१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक २३ बुधबार १०:४४:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जाडोमा मर्निङवाक : अपनाउनुस् यस्ता सावधानी 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक २३ बुधबार १०:४४:००

कुनै पनि व्यायाम वा मर्निङवाक स्वास्थ्यका लागि निकै फाइदाजनक छ । तर, यसका बाबजुद चिसो मौसममा सबेरै हिँडडुल गर्दा स्वास्थ्यमा थप जटिलता निम्तिन सक्छ । त्यसैले जाडोमा घाम लागेर हल्का न्यानो भएपछि मात्र हिँड्न थाल्नु राम्रो मानिन्छ । बिहानको समयमा छालामा घाम पर्दा शरीरलाई धेरै फाइदा मिल्छ । भिटामिन डी प्राप्त हुन्छ । घाम छालामा पर्नु भनेको कीटाणु मर्नु पनि हो । सीधै परेको घामले कीटाणु मार्छ । 

डा. मनोज यादव, पल्मोनोलोेजिस्ट नेपाल प्रहरी अस्पताल

कुन वेला जाने ?
जाडोमा बिहानै ५ बजे वाकमा निस्कनु हुँदैन । दीर्घरोगीहरूका लागि यो झनै घातक छ । बिहानै निस्कँदा ब्लडप्रेसर हाई हुने सम्भावना हुन्छ । मस्तिष्कघात, जोर्नी दुखाइ, दम बढ्नेलगायतका समस्या देखिन सक्छ । कतिपय पुराना रोगहरू पनि बल्झने हुन्छ । चिसोले एलर्जीसमेत हुन सक्छ । कुहिरो लागेको वेला मर्निङवाकमा निस्कनु हुँदैन । धुलोका कण माथिमाथि हुन्छ र त्यो शरीरमा प्रवेश गर्न सक्छ । जसले स्वास्थ्यमा नकारात्मक असर बढी हुन सक्छ ।

जाडोयाममा सूर्योदयपछि मात्र वाकमा जानु राम्रो मानिन्छ । घाम लागेर तापक्रम हल्का बढेपछि निस्कनुपर्छ । शरीरलाई न्यानो बनाइराख्नका लागि बाहिर निस्कँदा न्यानो कपडा लगाउनुपर्छ । सावधानी अपनाएर गर्ने हो भने मर्निङवाकका धेरै फाइदा छन् । मर्निङवाकले ब्रेनमा रगतको सञ्चार बढ्ने हुन्छ । यसले गर्दा मुड राम्रो हुने, आत्मविश्वास बढ्ने, काम गर्ने क्षमता सकारात्मक हुन्छ । शरीरबाट पसिना निस्कन्छ र छालालाई पनि राम्रो हुन्छ । पसिनाले कपडा भिजेको हुन्छ । त्यसैले वाकमा गएर आएपछि कपडा चेन्ज गर्नुपर्छ । शरीरबाट पसिना पुछ्नुपर्छ । 

प्रदूषणबाट बच्न 
बिहानको समयमा वाकमा जाँदा मास्क सकभर नलगाएको राम्रो हुन्छ । बरु, मास्क लगाउनुनपर्ने (भीडभाड कम भएको, गाडीको चहलपहल नहुने, धुलोधुवाँ नउड्ने) बाटो चयन गरेर हिँड्नुपर्छ । न्यानो कपडा, स्पोर्टस् जुत्ता लगाएर हिँड्नु राम्रो मानिन्छ ।

साइक्लिङ गर्दा...

साइक्लिङ पनि व्यायामको प्रभावकारी माध्यम हो । कतिपय मानिस हिँड्न रुचाउनुहुन्छ भने कतिपयलाई साइक्लिङ गर्नु राम्रो लाग्छ । तर, चिसोमा एकाबिहानै साइकल लिएर हिँड्नु हुँदैन । हल्का घाम लागेर तापक्रम बढेपछि हरियाली र शान्त स्थानमा साइक्लिङ गर्दा शरीर तथा मस्तिष्कलाई धेरै फाइदा मिल्छ । साइक्लिङ गर्दा पसिना धेरै आउने भएकाले पसिना सोस्ने कपडा लगाउनुपर्छ । शरीरमा पानीको मात्रा कम हुन दिनुहुँदैन । त्यसका लागि पानी खाइरहनुपर्छ । धुलोधुवाँ हुने स्थलमा साइक्लिङ गर्नुहुँदैन । 

मर्निङवाक थाल्नेले ध्यान दिनुपर्ने 
मर्निङवाक भर्खरै थाल्नुभएको छ भने धेरै लामो यात्रा नगर्नुस् । सुरुवातमा २० देखि ३० मिनेटको हिँडाइ नै पर्याप्त हुन्छ । बिस्तारै समय बढाउँदै जानुपर्छ । एकै दिन धेरै हिँड्नु हुँदैन । हप्तामा सातै दिन वाकमा निस्कनुपर्छ भन्ने छैन । पाँच दिन वाक गर्नु राम्रो मानिन्छ ।

साँझ हिँड्नु कति उपयुक्त ? 
बेलुकाको समयमा हिँड्दा पनि शारीरिक अभ्यास हुन्छ । पसिना बग्छ । तर, बिहानको जति फाइदा बेलुकाको समयमा गरिएको वाकबाट मिल्दैन । बिहान गरिएको वाकले दिनभर सबै चिज चलायमान बनाउँछ । शरीरलाई स्फूर्ति दिन्छ । मन, मस्तिक, फोक्सो, मुटु सबैको स्वच्छता बढेको हुन्छ । दिनचर्या सहज भएको महसुस गराउँछ । 

अर्कोतर्फ, साँझ हिँड्दा प्रदूषणले शरीरमा असर गर्न सक्छ । किनकि, दिनभरको धुवाँधुलोले बाहिरी वातावरण प्रदूषित भएको हुन सक्छ । त्यसैले स्वस्थ मुटु, फोक्सो, छाला, आँखा, नाकमा असर पुग्न सक्छ । एलर्जी गराउनेदेखि लिएर फोक्सोमा असर गर्ने हुन्छ । त्यसैले साँझको समयमा हिँड्नैपरे पनि धुलोधुवाँ नहुने, गाडीको चहलपहल नहुने ठाउँ छानेर हिँड्नुपर्छ । 

बालबालिकालाई मर्निङवाक गराउने कि नगराउने ? 
बालबालिकालाई मर्निङवाक गराउन आवश्यक नरहेको विभिन्न अध्ययनले देखाएको छ । वयस्क मानिसको जस्तो बालबालिकाको शरीर शिथिल हुँदैन । उनीहरू हरेक समय हिँडिरहेका वा चलिरहेका हुन्छ । विद्यालय गएपछि कुनै न कुनै खेलमा सहभागी हुन्छन् । घरमा पनि उफ्रिरहेका हुन्छन् । एक कोठाबाट अर्को कोठामा जाँदा पनि उनीहरू नाच्दै वा उफ्रँदै जाने गर्छन् । जसकारण, उनीहरूको शरीरलाई आवश्यक अभ्यास पुगेको हुन्छ ।