अहिले देशैभर तिहार लागेको छ । सबैले आ–आफ्ना घर फूलले सिँगारेका छन्, बत्तीले झिलिमिली पारेका छन् । तर, पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका– ५ मा पर्ने बागखोरका पहिराेपीडितमा तिहारको कुनै रौनक छैन ।
छ त एउटै चिन्ता, अब जाडो कसरी काट्ने ? २४ असार ०७८ मा आएको अकल्पनीय पहिरोले गाउँ नै भासिएपछि उक्त गाउँका १८ घर मगर परिवार विस्थापित हुन पुगे ।
त्यहाँबाट हुप्सेकोट– १ जुकेपानीको एउटा सानो चौरमा शरण लिएर बसेको वर्ष दिन बित्यो । तर, उनीहरूको पुनर्बास भएन । उनीहरू सबै ज्यालादारी मजदुरी गरेर बिहान–बेलुकीको छाक टार्दै आएका छन् ।
जीविकै चलाउन मुस्किल परेकाले पैसाको जोहा गर्न सकेका छैनन् । जसका कारण उनीहरूले यो जाडो पनि टेन्टकै भरमा काट्नुपर्ने भएको छ ।
पहिरोपीडित तिलबहादुर सोमै मगर भन्छन्, ‘गत वर्ष पनि टेन्टकै भरमा खाली चौरमा जाडो काटियो, यस वर्ष पनि त्यहीँ दुःख काट्नुपर्ने भो ।’ ब्लकले उठाएको टिनले छाएको एककोठे छाप्रोभित्र १२ जनासम्म बस्नुपर्ने उनीहरूको बाध्यता छ ।
बागखोरमा उनीहरूका प्रतिपरिवार एकदेखि तीन बिघासम्म जमिन थियो । पहिरोपछि त्यो जमिन मात्र खोसिएन, बस्ने बास पनि खोसियो । घरबार र भूमिहीन हुनुपरेपछि अरूको जग्गामा शरण लिएर बस्नुपरेको अर्का विस्थापित केमबहादुर सोमैले सुनाए ।
आफ्नै थलोमा फर्काउन स्थानीय सरकारको रूपमा रहेको हुप्सेकोट गाउँपालिकाले ध्यान नदिएको विस्थापितहरूको गुनासो छ । हुस्पेकोट गाउँपालिका– ५ का वडाध्यक्ष पदमबहादुर राना भने पालिका एक्लैले उनीहरूको व्यवस्थापन गर्न नसक्ने भएकाले प्रदेशदेखि केन्द्र सरकारसम्म पहल भइरहेको दाबी गर्छन् ।
असार २४ गते पहिरोले विस्थापित भएपछि उनीहरू सुरुमा जनता मावि बेलुवाको चौरमा बसे । त्यसपछि पत्थरखोलाको किनार हुँदै अहिले हुप्सेकोट– १ जुकेपानीको करिब दुई कट्ठाको सानो चौरभित्र १८ परिवार अटाइनअटाई बसेका छन् । यस्तै दुःखमा दसैँ बित्यो, त्यही दुःखमा तिहार बित्दै छ ।