१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२०७९ कार्तिक २ बुधबार ०६:२७:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

भाइमसलादेखि झिलिमिली बत्तीको मूल्य बढ्यो, आयात प्रतिबन्धले व्यवसायी निराश

सयपत्री फूलको माला आन्तरिकले ८५ प्रतिशत धान्ने, १५ प्रतिशत आयात गरिने

Read Time : > 2 मिनेट
२०७९ कार्तिक २ बुधबार ०६:२७:००

तिहारलक्षित उपभोग्य सामग्रीको बजार मूल्य बढेको छ । तिहार आउन एक साता मात्र बाँकी रहँदा बजारमा भाइमसलादेखि झिलिमिली बत्तीको माग बढ्न थालेको छ । तर, आयातमा लगाइएको प्रतिबन्धले पर्याप्त सामान नपाउँदा मूल्य बढेको व्यवसायीहरूले बताएका छन् । भाइमसला र विद्युतीय झिलिमिली बत्ती अधिकांश चीन र भारतबाट आयात हुन्छन् । तर, सरकारले लगाएको प्रतिबन्धले पर्याप्त तिहारलक्षित सामानहरू आयात नहँदा मूल्य बढ्न पुगेको राष्ट्रिय व्यवसायी संघका उपाध्यक्ष रामचन्द्र पराजुलीले बताए । 

यसपटक तिहारमा प्रयोग हुने भाइमसला, विद्युतीय झिलिमिलीमा व्यवसायीहरू उत्साही नभएको उनको अनुभव छ । व्यवसायीहरूका अनुसार असोज, कात्तिक र मंसिरमा अन्य समयको भन्दा ५० प्रतिशत बढी हुने गर्छ । तर, यो वर्ष  दसैँदेखि नै व्यापार साबिकको भन्दा २० प्रतिशतसम्मले घटेको छ । उनका अनुसार आर्थिक मन्दीका कारण व्यवसायीहरू नै झन्डै २० प्रतिशतले घटेका छन्  ।  

 भाइमसलाको माग उच्च 
तिहारमा सबैभन्दा बढी खपत हुने भाइमसलाको माग उच्च रहेको खुद्रा व्यापार व्यवसायी महासंघका अध्यक्ष देवेन्द्र श्रेष्ठले बताए । गत वर्षको तुलनामा १५ देखि २० प्रतिशतले भाइमसलाको माग बढेको उनको भनाइ छ । ‘अघिल्लो वर्ष कोभिड–१९ देखि व्यापार–व्यवसाय फस्टाउन सकेको थिएन, यसपटक अलिक सहज भएर पनि माग बढेको छ,’ उनले भने, ‘अघिल्लो वर्षको तुलनामा १० देखि १५ प्रतिशतसम्म मूल्य भने बढेको छ । काजु, पेस्ता, किसमिस, सुपारी, छोकडाको मूल्य बढेको छ ।’ आयातमा लगाएको प्रतिबन्धले मूल्य समग्रमा मूल्य बढ्न पुगेको उनको भनाइ छ ।

  अघिल्लो वर्ष काजुको मूल्य प्रतिकिलो १७ सय रुपैयाँसम्म थियो । यस वर्ष १८ सय रुपैयाँसम्म रहेको छ । त्यसैगरी, गत वर्ष १५ सय रुपैयाँसम्म रहेको पेस्ताको मूल्य २१ सयसम्ममा बिक्री भइरहेको संघले जनाएको छ । तिहारमा खपत हुने भाइमसलाहरू अघिकांश विदेशबाट आयात गर्नुपर्ने भएकाले मूल्यमा तल–माथि भइरहने नेपाल खुद्रा व्यापारसंघ अध्यक्ष अमुलकाजी तुलाधरले जानकारी दिए । उनले भने, ‘तिहारमा प्रयोग हुने वस्तुहरू हाइजेनिक फुडमा पर्छ, अर्कोतर्फ आयातमा शतप्रतिशत मार्जिनका कारणले आयात कम हुने अनुमान छ, जसले मूल्य अघिल्लो वर्षको तुलनामा केही बढेको देखिन्छ ।’

 झिलिमिली बत्ती महँगियो
  यसपटकको तिहारमा झिलिमिली बत्तीको आयात कम हुने भएपछि मूल्य बढेको छ । तिहार आउन एक साता बाँकी रहँदा झिलिमिली बत्तीको आयात गत वर्षको भन्दा ४० प्रतिशतले कम भएको विद्युत् व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौड्यालले बताए । तिहार भन्नेबित्तिकै झिलिमिलीको चाड भन्ने बुझिन्छ । माटाका पाला, विद्युतीय बत्ती, पटाका आदि तिहारका विशेषता हुन् ।

तिहारमा नेपालीले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तर, यसपटक आर्थिक मन्दी र आयातमा लगाइएको प्रतिबन्धले आयात कम भएको पौड्यालले जानकारी दिए । यस वर्षका लागि हालसम्म करिब २० करोड रुपैयाँबराबरको मात्र तिहारलक्षित विद्युतीय बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासंघको भनाइ छ । अघिल्लो वर्ष ४० करोड रुपैयाँबराबरको झिलिमिली बत्तीको आयात भएको थियो । सामान्य अवस्थामा वार्षिक एक अर्बभन्दा धेरैको विद्युतीय बत्ती नेपालमा आयात हुने गर्छ । आयात हुने झिलिमिली बत्तीको ८० प्रतिशत खपत तिहारको समयमा हुने गर्छ । आयात कम भएपछि बत्तीको मूल्य करिब २० प्रतिशतले बढेको व्यवसायीहरू बताउँछन् । 

 ८५ प्रतिशत फूलमाला स्वदेशी
तिहारमा प्रयोग हुने फूलमाला यसपटक आन्तरिक उत्पादनले धान्ने भएको छ । खपत हुनेमध्ये ८५ प्रतिशत फूलमाला आन्तरिक उत्पादनले धान्ने फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । उनले भने, ‘यसपटक आन्तरिक उत्पादन राम्रो छ, सातै प्रदेशमा समयमै तिहारलक्षित फूल उत्पादन भएको हुँदा आयात कम गर्ने भएका हौँ ।’

यस वर्ष पाँच दिनमा २० लाख सयपत्री माला खपत हुने तामाङको अनुमान छ । अघिल्लो वर्षको तिहारमा १८ लाख १५ हजार मखमली, सयपत्री र गोदावरी फूलका माला खपत भएको थियो । अघिल्लो वर्षको तिहारमा १४ लाख ५२ हजार सयपत्री मालाको मात्र खपत भएको थियो भने तीन लाख ६३ हजार माला आयात गरिएको थियो । यसपटक तीन लाख सयपत्री माला मात्र आयात गरिने भएको छ ।

अघिल्लो वर्षको तुलनामा करिब १० प्रतिशतले सयपत्री फूलको माग वृद्धि हुने उनले बताए । एसोसिएसनका अनुसार पाँच दिनमा २० लाख सयपत्री, चार लाख २५ हजार मखमली, २० हजार गोदावारी गरी जम्मा २४ लाख ४५ हजार माला खपत हुने अनुमान छ । सयपत्री मालाको मूल्यमा अघिल्लो वर्षको तुलनामा भने खासै अन्तर नरहेको उनले जानकारी दिए । उनका अनुसार सयपत्री मालाको औसत मूल्य प्रतिगोटा ५५ रुपैयाँ, मखमली फूलको मालाको मूल्य औसतमा प्रतिगोटा ३५ देखि ४० रुपैयाँ र गोदावरी मालाको तीन सय ५० देखि चार सय रुपैयाँसम्म पर्नेछ ।