
काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ गरिएको छ। यमपञ्चकको पहिलो दिन कागतिहारका अवसरमा रत्नापार्कस्थित शान्तिवाटिकामा आज बिहान काग बोलाएर सम्मेलन गरिएको हो।
सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए। दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरू उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए। दुलालले विगत १८ वर्षदेखि कागतिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन्।
काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यस वर्षको काग सम्मेलनको सन्देश ६० कटेका वृद्ध नेताहरूको बिदाइ र युवाहरूलाई अवसर भन्ने रहेको बताए। उनले आगामी वर्ष काग सम्मेलन गरेको २० वर्ष पुग्ने र सो अवसरमा टुँडिखेल वा नारायणहिटीमा ठूलो कार्यक्रम गर्ने सोच रहेको बताए।