मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ कार्तिक ६ आइतबार ०८:१५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लुम्बिनी विकास कोषको बेथिति : हरेक पाँच वर्षमा भाडा समायोजन गर्ने सम्झौता, तर २६ वर्षसम्म एउटै भाडा   

Read Time : > 1 मिनेट
२०७९ कार्तिक ६ आइतबार ०८:१५:००

लुम्बिनी विकास कोषले वार्षिक सरदर २० हजार भाडामा विभिन्न मुलुकहरूलाई बिहार क्षेत्रमा रहेका प्लटहरू भाडामा दिएको छ । स्थानअनुसार एक सय ५० देखि दुई सय डलरसम्म प्लटहरू भाडामा दिइएका लुम्बिनी विकास कोषका योजना अधिकृत सरोज भट्टराईले जानकारी दिए । विभिन्न मुलुकहरूलाई कोषले ९९ वर्षका लागि ४१ वटा प्लट भाडामा दिएको छ । हरेक पाँच वर्षमा भाडा समायोजन गर्ने सम्झौताअनुसार प्लटहरू लिजमा दिइए पनि २६ वर्षसम्म कोषले भाडा बढाउन चासो देखाएको छैन । 

भाडामा गएका ४१ वटा प्लटहरूमध्ये करिब २५ वटा निर्माण सकिएको छ । ती प्लटहरूमा ६० करोडदेखि दुई अर्बभन्दा बढी खर्च गरेर विभिन्न देशहरूले आफ्नो मौलिकता झल्किने मन्दिरहरू निर्माण गरिरहेका छन् । ४१ वटा प्लटबाट वार्षिक करोडौँ आम्दानी गर्न सकिने भए पनि कोषले अहिले करिब नौ लाख मात्रै भाडा उठाइरहेको छ । आन्तरिक आम्दानी नहुँदा सञ्चालन खर्च गर्न कठिन भएको बताउने कोषले भाडा वृद्धि गरी आम्दानी बढाउनेतर्फ चासो देखाएको छैन । लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्ट्र्रराईले बताए । ‘सम्झौतामा हरेक पाँच वर्षमा भाडा समायोजन गर्ने उल्लेख छ, तैपनि कोष भाडा बढाउने विषयमा मौन छ,’ उनले भने ।

४२ वटा प्लटका लागि कोषको तीन अर्ब खर्चमा बाटो, ढल र विद्युत्
लुम्बिनी विकास कोषले बिहार क्षेत्रमा रहेका ४२ वटा प्लटका लागि तीन अर्बभन्दा बढी खर्च गरेको छ । सडक, ढल, विद्युत्, सुन्दरीकरणका लागि कोषले तीन अर्बभन्दा बढीको टेन्डर आह्वान गरी अहिले निर्माणकार्य जारी राखेको कोषका योजना अधिकृत सरोज भट्टराईले जानकारी दिए । एक सय ६० मिटर लम्बाइ र चौडाइ क्षेत्रफका प्लटहरू विभिन्न मुलुकहरूलाई ९९ वर्षका लागि भाडामा दिइएको छ । भारतको प्लटमा केही महिनाअगाडि मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएर शिलान्यास गरेका थिए । 

विभिन्न मुलुकद्वारा १० अर्बभन्दा बढी लगानी 
बिहार क्षेत्रमा विभिन्न मुलुकहरूले १० अर्बभन्दा बढी लगानी गरेका छन् । ६० करोडदेखि दुई अर्बभन्दा बढी खर्च गरी मन्दिर निर्माण गरिएको योजना प्रमुख भट्टराईले बताए । कोषपरिसरमा अन्तर्राष्ट्रिय बिहार क्षेत्रको पूर्व १३ र पश्चिममा २९ वटा प्लटहरू रहेका छन् । २५ वटा प्लटहरूमा मन्दिर निर्माण सकिएको छ भने १७ वटा निर्माण जारी छ । पूर्वतर्फ कम्बोडिया, बर्मा, थाइल्यान्ड, श्रीलंका, क्यानडा र नेपालका गुरुआमाहरूको मन्दिर निर्माण सकिएको छ । पश्चिमतर्फ तारा फाउन्डेसन जर्मन, अमेरिका, फ्रान्स, नेपाल, चाइना, कोरिया, अस्ट्रिया, भितयनाम, भारत, सिंगापुर, बंगलादेशलगायत मुलुकका मन्दिरको निर्माणकार्य सकिएको छ ।  

२६ वर्षदेखि बढेन भाडा  
लुम्बिनी गुरुयोजना बनेको ४५ वर्ष पुगेको छ । ०५३ सालमा सम्झौता भएका मन्दिरहरूले अहिल पनि वार्षिक २० हजार भाडा तिर्दै आएका छन् । सम्झौताअनुसार ०५३ सालदेखि ०७९ सालसम्म २६ वर्षको अवधिमा पाँचपटक भाडा समायोजन हुनुपर्ने हो । तर, एकपटक पनि भाडा समायोजन भएको छैन ।  सरकारद्वारा स्वीकृत गुरुयोजनाअनुसार सन् १९९३ देखि लुम्बिनी क्षेत्रमा विभिन्न बौद्ध मुलुकका बिहार–मन्दिर निर्माण थालिएको थियो ।