१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७९ असोज १४ शुक्रबार ०७:०१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डेंगुबाट मृत्यु हुने ३८ पुगे, संक्रमित २८ हजार नाघे

बजारमा सिटामोलको अभाव भएपछि प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका अधिकारीसँग छलफल

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७९ असोज १४ शुक्रबार ०७:०१:००

डेंगु संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । इपिडमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बुधबार दुईजनाको मृत्यु भएसँगै डेंगुबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । साउनयता देशभर फैलिएको संक्रमितको संख्या २८ हजार नाघेको छ । महाशाखाका अनुसार बिहीबार थप पाँच सय ४० जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २८ हजार एक सय नौ पुगेको हो । 

हाल डेंगु संक्रमण देशभर तीव्र रूपमा फैलिइरहेको छ । लामखुट्टेको टोकाइबाट फैलिइरहेको डेंगुबाट सबैभन्दा धेरै काठमाडौंमा नौ हजार पाँच सय २६ जना संक्रमित भएका छन् । यसबाहेक ललितपुरमा ६ हजार पाँच सय ४८, मकवानपुरमा दुई हजार सात सय ६६ जनामा संक्रमण देखिएको छ । दाङमा एक हजार चार सय ७३, भक्तपुरमा एक हजार एक सय १०, चितवनमा सात सय ४३, रुपन्देहीमा सात सय ४३ र धादिङमा पाँच सय ९३ जनामा संक्रमण देखिएको छ । 

 देशभर ६८ लाख ९० हजार ६७९ चक्की सिटामोल मौज्दात
डेंगु संक्रमण फैलिएसँगै बजारमा सिटामोल अभाव देखिएको छ । बजारमा सिटामोल अभाव पूर्तिका लागि सरकारले वितरण गर्ने भएको छ । अत्यधिक प्रभावित काठमाडौं उपत्यकालाई लक्षित गरी मौज्दात रहेको सिटामोल आवश्यकताअनुसार स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले वितरण गर्न लागेको हो । 
बजारमा सिटामोल अभाव भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले चासो व्यक्त गरेपछि मौज्दात औषधि वितरण गर्न लागिएको हो । बजारमा सिटामोल अभाव भएपछि स्वास्थ्य अधिकारीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले छलफल गरेका थिए । 

बजारमा देखिएको सिटामोलको कार्टेलिङ कसरी रोक्न सकिन्छ भन्नेबारे प्रधानमन्त्री देउवाले स्वास्थ्य अधिकारीसँग छलफल गरेको स्वास्थ्यसचिव डा. रोशन पोखरेलले जानकारी दिए । ‘सरकारसमक्ष भएका सिटामोल वितरण गर्ने र आवश्यक परे द्रुत गतिमा खरिद गर्न पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको छ । अहिले वायरहाउसमा मौज्दात रहेको औषधि आवश्यकताअनुसार वितरण गर्ने तयारी गरिरहेका छौँ । काठमाडौं उपत्यकालाई लक्षित गरी स्थानीय तह, औषधि लिमिटेड र ठूला अस्पतालहरूलाई वितरण गर्ने तयारी भइरहेको छ,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयले अति प्रभावित काठमाडौं र ललितपुर महानगरपालिकालाई एक–एक लाख सिटामोल चक्की र बाँकी नगरपालिकालाई २०–२० हजार चक्की उपलब्ध गराउने तयारी गरेको छ । यसबाहेक उपत्यकालाई लक्षित गरी नेपाल औषधि लिमिटेडबाट समेत आवश्यक औषधि लिन सकिने मन्त्रालयले जनाएको छ । 
हाल देशभरमा वायरहाउसमा ६८ लाख ९० हजार ६ सय ७९ चक्की सिटामोल मौज्दात छ । जसमध्ये टेकुमा सात लाख ६८ हजार ६ सय ७७ चक्की, केन्द्रीय मेडिकल स्टोर पथलैयामा ६ हजार चक्की र विराटनगरको प्रादेशिक हेल्थ म्यानेजमेन्ट लोजिस्टिक सेन्टरमा ९४ हजार नौ सय चक्की मौज्दात छ ।

