मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १७ बिहीबार १०:१४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

न्यौपाने एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १७ बिहीबार १०:१४:००

एनआइसी एसिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने पुनः नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैंठकले मंसिर १५ देखि लागू हुने गरी हालका प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई थप चारवर्षे कार्यकालका लागि नियुक्त गरेको हो । 

न्यौपाने सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एसिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखापरीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका थिए । उनी प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए । सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकको नेतृत्व सम्हालेपछि छोटो अवधिमा नै बैंकले विविध सूचकांकमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेको थियो । उनको कार्यक्षमताको मूल्यांकनपछि बैंक सञ्चालक समितिले ०७५ मंसिर १६ मा उनलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । 

३८ वर्षको उमेर मानै वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त भएपछि उनी देशकै सबैभन्दा ‘कान्छो सिइओ’को रूपमा समेत चिनिएका थिए । हाल ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करिअरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकिङ क्षेत्रमा उदीयमान भएको बैंकले जनाएको छ । 

उनले बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दैगर्दा बैंक अधिकांश वित्तीय सूचकांकमा पहिलो नम्बरमा पुगेको बैंक सञ्चालक समितिले ठहर गरेको छ । सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त भएपछि उनकै नेतृत्वमा बैंकलाई मध्यमस्तरको बैंकबाट उच्च स्थानमा पुर्‍याउने गरी सन् २०१४ मा पञ्चवर्षीय एकीकृत रणनीतिक योजना ‘रणनीति २०२०’ (स्ट्राटेजी २०२०) तयार गरेका थिए । योजनाअनुसार बैंकले आव सन् २०१९/०२० सम्ममा कर्जा, निक्षेप, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिसेयर आम्दानी, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाललगायतका अधिकांश वित्तीय तथा गैरवित्तीय परिसूचकमा बैंकिङ क्षेत्रमै उत्कृष्ट बन्न सफल भएको जनाइएको छ ।  

न्यौपाने सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त हुँदा आव २०७३/०७४ मा यसको वासलात एक खर्व एक अर्ब रुपैयाँ रहेकोमा उनले आफ्नो कार्यकालमा चार गुणाले बढाएको बैंकले जनाएको छ । उनले वासलातको आकार गत आवमा तीन खर्ब ५८ अर्ब रुपैयाँ पुर्‍याएको जनाइएको छ । न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आफ्नो प्रथम कार्यकाल पूर्ण रूपमा सफल रहँदै बैंकलाई अग्रणी स्थानमा पुर्‍याएको सञ्चालक समितिले ठहर गरेको छ । न्यौपानेकै कारण चालू आव २०७९/०८० को प्रथम त्रैमासमा खुद नाफा, ग्राहक संख्या, स्वपुँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालय, एटिएम, विस्तारित काउन्टरलगायतका सूचकमा पहिलो स्थान हासिल गर्न सफल भएको बैंकले जनाएको छ । बैंकले चालू आवको पहिलो त्रैमासमा खुद मुनाफातर्फ एक अर्ब ७५ करोड रुपैयाँ आर्जन गर्दै सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको बैंकको दाबी छ । यो मुनाफा वार्षिक बिन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो । त्यसैगरी स्वपुँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रतिसेयर आम्दानी ५९.६२ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको जनाइएको छ । 

न्यौपाने बैंकलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतिष्ठित अवार्ड र सम्मानबाट सम्मानित भएका छन् । उनले बैंकिङ क्षेत्रमा गरेका विशेष योगदानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवा श्री चतुर्थबाट विभूषित भएका थिए । त्यस्तै, देशभरका सिइओहरूको संस्था म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले प्रदान गर्ने ‘म्यानेजर अफ दी इयर २०२२’ र ‘कर्पोरेट बिजनेस अवार्ड २०२१’ मा ‘कर्पोरेट सिइओ अफ दी इयर, ०७८’ बाट समेत सम्मानित भएका थिए । बेलायतको ग्लोबल 
बिजनेस आउटलुकले प्रदान गर्ने अन्तर्राष्ट्रियस्तरको ‘बैंकिङ सिइओ अफ दी इयर २०२१’ बाट समेत उनी सम्मानित भएको जनाइएको छ ।