मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज २० बिहीबार १०:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिराेले कालीगण्डकी करिडोर, मध्यपहाडी र ग्रामीण सडक सबै अवरुद्ध

Read Time : < 1 मिनेट
२०७९ असोज २० बिहीबार १०:३४:००

अविरल वर्षासँगै खसेका पहिराेका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बाग्लुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बाग्लुङखण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ ।

पहिराकै कारण बाग्लुङ बजार–बलेवा–कुश्मीशेरा, टाकुरी–अदुवाबारीलगायत सडक अवरुद्ध भएको हो । कतिपय स्थानका सडक भासिएको छ । राष्ट्रिय गौरवकै आयोजना मध्यपहाडी लोकमार्गको बाग्लुङ, गलकोट, बुर्तिबाङ सडक पनि अवरुद्ध छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीका अनुसार सडकको ठाउँठाउँमा पहिरो खसेको छ । खहरे र ग्रामीण क्षेत्रका खोलामा बाढी आएको छ । ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेको जैमिनी नगरपालिका– ३ का बेद छन्त्यालले बताए ।

दसैँमा टीका लगाउन आफन्तकोमा जाने अवरुद्ध सडकका कारण समस्यामा परेका छन् । सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारण पैदलयात्रा गर्दै टीका लगाउन जान थालेका छन् । जिल्लामा सबै ग्रामीण सडक अवरुद्ध भएकाले पोखरा–बाग्लुङ राजमार्गसँग बाहेक बाग्लुङ सडक सम्पर्कबाट विच्छेद भएका छन् । स्थानीय सडक अवरुद्ध हुँदा किसानले तरकारी, दूधलगायत उत्पादन बजार पुर्‍याउन नपाएको गुनासो गरे ।