नेपाल सरकार र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी गर्ने भएको छ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित सम्झौता कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइसबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी सम्झौतामा हस्ताक्षर भएको हो।
एसियाली विकास बैंकसँगको सम्झौताअनुसार बैंकले साधारण पुँजी संशोधनबाट करिब ७ अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली कोषबाट करिब १ अर्ब ३० करोड रुपैयाँ अनुदान दिने भएको छ। परियोजनाका लागि बैंकले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट १ अर्ब १७ करोड खर्च र नेपाल सरकारले करिब १ अर्ब ८८ करोड रुपैयाँ लगानी गर्ने सम्झौतामा उल्लेख छ।
ओखर र फलफूल खेती सुधार परियोजनाबाट प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ३० हजार घरपरिवार लाभान्वित हुनेछन्। जलवायु सहन सक्ने ओखर र फलफूल प्रजातिका बोटबिरुवा नेपालको पहाडी क्षेत्रको १० हजार हेक्टरमा लगाइने सहमति भएको छ।