Skip This
चुनावमा कर्णाली करिडोरदेखि लालपुर्जासम्मको चर्चा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १५ मंगलबार
  • Tuesday, 13 May, 2025
रासस भजनी
२o७९ कार्तिक १५ मंगलबार १४:५४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चुनावमा कर्णाली करिडोरदेखि लालपुर्जासम्मको चर्चा

Read Time : > 1 मिनेट
रासस, भजनी
नयाँ पत्रिका
२o७९ कार्तिक १५ मंगलबार १४:५४:oo

कैलालीको टीकापुर क्षेत्रमा सुकुमबासी, मुक्तकमैयालाई लालपुर्जा वितरण, विमानस्थल सञ्चालन, औद्योगिक ग्राम स्थापना, रोजगारी सिर्जना निर्वाचनका मुख्य मुद्दा बन्दै आएका छन्। उम्मेदवार र राजनीतिक दल विगतका निर्वाचनमा जस्तै अहिले पनि तिनै मुद्दालाई प्राथमिकतामा राखेर मतदातासमक्ष पुग्दै छन्।

अहिलेको निर्वाचनमा कतिपय उम्मेदवार नयाँ भए पनि राजनीतिक दल र तिनले उठान गर्ने मुद्दा भने परिवर्तन हुन सकेका छैनन्। हिजोका दिनमा उठेका चुनावका मुद्दामा सुकुमबासीलाई लालपुर्जा, टीकापुर विमानस्थल सञ्चालन, औद्योगिक ग्राम स्थापनालगायतका कुनै पनि विषयमा काम हुन सकेका छैनन्।

कैलाली १ मा विशेष चर्चाको विषय अहिले कर्णाली करिडोर बनेको छ। विकासका मुद्दाका रूपमा हिजोका दिनमा पनि बहस र विमर्श हुने गरे पनि अहिलेको यो विषयलाई पृथक रूपमा हेरिएको छ। यतिवेला नेकपा एमालेले कर्णाली करिडोरको विषयलाई महत्वका साथ उठाएको छ। निर्वाचनमा मुख्य मुद्दा नै बनाएर मतदाताको घरघरमा एमालेका उम्मेदवार पुगेका छन्।

‘एजेन्डा बनाउनु मात्रै नौलो कुरा होइन। त्यसलाई कार्यान्वयन गर्ने आधार पनि जनताको माझमा बुझ्ने गरी लैजानुपर्छ,’ स्थानीय रामचन्द्र चौधरी भन्छन्, ‘यस्ता विषय जनताका लागि नौलो होइन। यी सबै चुनाव सम्पन्न हुँदासम्मका लागि मात्रै हुन् जस्तो लाग्छ।’

टीकापुर नगरपालिका– १ का रणबहादुर विक ०६४ सालको निर्वाचनदेखि हालसम्म त्यहीँ सुकुमबासीको लालपुर्जाको विषय महत्वका साथ उठ्दै आएको बताउँछन्। उनले निर्वाचनको समयमा उठेका एउटा पनि विषयले पूर्णता पाउन नसकेको बताए। ‘१८ वर्षदेखि हामी लालपुर्जाकै पछाडि छौँ। आफ्नो जग्गा नभएका कारण राज्यका हरेक सेवा–सुविधाबाट पनि वञ्चित छौँ,’ रणबहादुरले भने, ‘एजेन्डा बन्छ, तर निर्वाचनसँगै सकिन्छ। लालपुर्जाको पछि दौडिएका हामी जहाँका त्यहीँ छौँ, एजेन्डा बोक्ने पनि त्यसैमा सीमित छन्।’ 
 
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले कर्णाली करिडोरको विषय नौलो नभएको बताए। १० वर्ष अगाडिदेखि नै कर्णाली करिडोरको विषयमा बहस हुँदै आएको र यस्ता विकासका मुद्दामा बहस हुनु राम्रो भएको उनको भनाइ छ।

कैलाली १ प्रदेश (ख)का गठबन्धनबाट उम्मेदवारसमेत रहेका डा. रावलले १० वर्ष पहिले कर्णाली करिडोर, मोहना–कर्णाली नदीको त्रिवेणीमाथि भेरी–कर्णालीको त्रिवेणीधामको रूपमा विकास गरी टीकापुर क्षेत्रलाई पर्यटकीय हबको रूपमा विकास गर्ने योजना नौलो नभएको बताए। 

दुई करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भई त्यसलाई क्रमागत आयोजनाको रूपमा अगाडि बढाउने योजना रहेको उनी बताउँछन्। ‘बर्दिया राष्ट्रिय निकुञ्जका कारण केही समस्या भएका कारण प्रक्रिया अगाडि बढ्न मात्रै नसकेको हो,’ उनले भने। कर्णाली–मोहना त्रिवेणीदेखि कर्णालीकै तटबाट कैलाश मानसरोवरसम्मको धार्मिक यात्रा गर्न सकिने गरी कर्णालीलाई व्यवस्थापन गर्न भारतसँग पनि छलफल भएको उनले बताए।

नेकपा एमालेबाट  प्रदेश (ख)का उम्मेदवार द्वारिकाप्रसाद न्यौपाने टीकापुर क्षेत्रका जनतालाई बाढी र डुबानको सास्तीबाट जोगाउन पनि कर्णाली करिडोर महत्वपूर्ण हुने बताउँछन्।