धनुषाको प्रादेशिक हेल्थ म्यानेजमेन्ट लोजिस्टिक सेन्टरमा २७ लाख ७२ हजार दुई सय ८०, हेटौँडाको प्रादेशिक हेल्थ म्यानेजमेन्ट लोजिस्टिक सेन्टरमा १३ लाख ६९ हजार नौ सय चक्की, पोखराको प्रादेशिक हेल्थ म्यानेजमेन्ट लोजिस्टिक सेन्टरमा १३ लाख ३९ हजार नौ सय ७२ चक्की, बुटवलमा रहेको प्रादेशिक हेल्थ म्यानेजमेन्ट लोजिस्टिक सेन्टरमा चार लाख ९८ हजार नौ सय ५० चक्की, सुर्खेतको प्रादेशिक हेल्थ म्यानेजमेन्ट लोजिस्टिक सेन्टरमा मा ४० हजार चक्की र धनगढीमा रहेको प्रादेशिक हेल्थ म्यानेजमेन्ट लोजिस्टिक सेन्टरमा हाल दुई लाख ४६ हजार दुई सय ९० चक्की मौज्दात छ । 

डेंगु संक्रमण फैलिएको समयमा आवश्यकताभन्दा बढी सिटामोल किनेर राख्ने प्रवृत्तिका कारण बजारमा सिटामोल सधैँ अभाव हुने गरेको औषधि उत्पादक संघले जनाउँदै आएको छ । १५ वर्षदेखि एउटै मूल्यमा सिटामोल उपलब्ध गराउँदा घाटा लागिरहेकाले थप उत्पादनमा समस्या भइरहेको एपोनका महासचिव विप्लव अधिकारीले बताए । ‘नेपालमा सरदर आवश्यक पर्ने औषधि उत्पादन भइरहेको छ । तर, संक्रमण फैलिँदा विशेषगरी उपत्यकामा अभाव हुने गर्छ । उत्पादन भइरहे पनि आवश्यकताभन्दा बढी मौज्दात राख्दा अभाव भइरहेको छ,’ उनले भने ।

 सरकारले उपत्यकाका १४ स्थानीय तह र १६ सरकारी अस्पताललाई निःशुल्क उपलब्ध गरायो सिटामोल
डेंगुको संक्रमण बढेपछि सरकारले काठमाडौं र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार चक्की सिटामोल उपलब्ध गराएको छ । डेंगु संक्रमितको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले ती निकाय तथा अस्पताललाई निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराएको हो ।

मन्त्रालयले काठमाडौं र ललितपुर महानगरपालिकालाई एक–एक लाख चक्की सिटामोल उपलब्ध गराएको छ । यसबाहेक उपत्यकाका १२ नगरपालिकालाई २०–२० हजार चक्की उपलब्ध गराएको छ । यसैगरी, सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई ६ हजार, भक्तपुर क्यान्सर अस्पताललाई पाँच हजार, भक्तपुर अस्पताललाई पाँच हजार, सिभिल अस्पताललाई १० हजार, कान्ति अस्पताललाई पाँच हजार चक्की उपलब्ध गराइएको छ ।

यसबाहेक परोपकार प्रसूतिगृह, सहिद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, नरदेवी आयुर्वेद अस्पताल, राष्ट्रिय आयुर्वेद तालिम केन्द्र, ट्रमा सेन्टरलाई पाँच–पाँच हजार चक्की पारासिटामोल उपलब्ध गराएको छ । यसबाहेक नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल केन्द्र र वीरेन्द्र सैनिक अस्पताललाई आठ–आठ हजार चक्की उपलब्ध गराएको छ । शिक्षण अस्पताल महाराजगन्ज र पाटन अस्पताललाई १०–१० हजार चक्की पठाइएको मन्त्रालयले जनाएको छ ।