
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले विभिन्न प्रकारका चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा- १४ डाइभरडाँडाबाट प्रहरीले करिब २० किलो चाँदीका गरगहनासहित पर्साको वीरगन्ज महानगरपालिका–१६ बस्ने ४४ वर्षीय लालबाबु साहलाई पक्राउ गरेको हो।
साहलाई हेटौँडा–१४ डाइभरडाँडाबाट हेटौँडातर्फ आउँदै गरेको अवस्थामा प्रदेश २–०३–०१८ प ८२४८ को मोटरसाइकलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी सवार मोटरसाइकल रोकी जाँज गर्दा साहको साथमा रहेको ब्यागबाट १९ किलो ८४५ ग्राम चाँदीबाट बनेका अवैध गरगहनाहरू फेला परेको प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।
बरामद गरगहनासहित साहलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको डिएसपी कार्कीले बताए।