
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दुई क्षेत्र रहेको नुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम भएको छ । प्रतिनिधिसभातर्फ २८ र प्रदेश सभातर्फ ३५ उम्मेदवार कायम भएका छन् ।
गत असोज २३ गते मनोनयन दर्ता गराएकामध्ये बुधबार तीनजनाले उम्मेदवारी फिर्ता लिएका छन् । मनोनयन दर्ता गराएका ६६ जनामध्ये ६३ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ चार गरेर कुल ६ पदका लागि ६३ उम्मेदवारको चुनाव चिह्न मतपत्रमा कायम हुनेछ ।
क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएका स्वतन्त्र उम्मेदवार सरोज गिरी र क्षेत्र नम्बर १ प्रदेश सभा (ख) तर्फ स्वतन्त्र उम्मेदवारी दिएका नरहरि भेटुवालले फिर्ता लिएका छन् । क्षेत्र नम्बर २ को प्रदेश सभा (ख)तर्फ नेकपा (माओवादी केन्द्र)बाट मनोनयन दिएकी राममाया बोगटीले उम्मेदवारी फिर्ता लिएकी छिन् ।
गठबन्धनका बागी उम्मेदवार कायमै
आगामी निर्वाचनका लागि सत्तारूढ दलहरूबीच गठबन्धन गरेर उम्मेदवारी दिने निर्णय भए पनि नुवाकोटमा त्यसको अवज्ञा भएको छ । गठबन्धनको निर्णयअनुसार नुवाकोटको क्षेत्र नम्बर १ को प्रदेश सभा (क)मा माओवादी केन्द्रले राधिका तामाङलाई उठाएको भए पनि नेकपा (एकीकृत समाजवादी)ले उठाएका उम्मेदवार राजेश थापाको उम्मेदवारी कायमै छ ।
यस्तै, क्षेत्र नम्बर २ को प्रदेश सभा (क)मा गठबन्धनको निर्णयअनुसार माओवादी केन्द्रको भागमा परेकाले उक्त पार्टीले रामप्रसाद ढुंगानालाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रमा पनि नेकपा एकीकृत समाजवादीले राजेन्द्रप्रकाश लोहनी र नेपाली कांग्रेसकी गीता अमात्यको उम्मेदवारी कायमै छ ।
यस्तै, प्रदेश सभा (ख)मा गठबन्धनको निर्णयअनुसार कांग्रेस उम्मेदवार बहादुरसिंह लामा (तामाङ)लाई उठाइएको छ । उक्त क्षेत्रमा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा तरुण दल नुवाकोटका अध्यक्ष सिंहराज तामाङले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी कायमै छ । रासस