साझा एजेन्डा
मुस्ताङका मुख्य प्रतिस्पर्धी उम्मेदवारहरूले विकास, पर्यटनसँगसँगै कोरला नाका सञ्चालनका विषयलाई साझा चुनावी एजेन्डा बनाएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनालाई पूर्णता दिने, कोरला नाकालाई नियमित सञ्चालनमा ल्याउनेदेखि पर्यटनको हब बनाउने एजेन्डालाई उम्मेदवारहरूले प्राथमिकताका साथ उठाएका छन् । वर्षको सीमित समयमा अन्तर्देशीय मेला हुने समयमा मात्र सञ्चालन हुने नाका कूटनीतिक पहल गरी नियमित सञ्चालनको पहल गर्ने उम्मेदवारको प्रतिबद्धता छ । 

उपल्लो मुस्ताङका मतदाता बेँसी झरे
चिसो बढेसँगै उपल्लो मुस्ताङका स्थानीय बेँसी झरेका छन् । चिसो अत्यधिक हुने भएपछि त्यहाँका स्थानीयले चिसोबाट जोगिन र व्यापारसमेत गर्न केही बेँसी झरेका छन् भने केही छिमेकी जिल्ला र भारतसम्म पुगेका छन् । जिल्ला छाडेका उपल्लो मुस्ताङवासीले विभिन्न ठाउँमा घुम्ती व्यापार गर्ने गर्छन् । बेनी, बाग्लुङ, पोखरा, काठमाडौंलगायत ठाउँसम्म पुगेका स्थानीयलाई उम्मेदवारले चुनावमा मतदानका लागि यातायातको बन्दोबस्त मिलाएर उपल्लो मुस्ताङमै लैजाने गर्छन् ।

हेलिकोप्टरमार्फत पुर्‍याइयो मतपत्र
मुस्ताङका लागि आवश्यक पर्ने निर्वाचन सामग्री हेलिकोप्टरमार्फत ढुवानी भएको छ । निर्वाचन आयोगले नेपाली सेनाको हेलिकोप्टरबाट मतपत्र, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्री पुर्‍याएको हो । मुस्ताङका मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले मुस्ताङका लागि चाहिने मतपत्र, मतदाता परिचयपत्रलगायत सामग्री प्राप्त भएको र आवश्यक सुरक्षा बन्दोबस्त मिलाएर भण्डारण गरिएको जानकारी दिए ।